ad ad

बागमती


विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०७९ आइतबार १३:४२, चितवन

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन्। 

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए। 

महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताए। 

उनले भने, ‘समस्या परेका ठाउँमा हामी स्थलगत निरीक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौँ।’ विकल्प खोजेर विकासका कामलाई अघि बढाइने उनको भनाइ थियो।

भरतपुर–माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उहाँको भनाइ थियो । आफू पर्साको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काँधमा रहेको बताए। 

 उनले भने, “हुलाकी सडकमा परेका समस्या समाधानका लागि वन मन्त्रालय आवश्यक निर्णय लिने अन्तिम तयारीमा छ।”

कागजमा हेरेर मात्रै नहुने भन्दै उनले स्थलगत निरीक्षणपछि प्रक्रिया पुर्याएर निर्णय गर्न सकिने बताए। भरतपुर महानगरभित्र लालपुर्जा वितरणसहित देखिएका विभिन्न समस्या समाधान गर्न टोली खटाएर निर्णय गर्ने पनि उनको भनाइ थियो। 

भरतपुर महानगर अबको पाँच वर्षमा देशकै नमूना बन्ने गरी विकासको काम भइरहेको आफूले पाएको भन्दै मन्त्री यादवले वन मन्त्रालय यसको बाधक नभएर सहयोगी बन्ने बताए।

नगर प्रमुख रेनु दाहालले महानगरीय रिङ्रोड, नारायणीको तटबन्धन, ल्याण्डफिल्ड साइट, अटोल्याण्ड निर्माण क्षेत्र, विद्युतीकरणका काममा, गोलाघाट–नवलपरासी जोड्ने पुल निर्माण लगायतका क्षेत्रमा रुख कटानमा समस्या देखिएको बताइन्। 

यस्तै सुकुम्बासीको जग्गा वितरण, यातायात कार्यालय स्थापनालगायतका काममा वनका कारण भएका समस्या समाधान गरिदिन उनले अनुरोध गरिन्। 

यस्तै नगरवनलाई अन्तर्राष्ट्रिय पार्कको रुपमा विकास गर्न लगानी कर्तासंग सम्झौता भइसक्दासमेत वनका कारण अवरोध भएको भन्दै उनले यसको निकासका लागि आग्रह गरिन्। 

सोही अवसरमा वन सचिव डा प्रेमनारायण कँडेलले वनका कारण देखिएका समस्या मन्त्रीस्तर, मन्त्रिपरिषद् र संसद्मा नै लानुपर्ने भए पनि आवश्यक प्रक्रिया पूरा गरेर लैजान मन्त्रालय तयार रहेको बताए। 

मन्त्री यादवसहितको टोलीले शनिबार माडीमा वनका कारण देखिएका समस्याका बारेमा स्थलगत निरीक्षण गरेको थियो। हुलाकी सडकमा वनका कारण देखिएका समस्याका बारेमा हुलाकी सडक आयोजना निर्देशनालयका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराएका थिए। 

जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी समस्याका बारेमा अवगत गराएको थियो।

सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए। यससँगै नगर प्रमुख दाहालको आग्रहमा मन्त्री यादवको टोली स्थलगत रुपमा निरीक्षण गर्न शनिबार चितवन आएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .