‘सुनको चुरा, औंठी नि सुनकै छ...’
तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा।
कार्यक्रम हलमा टाँगिएको थियो, एउटा ब्यानर। ब्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम।’
कार्यक्रममा सहभागी थिए– सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिला। श्रवण क्षमता कम भएका महिला घन्किरहेको गीतमा झुम्न सकेका थिएनन्। कारण थियो– गीत बजेको पत्तो नहुनु।
हिँडाइसम्बन्धी समस्या भएका केही महिला ह्विलचियरबाट उठ्न सकेका थिएनन्। एकापट्टिको खुट्टा मात्र गुमाएकी दीपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै सार्थीलाई नचाउन उक्साइरहेकी थिइन्। घन्किरहेको गीतका शब्द, सुनको चुरा औंठी नि सुनकै छ,
माया जालमा परेकी क्या हो म,
‘हे, मनको कुरा गाह्रो भो खोल्न,
क्यारी भनु थाल्यो नि मन पोल्न,
सुनको चुरा औंठी नि सुनकै छ।
माया जालमा परेकी क्या हो म,
दिनरात झझल्को उनकै छ।’
यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी)लाई। गायत्री थापाका शब्द, उनकै सङ्गीत। राजमजी खाँण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उनलाई यो हरफले मन छोयो।
‘आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो’, उनले भनिन्, ‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हाँस्न सकेको छैन, कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी?’
आँखा आँसुले भरिए। उनी निःशब्द भइन्। केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थालिन्। दुःख, पीडा बेवास्ता गरेर हाँस्ने जाँगर बढाइन्। सुनको चुरा नभए पनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थालिन्। ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न सुरु गरिन्। अन्य साथीसङ्गीले ताली पिटेर साथ दिए। कार्यक्रमस्थल हाँसोले गुन्जियो। सबैको अनुहारमा उमङ्गता छायो।
फराकिलो हृदय मात्र होइन, फरासिलो स्वभावले भरिपूर्ण चमलादेवीलाई गीतले भनेझैँ मनको कुरा खोल्न गाह्रो भए पनि तीजको कुरा बोल्न केहीले छेकेन। उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाइन्।
‘नारी जातिको पर्व हो– तीज। साथीसङ्गी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो’, अपाङ्गता हुनुअघिको तीज सम्झिइन्। झन्डै २५ वर्षपछि साथीसङ्गीसँग तीज मनाउन पाएको खुसियालीले उनलाई फेरि एकछिन भावुक बनायो।
‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ। भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौं। बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ। नाच्दैनाच्दै घर फर्किन्थ्यौँ। गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो। रातभर जाग्राम बस्थ्यौँ। त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी’, उनले भनिन्।
ऊबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्ने क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो। पहिलो चम्चा खीर निल्दै उनले भनिन्, ‘मीठो रहेछ। यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो।’
उनी मात्र कहाँ हो र? उनकै छेउमा रहेका तथा अपाङ्गता भएका महिलाले पनि आफूहरूको पहिलो अनुभव भएको सुनाए। यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताए।
अपाङ्गता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दीपा) बताउँछिन्।
‘महिलालाई बर्सेनि दर खान स्थानीय सरकारले सरकारी सम्पत्ति छुट्याउने गर्दछ। अपाङ्गगता भएका महिलाहरूलाई समेटिँदैन। सपाङ्गता भएका महिलाहरू कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्’, उनले भनिन्, ‘सपाङ्गता भएका महिलालाई जस्तै अपाङ्गगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ। त्यसैले यस वर्ष अपाङ्गगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नुपरेको हो।’
अपाङ्गगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपाङ्गगतासम्बन्धी कार्यक्रममा नसमेटेको उनको दुखेसो छ। कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपाङ्ग महिला सङ्घ (सिन्धुली) ले जनाएको छ।
Shares
प्रतिक्रिया