ad ad

बागमती


टुकुचा खोलामाथि रहेका व्यक्तिको जग्गाका लगत कट्टा गर्न महानगरको पत्र

टुकुचा खोलामाथि रहेका व्यक्तिको जग्गाका लगत कट्टा गर्न महानगरको पत्र

नेपालखबर
बैशाख २५, २०८० सोमबार १६:१४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको छ। 

महानगरपालिकाका मेयर बालेन्द्र शाहले आजै सो निर्णय गर्दै प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमार्फत मन्त्रालयलाई पत्र पठाएका हुन्।

‘हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ। 

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारीरसार्वजनिक जग्गा मानेको छ।

सोही ऐनको दफा २४ (२) मा सरकारी/सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र  सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था छ।

सो कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी काठमाडौँ महानगरपालिका वडा नं. १ हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको अवस्था पत्रमार्फत अवगत गराइएको छ। 

‘नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०६५ मंसिर १ गतेको निर्णयले कुनै पनि खोला, खोल्छी र राजकुलो छोप्न बन्देज लगाएको छ। सो निर्णयले टुकुचा खोलाको वहाव क्षेत्र तथा सोको दायाँबायाँको ४÷४ मिटरको जग्गा माथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोकेको छ,’ पत्रमा भनिएको छ, ‘उक्त मापदण्ड विपरीत हात्तीसार क्षेत्रमा टुकुचा खोला पूर्णरुपमा छोपिएको अवस्था छ। यसै बिच, टुकुचा खोला छोपिएको विषयमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९ माघ १८ गते आवश्यक दिशा निर्देशसहितको आदेश भएको छ। सो आदेशले टुकुचा खोलालाई खुला कायम गर्ने विकल्पका सम्बन्धमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गरेको छ।’ 

 टुकुचा खोला तथा सोको क्षेत्राधिकारभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिएको पत्रमा उल्लेख गरिएको छ। 

उच्च अदालतको आदेशपछि टुकुचा पुनःस्थापनाका लागि महानगरले अगाडि बढाएको कुनै पनि प्रयास खेर नगएको प्रतिक्रिया दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले लगत कट्टा भइसकेपछि जग्गालाई महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने प्रक्रिया अगाडि बढाउने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .