बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल मुख्यमन्त्री क्वाटर खाली गराएर डिभिजन वन कार्यालको नयाँ भवनमा सरेका छन्।
उनलाई तत्कालीन वन कार्यालयको भवन दिइएको थियो। तर त्यो भवन पुरानो भएको भनेपछि नयाँ भवन उपलब्ध गराइएको हो। उनी मंगलबार नवनिर्मित वन कार्यालयको नयाँ भवनमा सरेका हुन्।
अब उनलाई पुरानोलागेको क्वाटर भत्काएर सुविधा सम्पन्न तीनतले भवन निर्माण गर्न लागिएको छ।
उक्त भवन नबनुन्जेलसम्मका लागि मुख्यमन्त्री जम्मकट्टेलले आवासको रुपमा प्रयोग गर्न माग गरे अनुसार उपभोग गर्न दिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी दिपक अधिकारीले जानकारी दिए।
‘लिखित सम्झौता भएको छैन’ उनले भने, ‘५/६ महिनाको लागि भनेर प्रस्ताव आएको हो। त्यहीअनुसार उहाँको आवासको रुपमा प्रयोग भएको छ।’
सहायक वनअधिकृत अधिकारीका अनुसार नयाँ आवास नबनुन्जेलसम्म मुख्यमन्त्री त्यही वन कार्यालयको नयाँ भवनमा बस्ने भएका छन्।
वन कार्यालय जीर्ण भवनमा
हाल डिभिजन वन कार्यालयको भवन भने जीर्ण अवस्थामा छ। झण्डै ३० वर्षअघि बनेको पुरानोर साँघुरो भवनबाट कार्यसम्पादन गर्दै आएका डिभिजन वन कार्यालयका कर्मचारीहरु चिटिक्क परेको भवनमा बसेर काम गर्न उत्साहित थिए। तर भवन निर्माणको काम पूरा हुन नपाउँदै मुख्यमन्त्री जम्मकट्टेलले कब्जा जमाइसकेका छन्।
३ करोड २५ लाख ६७ हजारमा निर्माण भएको सुविधासम्पन्न २ तले भवन निर्माण कम्पनीले पूरा गरेर डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी हुँँदै मुख्यमन्त्री वन कार्यालयको उक्त नयाँ भवनमा सरेका हुन्।
२१ करोड आवासमा खर्च
बागमती प्रदेश सरकारका प्रायः संरचनाहरु भाडाको घरमा छन्। प्रदेश सरकारको पहिलो ५ वर्षे कार्यकालमा पनि आफ्नै संरचना निर्माण गर्न सकेन। दोस्रो कार्यकाल सुरु भएको ४ महिना पूरा हुँदा दोस्रो कार्यकालका प्रथम मुख्यमन्त्रीले मुख्यमन्त्री आवासमै करोडौँ रुपैयाँ खर्च गर्न लागेका छन्।
देशको अर्थतन्त्र धरासायी बन्दै गएको अवस्थामा बस्दै आएको सुविधासम्पन्न आवास भत्काएर नयाँ बनाउन मुख्यमन्त्री जम्मकट्टेल लागिपरेका छन्। २१ करोड रुपैयाँ लागतमा साढे दुई तले सुविधासम्पन्न आवास बनाउन लागिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
ललितपुरको एनट आर्किटेक एन्ड आर्किटेक प्राइभेट लिमिटेडले तयार पारेको प्रारम्भिक डिजाइनमा बन्ने नयाँ भवनको भौतिक पूर्वाधार विकास मन्त्रालयले टेन्डर आह्वान गर्ने तयारी गरेको छ।
दुई वर्षभित्र सम्पन्न गर्ने गरि पहिलो चरणको काम गर्न बजेट विनियोज भइसकेको छ। पहिलो चरणमा १० करोडबाट काम सुरु हुनेछ। मुख्यमन्त्री निवासमा सचिवालय, सुरक्षामा खटिने प्रहरी र सेना रहने गरि चारवटा ‘ब्लक’ भएको भवन निर्माण गर्न थालिएको हो।
तीन मुख्यमन्त्री बसेको भवन ‘पुरानो’!
प्रदेश सरकारको पहिलो कार्यकालमा त्यही आवासमा तीनजना मुख्यमन्त्री बसेका थिए। उक्त भवनमा यसअघिका मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे बसेका थिए। पहिलो कार्यकालमा तीन मुख्यमन्त्रीलाई धानेको आवास दोस्रो कार्यकाल लाग्नेबित्तिकै जम्मकट्टेलले पुरानो भन्दै नयाँ बनाउन लागेका हुन्।
तत्कालीन वन कार्यालय भवन बाहिरबाट पुरानो देखिए पनि भित्र सुविधा सम्पन्न छ। पार्किङ सुविधादेखि सुरक्षामा खटिने प्रहरीलाई बस्ने हल पनि छ। तर दोस्रो कार्यकाल सुरु भएसँगै अब यो आवास मुख्यमन्त्रीले पुरानो भएको निष्कर्ष निकालेका हुन्।
मुख्यमन्त्रीको आवास मोहले उनी प्रदेशको विकासभन्दा बढी ध्यान आफ्नै सुविधामा दिन थालेको नागरिकले गुनासो गर्न थालेका छन्।
Shares
प्रतिक्रिया