ad ad

बागमती


हेटौंडामा प्रथम प्रदेशस्तरीय युवा सम्मेलन हुने

हेटौंडामा प्रथम प्रदेशस्तरीय युवा सम्मेलन हुने

नेपालखबर
जेठ २९, २०८० सोमबार १९:५, हेटाैँडा

बागमती प्रदेशको राजधानी हेटौंडामा प्रथम प्रदेश स्तरीय युवा सम्मेलन हुने भएको छ। बागमती प्रदेश सरकारको प्रदेश युवा परिषद्ले आउँदो असार ११ र १२ गते हेटौंडामा प्रदेश युवा सम्मेलनको आयोजना गरेको हो।

सोमबार प्रदेशको सामाजिक मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सम्मेलनको तयारी स्वरुप आजबाट सचिवालय स्थापना गरेर तयारी थालिएको बताए।

उनले सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट समावेशीताको आधारमा युवाको सहभागिता रहने बताए। युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको चौलागाईको भनाई छ।

उनले सम्मेलनमा विभन्न लक्षित वर्ग र समूदायको व्यक्तिलाई सहभागी गराउन विशेष पहल गरिने समेत बताए।

दुई दिने सम्मेलनमा प्रदेशका १५० देखि २ सय युवाको सहभागिता रहने परिषद्ले जनाएको छ। सम्मेलनमा सहभागी हुन २० देखि ३५ वर्ष उमेर समूह तोकिएको छ।

दुई दिने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिने बताइएको छ। सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन्।

सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् भने सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन्। उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछन्।

यसैगरी, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतको प्रस्तुती रहने युवा परिषद्ले जनाएको छ।

सम्मेलनमा १२ लाख खर्च हुने आयोजक प्रदेश युवा परिषद्ले जनाएको छ। सम्मेलनको उद्घाटन प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .