ad ad

बागमती


ककनीमा यसरी सम्झना गरियो थाई विमान दुर्घटनामा बितेका ११३ जनालाई

ककनीमा यसरी सम्झना गरियो थाई विमान दुर्घटनामा बितेका ११३ जनालाई

नेपालखबर
साउन १६, २०८० मंगलबार १८:३८, ककनी

थाई एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ। उनीहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल पार्क’मा वृक्षरोपणसहित उनीहरुको सम्झना गरिएको हो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना, सशस्त्र प्रहरी बल यूएन तालिम शिक्षालय, ककनीको सहकार्य, शिवपुरी नागार्जुन निकुञ्ज क्षेत्र व्यवस्थापन समिति ककनी ओखरपौवाको समन्वय र ककनी गाउँपालिका नुवाकोटको सहजीकरण आज बिहान वृक्षरोपण गरिएको हो। 

‘इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेसहित एक सय १३ जनाले आजकै दिन थाई एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउनुभएको थियो’, इन्सेक अध्यक्ष डा कुन्दन अर्यालले भने, ‘उहाँहरुकै स्मृतिमा आज यहाँ वृक्षरोपण गरिएको हो।’ सो दुर्घटनाको ३१औँ स्मृति दिवस पारेर यहाँ ३१ वटा विरुवा रोपिएका छन्। 

इन्सेकका संस्थापक महासचिव काफ्लेले मानव अधिकार संरक्षण मञ्च स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै राजबन्दी विमोचन समितिको गठनमा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको डा. अर्यालले बताए। 

‘संस्थापक महासचिव काफ्ले मानव अधिकारको रक्षा र विकास जनताको सचेत जागरण र सङ्गठित आवाजबाट मात्र सम्भव छ भन्नुहुन्थ्यो। जसलाई इन्सेकले सदैव अनुशरण गर्दै आएको छ’, उनले भने। उनले नेपालको हवाई सुरक्षा, व्यक्तिको सम्झना तथा पार्क व्यवस्थापनका लागि स्मृति दिवसको अवसरमा वृक्षरोपण गर्दै पार्क संरक्षणका लागि इन्सेकले पहलकदमी लिएको जानकारी पनि दिए। 

विसं २०४९ साउन १६ गते शुक्रबार (सन् १९९२ जुलाई ३१) मा थाइल्यान्डको बैंककस्थित डोन मुएङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ आएको थाई एयरवेजको ‘एयरबस–३११’ नुवाकोटको घ्याङ्फेदीमा दुर्घटना भएको थियो। यसमा सवार चालकदलका १४ जना र ९९ यात्रुको मृत्यु भएको थियो। उक्त विमान दुर्घटना नेपालको हवाई दुर्घटनाको इतिहासमा सबैभन्दा ठूलोमध्येको एउटा मानिन्छ। 

विमान दुर्घटनामा काफ्लेसहित आङदोर्जे लामा र उनकी श्रीमति पासाङ फुटी लामा, मार्टिन होफटुन तथा जाइकाका टेक्निसियनलगायतले ज्यान गुमाएका थिए। 

आङदोर्जे लामा त्यस समय राजधानी साप्ताहिक पत्रिका, शेर्पा सेवा केन्द्र, गर्जनढुङ्गा विद्यालय र गौरीशङ्कर क्याम्पसको पनि संस्थापक थिए। उनी पञ्चायतविरोधी आन्दोलनमा सक्रिय थिए। साथै विमान दुर्घटनामा नर्वेजियन अध्येता मार्टिन होफटुनको पनि ज्यान गएको थियो। उनको स्मृतिमा एक समूहले काठमाडौँमा मार्टिन चौतारी नामक संस्था समेत सञ्चालनमा ल्याएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .