ad ad

बागमती


सामान्य विषयमै हत्या : काठमाडौंका यी ३ प्रतिनिधिमूलक घटना

सामान्य विषयमै हत्या : काठमाडौंका यी ३ प्रतिनिधिमूलक घटना

काठमाडौं तीनकुनेस्थित गैरीगाउँको दिव्य सःमिल। जहाँ शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको बीभत्स हत्या गरियो। तस्बिर : सरोज नेपाल


रासस
भदौ ३०, २०८० शनिबार १८:५६, काठमाडौँ

काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको बीभत्स हत्या भयो। 

टाउको र शरीरका विभिन्न भागमा धारिलो हितयारले हानिएको अवस्थामा शनिबार बिहान चार जनाको शव फेला पर्‍यो। त्यही स:मिलका सुरक्षागार्ड  दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनका श्रीमती ५२ वर्षीया म्बिका भुजेल र आमा ७६ वर्षकी सुभद्रा भुजेल तथा मोरङ बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको हत्या गरिएको प्रहरीले जनाएको छ। 

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ। उनी मृतक नवीनकै साथी रहेको खुलेको प्रहरीको भनाइ छ।

हत्याको कारण खुलिसकेको छैन। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार सबै कोणबाट घटनाको अनुसन्धान भइरहेको छ।

उक्त घटना अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रभुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा संयुक्त अनुसन्धान टोली बनाइएको छ। 

घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै ठूलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ। 

गत वैशाखमा पनि काठमाडौंमै एउटा यस्तै घटना भयो। काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते सामान्य भाडा व्यवसाय गर्ने ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या गरियो। उक्त हत्यामा पनि ठूलो गिरोह संलग्न थिएन। सामान्य लुटपाटका लागि उनको हत्या गरिएको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको उक्त घटनाको ११औँ दिनमा झापामा पक्राउ परेका भक्तपुर बस्ने विनोद विकले हत्या गरेको पत्ता लगायो। 

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य लुटपाटका क्रममा नीराले प्रतिकार गरेपछि भाडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर विकले उनको हत्या गरेको बताउँछन्। सुरुमा विक क्यासिनोमा काम गर्थे। पछि काठमाडौंमा बाउन्सरका रुपमा जागिर खाए। जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेर हत्या गरेको प्रहरीको भनाइ छ।

गत वर्ष पुसमा अर्को एउटा बीभत्स हत्याले मानिसको मन नै अमिले बनाएको थियो। मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो- काठमाडौंको तारकेश्वर नगरपालिकाका ९० वर्षकी वृद्धाको हत्या। 

त्यसको अघिल्लो महिना मङ्सिर २० गते नगरपालिकाको वडा नम्बर ६ पुसलबाट ९० वर्षकी डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो। 

उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिकाको वडा नम्बर ३ पारिवनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला पर्‍यो । टाउको र मुखमा चोटैचोट भएको अवस्थामा शव फेला परेको थियो। गम्भीर प्रकृतिको घटना भएकाले सूक्ष्म अध्ययन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको सफल अनुसन्धान गर्‍यो। 

उनको हत्यामा सोही नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति संलग्न भएको खुल्यो। उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो। उनले चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जङ्गलमा लगी हत्या गरेको खुल्नेको प्रहरीले सार्वजनिक गरेको थियो। 

उक्त सामुदायिक वनको खोँचमा पुगेपछि नरेन्द्रले एकछिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा उनको ढुङ्गाले टाउको र गर्धनमा हानेर हत्या गरेका प्रहरी बताउँछन्। उनीसँग भएको रु ४५ हजार लिएर नरेन्द्र फरार भएका थिए। 

यी तीन घटना प्रतिनिधिमूलक हुन्। यी घटनामा सामान्य नागरिक हत्याका सिकार भएका छन्। धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताए। गैरीगाउँको घटना पनि प्रारम्भिक अनुसन्धानमा रिसिइबीले भएको हुनसक्ने उनले बताए। 

त्यसका अलावा आर्थिक समस्याले पनि हत्या गिरएका कतिपय घटनाले देखाएको प्रहरीको भनाइ छ।  

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले भने, ‘अहिले मानिसहरु सानोसानो कुरा सहन नसक्ने अवस्थामा देखिएका छन्। मान्छेलाई धेरै कुराले गाँजेको छ, वैदेशिक रोजगारी बढ्दो छ, एकात्मक परिवार बढिरहेको छ, आर्थिकसँगै शिक्षा तथा धेरै कारणले असर गरिरहेको छ। सामाजिक सञ्जालका कारण संसारको पहुँचमा पुगेकाले मान्छेले राम्रो कुरा ग्रहण गर्दैन र नराम्रो कुरा ग्राहण गर्ने अवस्थाले पनि घटना बढ्दो छ।’

आवेगमा आएर गरिने क्रियाकलापले समाज गाल्दै गएको उनको विश्लेषण छ। नैतिक शिक्षा बढाउन जरुरी रहेको पनि उनले बताए। 

प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/८० मा पाँच सय एक जनाको हत्या भएको छ। जसमा ३८ वटा घटना काठमाडौं उपत्यका भएका थिए। कूल नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएका छन्। त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाडौंमा भएको पाइएको छ। 

त्यसको अघिल्लो वर्ष आव २०७८/७९ मा पाँच सय ९० वटा व्यक्ति हत्याका घटना भएका छन्। त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरिएका छन्। काठमाडौंमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ज्यान मार्ने उद्योगतर्फ एक हजार ७९ घटनामध्ये उपत्यकामा मात्रै एक सय ३६ घटना भएको पाइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .