ad ad

बागमती


मेयर बालेन्द्रविरुद्ध ईःको आन्दोलनप्रति गगन थापाको ऐक्यबद्धता, तत्काल वार्ता गर्न आग्रह

मेयर बालेन्द्रविरुद्ध ईःको आन्दोलनप्रति गगन थापाको ऐक्यबद्धता, तत्काल वार्ता गर्न आग्रह

नेपालखबर
असोज ७, २०८० आइतबार १४:३२, काठमाडौँ

काठमाडौं महानगरपालिका अगाडि ६ दिनदेखि निरन्तर उभिएर मेयर बालेन्द्र शाहप्रति विरोध जनाइरहेका सामाजिक अभियन्ता ईःको आन्दोलनप्रति नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले ऐक्यबद्धता जनाएका छन्। 

मेयर शाहले चुनावका बेला गरेको वाचाअनुरूप फुटपाथ व्यवासायीको उचित व्यवस्थापन गरिनुपर्नेलगायत माग राखेर केही युवा साथीसहित ईः गत मंगलबारदेखि काठमाडौं महानगरपालिका अगाडि उभिइरहेका छन्। 

सुरुमा ७७ घण्टा उभिने भनेका ईःले आफ्नो मागप्रति मेयर शाहले कुनै वास्ता नगरेपछि विरोध कार्यक्रमलाई १२३ घण्टामा लम्ब्याएका छन्। 

उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कांग्रेस महामन्त्री थापाले शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई महानगरपालिकाले महत्त्वका साथ सुन्नुपर्ने बताएका हुन्। यस क्रममा उनले सहरको आवागमनलाई असर नपर्ने गरी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको पनि उल्लेख गरेको छन्। 

‘लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ’, कांग्रेस महामन्त्री थापाले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ईः लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी 'Street Vendors' को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन्। सँगै बसेर कुरा गरेपछि एकअर्काको मत–दृष्टिकोण सुनेपछि बुझेपछि एउटा उपाय निस्कन्छ नै।’

उनले अगाडि लेखेका छन्, ‘त्यसकारण मेरो आग्रह छ– निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .