बागमती प्रदेशमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्री परिवर्तनको चर्चा सुरु भएको छ। एमाले, माओवादी लगाएतको नयाँ गठबन्धन बनेपछि नयाँ सरकार गठन गर्नेबेला माओवादीका मन्त्री फेरिनुपर्ने सांसदहरूले आवाज उठाउन थालेका हुन्।
बागमती प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएदेखि नै माओवादी निरन्तर सत्तामा छ। हाल १२ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ मन्त्री छन्। झण्डै डेढ वर्ष मन्त्री भैसकेका तीन मन्त्री फेरिनु पर्ने र नयाँले अवसर पाउनुपर्ने विषयमा सांसदहरूले आवाज उठाएको माओवादीका एक सांसदले बताए।
‘केन्द्रकै ढाँचामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएर निरन्तर सरकारमै रहने सहमति भए प्रदेशका अन्य मन्त्री फेर्नु पर्ने हामीले भनिरहेका छौं,’ ती सांसदले नेपालखबरसँग भने, ‘त्यो विषयमा केन्द्रबाट निर्णय आएपछि मात्रै यस छलफल हुने भनिएको छ। सधैं एउटैलाई मन्त्री बनाउनुभन्दा आलोपालो गर्न पाए हुन्थ्यो भन्ने अनौपचारिक कुरा राखेका हौं।’
ती सांसदका अनुसार मुख्यमन्त्रीमा जम्मकट्टेलले नै निरन्तरता पाए मन्त्रीहरु फेरिने अधिक सम्भावना छ। बागमती प्रदेश सभामा रहेका माओवादीका २१ सांसद मध्ये ४ जनाले मात्रै अवसर पाएको भन्दै असन्तुष्ट देखिएका सांसदहरूले मन्त्री फेर्नका लागि दबाब बढाइरहेका हुन्।
यता, माओवादी बागमती प्रदेशका सचेतक रत्न प्रसाद ढकाल पनि सांसदहरुले मन्त्री फेर्न दबाब दिएको स्वीकार गर्छन्। संसदीय दलको बैठक नबसे पनि अनौपचारिक छलफलका क्रममा नै मन्त्री परिवर्तनको कुरा उठिरहेको उनले बताए।
ढकालले भने, ‘औपचारिक छलफल भएको छैन। अनौपचारिक रुपमा केही माननीयज्यूहरुले इच्छा व्यक्त गर्नुभएको हो। यो विषयमा प्रदेशले निर्णय गरेर हुने होइन, केन्द्रबाट जे निर्देशन आउँछ, त्यस्तै हुन्छ।’
मुख्यमन्त्रीले निरन्तरता पाए मन्त्री फेर्ने यदी मुख्यमन्त्री अन्य दलको पोल्टामा परेको खण्डमा हालकै मन्त्रीले निरन्तरता पाउन सक्ने सम्भावना रहेको सचेतक ढकाल बताउँछन्। तर यस विषयमा हालसम्म केन्द्रबाट कुनै संकेत प्राप्त नभएको उनको भनाई छ।
केन्द्रले जस्तो निर्देशन दिन्छ सोही अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने र आफूहरु सोही विषयमा छलफल गर्ने क्रममा रहेको सचेतक ढकालले बताए। प्रदेशको कित्ता मिलाउन केन्द्रमा छलफल भैरहेको ढकालले जानकारी दिए।
बागमती प्रदेशमा हाल मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सहित समाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ छन्।
Shares
प्रतिक्रिया