बागमती प्रदेशको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ। आइतबार प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको कक्षमा बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको हो।
झण्डै तीन घन्टा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना मागलाई सरकारले हल्का रूपमा लिएको भन्दै विरोध गरेपछि एजेण्डामा प्रवेश नै नगरी बैठक सकिएको नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनालले बताए।
‘मुख्यतः बैठकमा तीनवटा विषयमा छलफल गर्ने भन्ने तालिका थियो। संसदीय समितिको सभापति चयन, बजेट पारित गर्दा प्रमुख प्रतिपक्षी दलसँग भएको लिखित सहमतिको विषय र पूर्वाधार विकासमा छुट्याइएको रकम कसरी विनियोजन गर्ने भन्ने बैठक एजेन्डा थिए,’ खनालले भने, ‘कुनै पनि विषयमा सरकार र प्रतिपक्ष दलको कुरा मिलेन। अब अर्को बैठकले निष्कर्ष निकाल्ला।’
यता, प्रमुख प्रतिपक्षी दल एमालेले भने सरकारले कुनै पनि विषयलाई गम्भीरताको साथ नलिएको आरोप लगाएको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गरेका कामहरू प्रदेशवासीको हितमा नभएको एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको आरोप छ।
बैठकमा कुनै पनि विषयमा गहन छलफल नभएको, पूर्वाधार विकास कार्यक्रममा सबै क्षेत्रलाई समेट्ने लिखित सहमतिको बेवास्ता गरेको लगायतका विषयमा एमाले असन्तुष्ट रहेको उनले बताए। ‘बैठक अर्को पटक बस्नेगरी सरकारको लाचारीपनाको खण्डन गर्दै बैठक सकियो,’ थपलियाले भने।
Shares
प्रतिक्रिया