अहिले (आइतबार बिहान) काठमाडौँ उपत्यकामा पनि बाक्लो हुस्सु लागिरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बाक्लो हुस्सुका कारण काठमाडौँ उपत्यकामा अहिले भिजिबिलिटी (पारदर्शिता) २ किलोमिटर मात्रै छ। हवाई यातायातका लागि कम्तीमा २८ सय मिटर भिजिबिलिटी चाहिने भएकाले आज उपत्यकामा हवाई उडान प्रभावित हुन सक्छ।
तर हुस्सु धेरै बेर नरहने र घामसँगै हट्ने सम्भावना रहेको उनको भनाइ छ।
यस्तै आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री रहेको मौसमविद् अधिकारीले जानकारी दिए।
अहिले बिहान ८:४५ बजे पुनः मापन गरिने र त्यतिबेला न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना रहेको उनले बताए। हिजो (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो।
मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्था रहने सम्भावना छ।
‘बिस्तारै हुस्सु हटेर जान्छ र आकाशमा अलि अलि बादल देखिन थाल्छ’, उनले भने, ‘यसलाई आंशिक बदली भनिन्छ।’ आंशिक बदलीको अवस्थामा घाम पनि लाग्छ।
देशभरका लागि- आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो
Shares
प्रतिक्रिया