ad ad

ब्लग


समाजवादतर्फ यात्रा गर्न एकीकृत र गतिशील नेकपा

समाजवादतर्फ यात्रा गर्न एकीकृत र गतिशील नेकपा

रामचन्द्र अधिकारी
साउन २४, २०७७ शनिबार १२:६,

नेपालको नयाँ संविधान–२०७२ ले राष्ट्रलाई समाजवादउन्मुख गराउन मार्गनिर्देश गरेको छ। दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा संविधानसभा हुँदै तयार भएको संविधानबाट यस्तो मार्गनिर्देश भएको हो। संविधानमा समाजवादउन्मुख शब्द यसै परेको होइन, यसका पछाडि एउटा राजनीतिक शक्ति र नेतृत्वको ठूलो मिहिनेत, योजना  र हजारौँको बलिदानीले काम गरेको छ।

यस्तो संविधानको परिकल्पना तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०५७ मा लेखेको राजनीतिक दस्तावेजमार्फत गरेका थिए। गणतन्त्रवादी, देशभक्त, प्रगतिशील, वामपन्थीलाई एउटै मालामा उन्दै प्रचण्डले त्यतिबेला समाजवादतर्फको यात्राबारे राजनीतिक मार्गचित्र अगाडि सारेका थिए। राजनीति आयामलाई इमान्दारीतापूर्वक विश्लेषण गर्ने हो भने नेपाल अहिले त्यही राजनीतिक दस्तावेजको जगलाई संस्थागत गर्दै अगाडि बढेको देखिन्छ।

यतिबेला समाजवाद अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी स्थानीय, प्रदेश र संघीय सरकारको काँधमा छ। मुलुकलाई संघीयताको ढाँचामा लैजाने तथा तीन तहको सरकारको परिकल्पना पनि दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा तयार भएको हो, जसलाई संविधानसभाबाट बनेको संविधानले संस्थागत गर्यो।

नेपालमा समाजवादी क्रान्तिको बिऊ रोप्ने, त्यसलाई जगेर्ना गर्दै हुर्काउने नेपालका कम्युनिस्ट नै हुन्। संविधानसभाबाट संविधान जारी भएपछि समाजवाद व्यवहारमा लागू गर्ने समय आयो। यसका लागि एउटा राजनीतिक पहलको खाँचो थियो। त्यसैअनुसार नेपालका सबै कम्युनिस्टलाई एउटै मालामा उन्ने लक्ष्य र उद्देश्य पूरा गर्न तत्कालीन माओवादी र एमालेलाई मिलाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाइएको हो। राजनीतिक शक्तिका हिसाबले नेकपा समाजवाद ल्याउने राजनीतिक आधार हो।

समाजवादका लागि राजनीतिक शक्ति छ र त्यसैअनुसार अहिले अनूकुल संरचना पनि। तीनवटै तहका सरकारको बहुसंख्यक नेतृत्वमा नेकपा नेता तथा कार्यकर्ता छन्। उनीहरुले बनाउने नीति, कार्यक्रम र बजेटलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यकेन्द्रित गरेर अगाडि बढाउनु पर्ने आवश्यकता छ। संघ, प्रदेश र स्थानीय तहका सरकारको नेतृत्वमा रहनेले समाजवाद उन्मुख संविधानको जग जनयुद्ध र जनआन्दोलन हो भन्ने ध्यान दिएर नीति तथा कार्यक्रम बनाउनुपर्छ। नेकपाका नेता–कार्यकर्ताले यसलाई भुल्नु हुँदैन।

समाजवादका लागि हामीसँग संवैधानिक वैधानिकता छ। समाजवादी समाज निर्माण गर्ने उद्देश्यमा अन्तरनिहित दुई ठूला कम्युनिष्ट पार्टीको एकता छ। तीनवटै तहमा नेकपाको बहुमतको सरकार छ। यसरी हेर्दा समाजवादको लक्ष्य धेरै टाढा छैन्। तर, अहिलेको परिस्थिति अनुसारको राजनीतिक नेतृत्व हुनु उत्तिकै महत्वपूर्ण हुन्छ, नत्र संविधानले सुनिश्चता गरेका उपलब्धि पनि धरापमा पर्न सक्छन्।

क्रान्तिको विकास हुन्छ, पुनरावृत्ति हुँदैन। जनयुद्ध र जनआन्दोलन पहिलेकै तरिकाले फेरि संभव हुँदैन। तर, ती क्रान्तिका लक्ष्य र उद्देश्य पूर्ति गराउन हिँड्ने राजमार्ग कहिले सिधा, कहिले दायाँ, बायाँबाट हुन सक्छ। त्यसैले सबै मोडहरु पार गर्न सक्ने नेतृत्व अहिले हामीलाई आवश्यक छ ।

समकालीन नेपाली राजनीतिमा आफनो लक्ष्य र उद्देश्य पूरा गर्न लचिलो र कसिलो हुन तयार हुने राजनीतिक व्यक्ति हुन् प्रचण्ड। उनको यही क्षमताले क्रान्तिको माला जप्ने तर क्रान्तिमा होमिन हिम्मत नगर्ने पार्टीलाई जनयुद्धको महासमरमा होमिदिएको थियो। फेरि जनयुद्धको जटिल कोर्सबाट पार्टीलाई शान्तिपूर्ण रुपमा रुपान्तरण पनि गरिएिको थियो।

सत्ता हुँदा प्रतिपक्षसँग पनि मिल्न सक्ने, प्रतिपक्षमा हुँदा सत्तापक्षसँग मिल्न सक्ने क्षमता प्रचण्डमा छ। २०७२ को महाविनाशकारी भूकम्पका बेला प्रतिपक्षी दलको नेताको हैसियतमा रहेका प्रचण्डले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई ढाड्स दिएर प्रतिपक्ष सरकारको पक्षमा छ भन्ने सन्देश दिए मात्रै होइन, सत्ता पक्षलाई राहत, उद्धार र पुननिर्माणमा जुटाउन आफैँले पहलकदमी लिएको इतिहास हामी सामू छ। 

वर्गीय विभेद अन्त्य गर्न, सबै खालको उत्पीडन समाप्त गर्न र उत्पीडकका बिरुद्ध धावा बोल्ने हिम्मत र साहस नागरिकमा विकास गराउने प्रचण्ड नै हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रचण्डले खेलेको भूमिकालाई समकालीन नेपाली राजनीतिले बिर्सन सक्दैन। फरक पार्टीमा रहेर नेकपा नेताहरु झलनाथ खनाल, केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्ड नै हुन्। तत्कालीन नेकपा नेता माधवकुमार नेपाललाई चुनावमा हारे पनि संसदमा लैजाने भूमिका प्रचण्डकै थियो। पछि उनी प्रधानमनत्री समेत बने। ती सबै काम प्रचण्डले समाजवाद उन्मुख समाज निर्माणकै लागि चालेका कदम हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादी अर्थतन्त्रका कोरियोग्राफर प्रचण्डलाई अहिले जसरी पदलोलुप भनेर देखाउन खोजिँदैछ, तथ्यले त्यसलाई पुष्टि गर्दैन।

दलित, महिला, जनजाति समुदायका मानिस अहिले प्रशासन, राजनीति र समाजका हरेक ठाउँमा जुन रुपमा उपस्थित छन्, तिनीहरुलाई त्यो ठाउँमा पु¥याउने विचार र आन्दोलनको नेतृत्वकर्ता प्रचण्ड नै हुन्। संघीय लोकतान्त्रिक गणतन्त्ररुपी बच्चा त नेपालको संविधानमार्फत जन्मियो, त्यसलाई हुर्काउने र बढाउने जिम्मेवारीबोध त्यसले मात्र गर्न सक्छ, जसले त्यो आन्दोलनको कोरियोग्राफरको भूमिका निर्वाह गरेको छ। त्यही भएर अहिले एउटा पक्ष पार्टीलाई विभाजन गराउन केन्द्रित भइरहेका बेला प्रचण्ड पार्टीलाई जुटाउन हरसंभव उपाय अवलम्बन गरिरहेका छन्। अहिले आन्दोलनका उपलब्धिलाई संस्थागत गराउन प्रचण्डको नेतृत्वमा नेता कार्यकर्ताको समूह गोलबन्द हुनुपर्दछ।

निश्चित स्वार्थ बोकेका व्यक्ति, पात्र र प्रवृत्तिका मान्छेहरुले प्रचण्डलाई घेरा हाल्ने कोशिश गर्छन्। बेलैमा सचेत हुँदै ठीक र बेठीक छुटयाएर व्यवार गर्न जरुरी छ। तिनीहरुका गुनासा र स्वार्थ हैन पार्टीको आवश्यकतामा प्रतिभा र क्षमतावान मान्छे प्रचण्डको योजनामा परिचालन हुनुपर्दछ। ती स्वार्थी समूहका मान्छे आफनो स्वार्थ पूरा भएपछि प्रचण्डलाई मन, वचन र कर्मले सहयोग गर्दैनन् भन्ने तथ्य दुई दशक लामो राजनीतिमा देखिएका पात्र र प्रवृत्तिले प्रष्टयाउँछन्।

प्रचण्डले पनि आफूलाई मन, वचन र कर्मले सहयोग गर्नेहरुलाई आफनो साथमा राखिराख्न सक्नुपर्छ किनकि दुःखमा साथ दिने तिनिहरु नै हुन्। जसरी जनयुद्धको बेला हजारौं योद्धा प्रचण्डको आदेशमा आफ्नो जवानी र ऊर्जालाई क्रान्तिमा होम्न तयार भयो, त्यसैगरी त्यस्तै युवाहरुको जमात समाजवादी समाज निर्माण गर्ने दिशामा केन्द्रित गराउन लाग्नुपर्दछ।

नेकपाभित्र अहिले दुई धार प्रष्ट देखिन्छ। एउटा धार पार्टीलाई विधि पद्धतिमा सञ्चालन गर्न चाहने र अर्को धार अराजकतातिर लैजाने। नेकपाभित्रको अहिलेको विवाद त्यही हो। पार्टीका नीति योजना कार्यान्वयन नगर्ने, पार्टीको निर्देशन नमान्ने एकमनावादी सोचले पार्टीमा विवाद भएको हो। पार्टीको लक्ष्य र उद्देश्य हासिल गर्न पार्टी कमिटी पद्धतिमा चल्नुपर्छ। पार्टीका बैठकलाई आफनो अनुकूल निर्णय नहुने देखिएपछि अनिश्चितकालका लागि स्थगित गर्ने शैली आफैँमा अराजक हो।

अराजक शैलीलाई सच्याउन पार्टीका बैठक, भेला निरन्तर हुन आवश्यक हुन्छ। तलदेखि माथिसम्मका पार्टी कमिटी चलाएमान बनाएर मात्रै सरकार गतिशील हुन्छ। पार्टी एकातिर, सरकार अर्कोतिर हुँदा परिणाम निकाल्न सकिँदैन। झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपा नेतृत्वको सरकार हुँदा पनि जनताले राहतको अनुभूति गर्न नसक्नुका पछाडिको कारण त्यही हो। सत्तालाई सन्तुलनमा राख्नका लागि पनि पार्टी कमिटीलाई चुस्त दुरुस्त राख्न आवश्यक हुन्छ। 

संसारको सबैभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिस्ट पार्टी हो। विधि–पद्धति नमान्ने नेतृत्व हुँदो हो त चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई नेतृत्व प्रदान गर्न सक्ने थिएन। पार्टीको नीति र योजनाकै आधारमा चीनले अहिले विश्वको नेतृत्व गर्न लागिरहेको छ। नेकपाले अहिले जुन अवसर प्राप्त गरेको छ, त्यो अवसर बिरलै प्राप्त हुन्छ। त्यसकारण पार्टी र सरकारलाई सन्तुलनमा राख्न सक्दा मात्र नेकपाले आफनो लक्ष्य र उद्देश्य पूरा गर्न सक्छ। पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्न र केही नेता र प्रवृत्तिलाई अराजक हुनबाट रोक्न नेकपाका नेता–कार्यकर्ताले अब बहस चलाउनुपर्छ। र, बहसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ।

तीन दशकदेखि नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड अहिले पनि सत्तामोहमा डुबेका केही व्यक्ति र प्रवृत्तिसँग लडिरहेका छन्। क्रान्तिदेखि शान्तिपूर्ण राजनीतिमा राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गराउन प्रचण्डको वरिपरि गोलबद्ध हुनुपर्ने आवश्यकता छ। नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले जसरी प्रचण्डलाई साथ दिइरहेका छन्, पूर्व माओवादीकै नेताहरुले पनि त्यसरी नै साथ दिन जरुरी छ। ती नेताहरुले आफ्नो निहित स्वार्थमा प्रचण्डलाई धोका दिन पाउँदैनन्, त्यो वर्गीय आन्दोलनको प्रतिवद्धता विपरीत हुन्छ।

क्रान्तिका उपलब्धिलाई संस्थागत गर्दै समाजवादको आधार निर्माणको नेतृत्व नेकपाले मात्र गर्न सक्छ। त्यस्को निम्ति नेकपालाई बलियो बनाउन नेता तथा कार्यकर्ता एकताबद्ध हुने र पार्टी विभाजन गर्न चाहने प्रवृत्तिलाई परास्त गर्ने नै हो। राजनीतिक इतिहास हेर्ने हो भने प्रचण्ड सबै एकता संघर्ष र रुपान्तरण गराउन सिपालु देखिन्छन्। फुटेर होइन, जुटेर मात्र क्रान्तिका अभिभारा पूरा गर्न सकिन्छ भन्ने बुझाइ उनमा देखिन्छ। नेकपालाई गोलचक्करमा राख्ने होइन, गतिशील बनाउने हो। पार्टीलाई गतिशील बनाउन नेतृत्व पनि गतिशील नै हुन जरुरी छ।

उखान टुक्काले अबको राजनीति चल्दैन र मुलुकलाई गति दिन पनि सक्दैन। राष्ट्र र राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्न, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउन र नेपाललाई समाजवादउन्मुख अर्थतन्त्रको दिशामा अग्रसर गराउन गतिशील नेतृत्व अहिलेको आवश्यकता हो।

(अधिकारी नेकपा चितवनका नेता हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .