ad ad

ब्लग


टुँडिखेलको ढोका सधैँलाई बन्द गरियो भने फोरिनेछ (भिडिओ)

टुँडिखेलको ढोका सधैँलाई बन्द गरियो भने फोरिनेछ (भिडिओ)

खगेन्द्र संग्रौला
फागुन ७, २०७७ शुक्रबार १२:३७,

एक जना भाइले सोध्नुभयो– आज नागरिकको उपस्थिति एकदमै पातलो किन?

नागरिक आन्दोलन नागरिकहरूको टाउको नापेर यसको शक्ति मापन हुँदैन। प्रहरी भाइबहिनाहरूको टाउको नापेर नागरिक आन्दोलनको शक्ति नापिन्छ।

आज यो सभामा जति नागरिकको सहभागिता छ। त्योभन्दा बढी प्रहरी भाइबहिनीहरूको सहभागिता छ। यसको अर्थ तानाशाह जब डराउँछ तब नागरिकहरूका अगाडि आफूसँग भएका सबै शक्ति देखाउँछ। प्रहरी, सेना, ट्यांक पठाउँछ।

काठमाडौं सहर देशको राजधानी हो। राजधानी सहरको विशेषता हुन्छ। सभ्य सहरमा पेटी हुन्छ। जहाँ नागरिक एकअर्कालाई नछोईकन हिँड्न सक्छन्। प्रत्येक सभ्य सहरमा साइकल चलाउने लेन हुन्छ, जहाँ मानिसहरू साइकल चलाउँछन्।

प्रत्येक सभ्य सहरमा सडक दायाँबायाँ रूख हुन्छन्। रूखले सडकलाई शोभा दिन्छ। नागरिकको स्वास्थ्य राम्रो बनाउँछ। प्रत्येक सभ्य सहरमा पुष्पवाटिका, पार्क हुन्छन्। जहाँ मानिसहरूले आराम गर्छन्, मनोरञ्जन गर्छन्।

प्रत्येक सभ्य सहरमा व्यवस्थित पुस्तकालय हुन्छन्, नाट्यगृह हुन्छन्।

तर यो काठमाडौं सहरमा मैले भनिरहेका कुनै कुरा छैनन्। जे जे हुनुपर्ने त्यो छैन, जे जे नहुनुपर्ने त्यो छ।

हुन नपर्ने एउटा के हो भने राजधानी सहरबीचमा एउटा जंगी अड्डा छ।

कुनै पनि सभ्य सहर, बाक्लो बस्तीका बीचमा जंगी अड्डा हुँदैन। जंगी अड्डामा बारुदको थुप्रो हुन्छ। जिलेटिन हुन्छ, बम, तोप, मिसेनगन हुन्छ। जसले विनास गर्छ।

संसारैभरि तानाशाह जनतासँग डराउँछन्। तानाशाह जब जनतासँग डराउँछन् तब तिनले आफ्नो दरबारको बलेसीमुनि प्रहरी सेनाको जमात लगाउँछन्।

नेपालको सेना, शाह राजाले आफ्नो नोकरका रुपमा पालिपाेसी हुर्काएको हो। अहिले त्यसको नाम नेपाली सेना भएको छ।

तानाशाह जब डराउँछ तब त्यसले आफ्नो बलेसीमुनि जंगी अड्डा बनाउँछ। यो जंगी अड्डा पनि त्यसरी नै बनाइएको हो।

हामी आज टुँडिखेल हाम्रो भन्न आएका छौं। अघिल्लो नागरिक आन्दोलनमा हामी रत्नपार्क हाम्रो हो भन्न आएका थियौं।

कुनै पनि देशको सेना वास्तवमा बस्तीभन्दा टाढा बस्छ। सेना नागरिकले देखिनेगरी कहिले पनि आउँदैन। दुई अवस्थामा मात्रै आउँछ। एक : ठूलो प्राकृतिक विपत्ति हुँदा राहत र उद्धारका लागिऽ दुई :  गृहयुद्ध, सीमा युद्ध भयो भने।

सैनिक जवान  बिहान बिहान आई लभ यु भन्दै सहरमा कुद्दैनन्। यो सेना नेपालका शासकको बर्बरताको प्रतीक हो। यो सेना सहरको असभ्यताको प्रतीक हो।

यो सेनाले नागरिकले खेल्ने/डुल्ने टुँडिखेल पनि कब्जा गरेको छ। आज हामीले भन्यौं- यो टुँडिखेल नागरिकको हो।

तर हामीलाई टुँडिखेलमा पस्न दिइएन। यही बेला कुकुरहरु टुँडिखेलमा स्वच्छन्द विचरण गरिरहेका छन्। हामी नागरिकलाई यो राज्यले कुकुरको जति पनि इज्जत दिएन।

हामीलाई टुँडिखेलमा पस्न दिइएन। हाम्रो डरले बालुवाटारको आदेशमा टुँडिखेलका सबै ढोका बन्द भएका छन्। तर नागरिक आन्दोलन त्यस बेलासम्म रहन्छ जति बेलासम्म विश्वमा एउटा नागरिक रहन्छ।

अधिकार जहिले पनि जोखिममा हुन्छ। तानाशाहले जहिले पनि अधिकार खोस्न चाहन्छ। जीवनलाई सीमित बनाउन चाहन्छ। सबलाई कमारो बनाउन चाहन्छ।

आज हामीले टुँडिखेल नागरिकको हो भनेर उद्घोष गरेका छौं। आज टुँडिखेलको ढोका हाम्रा लागि खोलिएन। टुँडिखेलको ढोका सधैँलाई बन्द भयो भने त्यो ढोका फोरिनेछ। टुँडिखेल कब्जा गरिनेछ।

(बृहत् नागरिक आन्दोलनले शुक्रबार आयोजना गरेको सभामा लेखक खगेन्द्र संग्रौलाले राखेको मन्तव्यको सम्पादित अंश)

सुन्नुहोस्, भिडिओ : 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .