ad ad

अपराध


ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ

ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ

पक्राउ परेका थप १५ अभियुक्त


नेपालखबर
फागुन ४, २०७९ बिहिबार १२:२८, काठमाडौँ

यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यसअघि ४ जनालाई पक्राउ गरिएको थियो। योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

यसअघि बुधबार काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न ४ जना र प्रहरीको गाडी आगजनीमा संलग्न ६ जना गरी १० जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

बाँकी १५ जनालाई उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। अनुसन्धान कार्यालयले पक्राउ गरेका १५ जना ल्होत्से मलमा तोडफोड र लुटपाटमा संलग्न रहेका मुख्य व्यक्ति हुन्। उनीहरुलाई भिडिओका आधारमा पहिचान गरेर पक्राउ गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए। 

बुधबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि बालाजु वृत्त र महाराजगन्ज वृत्तमा पठाइएको छ।

यातायात मजदुर नै लुटपाटमा 
पक्राउ पर्नेमा काभ्रेको पाँचखालका १९ वर्षीय सुरज मगर, नुवाकोटको सूर्यगढ ४ का १९ वर्षीय केशर राई, सिन्धुलीको सिन्धुली गढी ६ का १८ वर्षीय इन्द्र तामाङ रहेका छन्। उनीहरु तिनै जना सहचालक हुन्।

यस्तै नीलकण्ठ ६ धादिङका चालक २६ वर्षीय इलाराज गुरुङ, नमोवुद्ध २ काभ्रेका १८ वर्षीय चालक हरिशरण तामाङ, सहचालक नीलकण्ठ ६ धादिङका १८ वर्षीय विकास गुरुङ, सहचालक उदयपुरगढी ६ उदयपुरका २७ वर्षीय राजन राउत, रत्ननगर ११ चितवनका २७ वर्षीय संविधान परियार छन्। 

बाँकी ७ जना अन्य छन्। ज्याला मजदुरी गर्ने चौदण्डी ५ उदयपुरका ३० वर्षीय रितेश बस्नेत र बेलवारी ४ मोरङका ३० वर्षीय यमन राई, ककनी ८ नुवाकोट घर भई काठमाडौंमा पढ्ने विद्यार्थी १८ वर्षीय सुनिल कालिकोटे र ककनी ७ नुवाकोटका १८ वर्षीय सुदीप तामाङ, व्यापारी काठमाडौं महानगरपालिका १६ माछापोखरीका २२ वर्षीय रोमन कालिकोटे र माछापोखरीकै व्यापारी ३३ वर्षीय माधव शाही छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .