२ दशकअघि विदेशमा चलेका कम्पनीहरु नेपाली तयारी पोशाक अर्डर गर्थे।
त्यतिबेला कपडाजन्य आयातभन्दा निर्यात धेरै थियो। नेपालबाट ३९ करोड डलर अर्थात् ३९ अर्ब रुपैयाँसम्मको कपडाजन्य निर्यात हुन्थ्यो।
अहिले विदेशमा चलेका ठूला र चर्चित नाइक, फिला, एडिडास, नर्थफेसजस्ता कम्पनीले नेपाली पोशाकलाई पत्याउँदैनन्।
कपडा व्यवसायीहरुका अनुसार सन् १९९७/०९८ तिर विदेशी ठूला कम्पनीहरु नेपालबाट बाहिरिए। त्योसँगै नेपालको कपडाजन्य निर्यात व्यवसाय पनि खस्किन थाल्यो।
कुनै बेला कपडा निर्यातमा नेपालभन्दा पछि रहेको बंगलादेश अहिले निकै अघि बढिसकेको छ। उसले वार्षिक ३८ अर्ब डलरबराबरको गार्मेन्ट निर्यात गर्दा नेपालको अवस्था दयनीय बनेको छ। निर्यातलाई आयातको चापले थिचेको छ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालले गर्ने निर्यातमा मुख्यतः भेजिटेबल टेक्सटाइल, म्यानमेड स्टेपल फाइबर, फेल्ट एन्ड ननओभनको हिस्सा बढी छ।
चालू आवको ६ महिनामा भेजिटेबल टेक्सटाइल फाइबर ३ अर्ब ५३ करोड, म्यानमेड स्टेपल फाइबर ५ अर्ब ७५ करोड र फेल्ट एन्ड ननओभन २ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको छ।
यही अवधिमा कपडा तथा धागोजन्य पदार्थ २३ अर्ब ४४ करोड रुपैयाँबराबरको आयात भएको छ। जसमा ३६ करोड ८० लाखको सिल्क आयात भएको छ।
ऊनी तथा रौँजन्य २ अर्ब ४८ करोड, कटनजन्य कपडा ५ अर्ब ४३ करोड, भेजिटेबल टेक्सटाइल फाइबर ३ अर्ब २५ करोड, म्यानमेड टेक्सटाइल १ अर्ब ६१ करोड, म्यानमेड फाइबर १० अर्ब २१ करोड र फेल्ट एन्ड नन ओभन ९४ करोडको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
खर्बको बजारमा बनेनन् पत्याउने ब्रान्ड
व्यवसायीहरु नेपाली कपडा बजार खर्ब हाराहारीमा रहेको बताउँछन्। उनीहरुका अनुसार यो भनेको औपचारिक कारोबार हुने बजारमात्र हो।
अनौपचारिक कारोबारले थिच्दा औपचारिक कारोबार बजारको आकार सानो देखिएको उनीहरुको भनाइ छ। कपडा–तयारी पोशाकदेखि सिरकसम्मको कारोबार हुने नेपाली बजारमा कुल कारोबार भने ७ खर्ब बढीको हुने दाबी गर्छन् उनीहरु।
धेरै कारोबार अनौपचारिक माध्यम अर्थात् चोरी पैठारी, न्यून बीजकीकरणबाट हुने हुँदा १ खर्बको मात्रै बजार देखिएको गार्मेन्ट तथा कपडा व्यवसायीको दाबी छ।
त्यसो त नेपाली कपडाजन्य व्यवसाय ब्रान्डिङविनै चलेको छ। उद्योगीले तत्कालीन फाइदा मात्र हेर्दा कपडाजन्य व्यवसायको ब्रान्डिङ हुन नसकेको हो।
नेपालमा स्थानीय ब्रान्ड बढ्दै गए पनि ठूला उद्योगले ब्रान्डिङ गर्न अझै सकेका छैनन्। यहाँको बजार त छँदै छ, नेपालबाट विदेश निर्यात हुने अर्बौँको तयारी पोशाकको ब्रान्डिङ नै छैन।
विदेशी कम्पनीले जुन लेबलिङमा तयारी पोशाक माग गर्छन् त्यही आधारमा नेपाली उद्योगीले निर्यात गरिरहेका छन्। त्यसमा ‘मेड इन नेपाल’ लेखेर पठाए पनि ब्रान्ड भने विदेशी कम्पनीकै हुन्छ।
नेपालबाट एउटै लेबलिङको पोशाक पुर्याउन नसक्दा ठूला ब्रान्डलाई बिक्री गर्न नसकेको व्यवसायी नै बताउँछन्।
नेपाली तयारी पोशाक उत्पादक संघका अध्यक्ष चण्डी प्रसाद अर्यालले विदेश निर्यात हुने ९९ प्रतिशत तयारी पोशाक नेपाली ब्रान्डविनै निर्यात हुने गरेको बताए।
‘मेड इन नेपाल भनेर हामीले निर्यात गर्छौँ तर नेपाली ब्रान्डको लेबलिङ हुँदैन’, अध्यक्ष अर्यालले भने, ‘हामीलाई बाहिरबाट जस्तो अर्डर आउँछ, त्यही बनाएर पठाउने हो।’
उनले विदेशी कम्पनीले आफ्नो ब्रान्डिङमा तयारी पोशाक मगाउने गरेको बताए।
विदेशी ब्रान्डको लोगो टाँस्दै, बेच्दै
अधिकांश सहरका पसलमा एडिडास, नाइक, रिबुक, नर्थफेस, पुमाका कपडाजन्य उत्पादन छ्यापछ्यापती पाइन्छन्।
तर अधिकांश नक्कली हुने गरेका छन्। नेपाली गार्मेन्ट उद्योगले आफ्नो ब्रान्डमा कपडा उत्पादन गर्न छाडेर ग्राहकलाई झुक्याउन विदेशी ब्रान्ड टाँस्ने गरेका छन्।
नर्थफेसका ओरिजिनल ज्याकेटको सुरुवाती मूल्य नै करिब १० हजारदेखि ४० हजार बढीसम्म पर्छ। तर नेपाली बजारमा १ हजारमै नर्थफेस ट्याग भएका ज्याकेट छ्यापछ्यापती बिक्री हुन्छन्।
नेपाल कपडा उद्योग संघका महासचिव उमेश लाखे विदेशी ब्रान्डको लोगो टाँसेर बिक्री गर्न सजिलो हुँदा व्यवसायीहरु ब्रान्डिङ गर्नतिर नलागेको बताउँछन्।
‘एउटै ज्याकेटमा नेपाली ब्रान्डको सट्टा विदेशी ब्रान्ड चिप्काउँदा बिक्री गर्न सजिलो हुने भन्दै रिटेलर आएका हुन्छन्’, उनले भने, ‘ब्रान्ड भ्यालुको रिटर्न आउन लामो समय लाग्छ। तर नेपाली व्यवसायीमा छिट्टै लाभ खोज्ने प्रवृत्ति छ।’
ग्राहकले ब्रान्ड खोज्न थाले पनि नेपाली उद्योगी त्यसको लागि अझै तयार नभएको उनको भनाइ छ। नेपालमा आफ्नै ब्रान्डिङ गर्नेले राम्रै गरिरहेका पनि छन् तर अधिकांश व्यवसायीले यसलाई प्राथमिकतामा राखेका छैनन्।
‘साना उद्योगीले ब्रान्ड बनाएर बजार जाँदा समस्या देखिरहेका छन्। अनलाइन प्लेटफर्म प्रयोग गर्नेले आफ्नै ब्रान्ड बनाएका छन्’, लाखे भन्छन्, ‘धेरै कपडा उत्पादन गर्ने उद्योगले पनि आफ्नो ब्रान्डमा बिक्री गरेका छैनन्। होलसेलर र रिटेलरले विदेशमा चलेका ब्रान्डमै खोज्दा नेपाली ब्रान्ड बन्दैन।’
गार्मेन्टमा लोकल ब्रान्डिङ बढ्दै गए पनि कपडा (थान कपडा)मा झन् ब्रान्डिङ हुनैसकेको छैन। नेपालमै उत्पादन भएको दौरा सुरुवाल होस् वा कोट पाइन्टको कपडा, बढी मूल्यमा बिक्री हुने गरेका छन्।
व्यवसायीका अनुसार कपडाको ६० देखि ७० प्रतिशतसम्म खपत नेपालमै बनेको हुन्छ। तर व्यवसायीले मेड इन चाइना, मेड इन इन्डिया, मेड इन थाइल्यान्ड, मेड इन कोरिया भन्दै बिक्री गर्ने गरेका छन्।
‘नेपालमै बनेका ९० प्रतिशत कपडामा बाहिरकै ट्याग हुन्छ’, गार्मेन्ट र कपडा दुवै बनाउने लाखे भन्छन्, ‘आफ्नो नाम राखेर बनाएको सामान बेच्नै गाह्रो हुन्छ।’
विदेशी ट्याग भएपछि ग्राहकले नेपाली सामान हो भनेर थाहा नपाउने। जुन राम्रो सामान छ त्यसलाई इन्डियन, चाइनिज, थाइल्यान्ड, कोरियन भन्दै बिक्री गर्दा नेपाली कपडाजन्य पदार्थको ब्रान्डिङ गर्न अप्ठ्यारो हुने व्यवसायी बताउँछन्।
व्यावसायिक स्वार्थको लागि जुन नराम्रो हुन्छ त्यसलाई नेपाली भनेर बिक्री गर्ने गरेका छन्। नेपाली ब्रान्ड बनाउनुपर्ने व्यवसायी नराम्रोलाई चाहिँ नेपाली भन्दै बिक्री गर्ने गरेका छन्।
‘नेपाली समान पनि राम्रो छ गुणस्तरीय छ भनेर उकास्न छाडेर व्यवसायीले उल्टो काम गरिरहेका छन्’, लाखेले भने, ‘दीर्घकालीन रुपमा आफ्नो फाइदा हेरेकै छैनन्।’
धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान नेपाली कपडालाई भारतीय भन्दै बिक्री गर्ने धेरै खुद्रा बिक्रेता रहेको बताउँछन्।
‘अहिले नेपाली कपडालाई बाहिरको भनेर बिक्री गर्दा पहिचान नै पाउन सकेका छैनन्’, गोल्यान भन्छन्, ‘भारतमा ३ दशकअघि १–२ वटा ब्रान्ड थिए। अहिले ठूलो ब्रान्डिङ भएको छ।’
गोल्यानले कोभिडको समयमा विदेशबाट कपडा आउन नपाउँदा गार्मेन्ट व्यवसायीलाई ब्रान्डिङ गर्न सहज भएको बताए।
किन हुन सकेन नेपाली ब्रान्डिङ?
केही व्यवसायी भारतबाट कपडा मिटरको १५० रुपैयाँमा ल्याएर ६५० रुपैयाँभन्दा बढीमा बिक्री गर्छन्। त्यो कपडा नेपालमै बन्दा ४० प्रतिशत सस्तो हुने व्यवसायी बताउँछन्।
बजारमा जाँदा नेपाली कपडा भन्नेबित्तिकै सस्तो हुनुपर्छ भन्ने आम धारणा बन्दा कपडामा पनि नेपाली होइन भनेरै बेच्ने धेरै छन्।
जुन व्यवसायीले लगानी गरी धैर्य गरेका छन् ती उद्योगले विस्तारै गति लिइरहेका छन्। अनलाइनबाट बिक्री हुने अधिकांश कपडाजन्य वस्तु ब्रान्डिङ नै हुने गरेका छन्।
नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्र कुमार लोहिया साना लगानीका उद्योग भएकाले कपडा तथा गार्मेन्टमा ब्रान्डिङ हुन नसकेको बताउँछन्।
‘ब्रान्डिङ गर्न ठूलो रकम खर्च गर्नुपर्छ। नेपालमा स्थापना भएका उद्योग त्यति ठूला छैनन्’, लोहियाले भने, ‘गार्मेन्टमा चाह्यो भने ब्रान्डिङ गर्न सकिन्छ, कपडामा ब्रान्डिङ गर्न झनै समस्या छ।’
नेपालमा धेरै व्यवसायी १–२ करोडको वार्षिक कारोबार गर्ने उद्योग छन्। २–३ करोड लगानी नगरी ब्रान्डिङ गर्न नसकिने उनी बताउँछन्।
सरकारले आयात, चोरी पैठारीदेखि न्यून बीजकीकरण नियन्त्रण गर्यो भने व्यवसायी ब्रान्डिङमा लाग्छन्। अहिले भारतको ५० किलोमिटर नजिक बोर्डरमा बस्नेले भारतमा गएरै कपडा किन्ने गरेका छन्।
‘तयारी पोशाकदेखि सिरक डसनासम्म वर्षमा ७ खर्बको माग हुने हाम्रो अनुमान छ’, कपडा उद्योगमा ठूलो लगानी गरेका लोहिया भन्छन्, ‘तर १ खर्ब रुपैयाँ मात्रै देखिन्छ। बाँकी चोरी र न्यून बीजकीकरणमा कारोबार भइरहेको छ।’
राजस्व नतिरी भित्रिएको कपडासँग बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने उनले बताए। उनी गार्मेन्ट ब्रान्डिङ गर्नसके कपडा र धागो उत्पादकलाई पनि फाइदा हुने बताउँछन्।
धागो उत्पादक गोल्यान गार्मेन्टमा नेपाली कपडाको खपत एकदमै कम रहेको बताउँछन्। गार्मेन्टको ब्रान्डिङको लागि जुन किसिमको फिनिसिङ आवश्यक पर्छ त्योअनुसारको उपकरण अझै नभएको उनले बताए।
‘नेपाली ब्रान्डिङको लागि ठुला मेसिनमा लगानी गर्नुपर्छ। एक व्यक्तिले सक्दैन’, गोल्यान भन्छन्, ‘हेडौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारले निजी क्षेत्रलाई सफ्ट लोन दिए नेपाली ब्रान्ड बन्न बल्ल सक्छ।’
तयारी पोशाक संघका अध्यक्ष अर्याल पनि नेपाली ब्रान्डिङ गर्न आफ्नो कच्चा पदार्थ हुनुपर्ने बताउँछन्।
‘हामीले अरुको कच्चा पदार्थ प्रयोग गर्नुपर्छ। धागोका मिल लगाऔँ। सरकारी बन्द कपडा उद्योग चलाऔँभन्दा सरकारले सुनेको छैन’, उनी भन्छन्, ‘आफ्नो ब्रान्ड बनाउन धेरै कुरा उपलब्ध गराउनुपर्छ। कम्तीमा एकैनासको कच्चा पदार्थ पाए ब्रान्ड बनाउन सकिन्छ।’
हुर्किँदो स्टार्टअपहरुबाट आशा
यसका बाबजुद हुर्किँदै गरेका नेपाली स्टार्टअपहरुले आफ्नै ब्रान्ड बनाई बिक्री गर्ने क्रम भने पछिल्लो समय बढ्दै गइरहेको छ।
यसमध्ये केही कम्पनीले देशका मुख्य सहरमा आउटलेट विस्तार गरेका छन् भने केही ‘क्लोदिङ स्टार्टअप’ले अनलाइनमार्फत नै कारोबार गरिरहेका छन्।
केटीएम सिटी, लोगो, भोटो, फिब्रो, भर्जिन्स किरोज फेसन, फलानो लुगा, जामा नेपाललगायतका ब्रान्ड बजारमा उदाएका छन्।
नेपाल तयारी पोशाक व्यवसायी पशुपति देव पाण्डे नेपालमा स्थानीय ब्रान्डहरु बढ्दै गएको बताउँछन्।
‘पहिला नेपाली ब्रान्ड पाउनै मुस्किल थियो। अहिले खोज्यो भने नेपाली ब्रान्ड पाउन सकिन्छ’, उनले भने, ‘डिजिटल प्लेटफर्ममार्फत बिक्री गर्ने बढिरहेका छन्। १०० भन्दा बढी नेपाली ब्रान्ड भइसकेका छन्, स्केलिङ हुँदै छन्।’
फिब्रोका प्रमुख कार्यकारी अधिकृत सुरजराज पाण्डे नेपाली ब्रान्डका प्रोडक्टले राम्रो फिडब्याक पाउनथालेको बताउँछन्। उनले २ वर्षअघि सुरु गरेको कम्पनी अहिले २ करोडको भइसकेको छ।
कम्पनीमा एकपटक आएका ग्राहक फेरि आउने गरेको देखेका उनी नेपाली ब्रान्ड ग्राहकको रुचीमा परेको बताउँछन्।
‘अर्काको चलेको ब्रान्ड बेच्न सजिलो हुन्छ। ग्राहकको विश्वास जित्न सजिलो होला तर नयाँ ब्रान्ड आउँदा धेरै कुरा बुझाउनुपर्छ’, फिब्रोका पाण्डे भन्छन्, ‘छिट्टै पैसा कमाउन नक्कली ब्रान्डबाट बेच्न सजिलो पनि होला तर दीर्घकालीन रुपमा हामीलाई फाइदा गर्दैन।’
नेपाली ब्रान्ड अनलाइन अफलाइन दुवैबाट बिक्री भइरहेका छन्। फिब्रोले अनामनगरमा शोरुम राखेको छ भने बाँकी अनलाइनबाटै बिक्री गर्दै आएको छ।
‘गार्मेन्टमा लोकल ब्रान्ड स्थापना हुँदै गएका छन्। जुन राम्रो हो तर पर्याप्त हुनसकेको छैन’, व्यवसायी लोहिया भन्छन्, ‘गार्मेन्टलाई ब्रान्डिङ गरी ठूलो भोल्युममा बिक्री गर्न सकिन्छ।’
Shares
प्रतिक्रिया