भारतका धनाढ्य गौतम अदानी विश्व धनी वरीयतामा तेस्रो नम्बरमा पुगेका छन्।
टप–३ मा पुग्ने उनी एसियाबाट पहिलो व्यक्ति हुन्।
कलेज छाडेर व्यवसाय रोजेका उनी पछिल्लो समय निरन्तर उकालोयात्रामा छन्।
ब्लुमबर्गको अर्बपति सूचकांकले अदानी विश्वकै तेस्रो ठूलो धनी बनेको जनाएको छ। टप ३ मा एसियाका भारतकै मुकेश अम्बानी र चीनका ज्याक मा समेत पुग्न सकेका थिएनन्।
अदानीसँग १ खर्ब ३७ अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ति रहेको ब्लुमबर्गले जनाएको छ। उनले फ्रान्सका बर्नार्ड आर्नोलाई उछिनेका छन् भने इलोन मस्क र जेफ बेजोसलाई पछ्याइरहेका छन्।
उनी ६० वर्षका धनी हुन्। उनको कोइलादेखि बन्दरगाहसम्मको व्यवसाय छ। भर्खरै उनले भारतको चर्चित मिडिया एनडीटिभी खरिद गरेका थिए। भारतमा निजी क्षेत्रको ठूलो बन्दरगाह र विमानस्थल सञ्चालनमा उनको लगानी छ।
अस्ट्रेलियामा कोइलाखानी रहेका अदानीको व्यवसायलाई वातावरणवादीले आलोचना गरे पनि उनले हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन्।
सन् २०२२ मा मात्रै उनको सम्पत्ति ६० अर्ब ९० करोड डलरले बढेको छ। गत फेब्रुअरीमा मात्रै उनले अम्बानीलाई एसियाको धनीबाट विस्थापित गरेका थिए। त्यसपछि अप्रिलमा उनी सेन्टिबिलेनियर (सय अर्ब डलरका मालिक) बनेका थिए। उनले माइक्रोसफ्ट कर्पका बिल गेट्सलाई उछिन्दै चौथो धनी व्यक्ति बनेका थिए।
Shares
प्रतिक्रिया