ad ad

कारोबार


नेपालमा बिक्री हुने कारको आधा हिस्सा टाटाले ओगटेको छ : सिद्धार्थ राणा

नेपालमा बिक्री हुने कारको आधा हिस्सा टाटाले ओगटेको छ : सिद्धार्थ राणा

नेपालखबर
बैशाख २८, २०८० बिहिबार ९:४१, काठमाडौँ

सिप्रदी ट्रेडिङले नेपालमा बिक्री हुने कारको आधा हिस्सा टाटाले ओगटेको दाबी गरेको छ। विद्युतीय गाडीमा एकछत्र बजार ओगटेको टाटाले प्यासेन्जर भेहिकल सेगमेन्टमा मार्केट सेयर ५० प्रतिशत पुगेको जनाएको छ। 

सिप्रदीले १९८२ बाट कमर्सियल गाडी नेपालमा बिक्री गर्न सुरु गरेको थियो। ट्रक, बस, पिकअप, ढुुवानीमा गाडी टाटाकै बढी बिक्री हुने गरेका छन्। कमर्सियल गाडीको बिक्रीमा टाटाले ६४ प्रतिशतसम्म बजार हिस्सा ओगट्न थालेको छ। 

सन् १९९२ बाट सिप्रदीले प्यासेन्जर भेहिकल (कार) बिक्री गरिरहेको छ। टाटा सियराबाट बिक्री सुरु गरिएको थियो। दुई वर्षअघि विद्युतीय गाडी सार्वजनिक गरिएको थियो। नेक्सन ईभी सबैभन्दा बढी बिक्री भएको गाडी हो। 

‘हामीले ठूलो प्रयास गर्दा पनि बजारमा १० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सकेका थिएनौं’, सिप्रदी ट्रेडिङका कार्यकारी निर्देशक सिद्धार्थ शमशेर राणाले भने, ‘पेट्रोल इन्जिनको नेक्सन एसयूभी नेपाली बजारमा ल्याएसँगै टाटाको बजार हिस्सा बढ्न थाल्यो। ईभीको सफलताले बिक्रीको बजार हिस्सा ५० प्रतिशत पुगेको छ।’

टाटाले नेपालमा ५ वर्षअघि नेक्सनको पेट्रोल इन्जिनको गाडी सार्वजनिक भएको थियो। टाटाका प्यासेन्जर सेगमेन्टमा नेपालमा सबैभन्दा बढी बिक्री हुनेमा नेक्सन पर्छ। २०७८ मा नेक्सनकै ईभी गाडी आएपछि टाटाले माग पुर्‍याउनै सकेन। हालसम्म एउटै मोडल नेक्सन ईभी मात्रै करिब २५ सय वटा बिक्री गरेको छ। 

‘नेक्सन ईभी सार्वजनिक गरेसँगै कूल ५० प्रतिशत बजार हिस्सा टाटाको प्यासेन्जर भेहिकलले लिएको छ। ७४ प्रतिशत विद्युतीय गाडीको बजार हिस्सा टाटाले नै ओगटेको छ’, राणाले भने। 

बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्रोडक्ट र ग्राहकले खरिद गर्न सक्ने मूल्यले नेक्नस ईभीमा टाटा सफल भएको छ। टाटाले नेक्सन ईभी सार्वजनिक गर्दा पेट्रोलभन्दा सस्तो मूल्यमा सार्वजनिक गरेको थियो। 

टाटाले नेपालमा ईभीको सेडान एक्सप्रेस टी ट्याक्सीका लागि भित्र्याएको छ। नेपाली सडकमा टाटाका ईभी ट्याक्सी सञ्चालनमा आइसकेका छन्। यसका २३ वटा सेल्स र सर्भिस शोरुम छन्। १९ वटा फास्ट डीसी चार्जर छन्। 

‘ईभी म्याक्सले ५० प्रतिशत बजार हिस्सा घट्न दिँदैन’
मंगलबार सिप्रदी टेड्रिले बहुपतिक्षित ईभी म्याक्स सार्वजनिक गरेको छ। सरकारको १०० किलोवाटभन्दा माथिका गाडीमा कर बढाएसँगै एमजीको जेटएस नभित्रिँदाको फाइदा टाटालाई भयो। 

बीवाईडी र एमजीको जेटएस मोटर परिमार्जन भएर नेपाल भित्रिँदा नेक्सन ईभीको मागमा ब्रेक लागेको थियो। टाटाले एमजीलाई टक्कर दिँदै बढी रेन्ज दिने ईभी म्याक्स सार्वजनिक गरेको छ। टाटाको ईभी म्याक्स एकपटकको चार्जमा ३०० किलोमिटर सजिलै गुड्छ। 

‘नेक्सन ईभी म्याक्सले टाटाको बजार हिस्सा स्थिरताका लागि सहयोग पुर्‍याउने छ’, राणाले भने, ‘ईभी म्याक्ससँगै भविष्यमा भित्रिने नयाँ मोडलका बढी रेन्ज दिने र फरक मूल्यका टाटाका गाडीले बजार हिस्सालाई झन बढाउँदै लैजाने छ।’

विभिन्न औपचारिक पेसामा आवद्ध युवा जस्तै- बैंकर, इन्स्योरेन्स, डाक्टर, कानुनी क्षेत्रमा आवद्धलाई ईभी म्याक्सले आकर्षित गर्ने छ। उनले पेट्रोल इन्जिनको गाडी भन्दा पनि सस्तोमा उपलब्ध रहेको बताए। 

उनले नेपाली बजारको माग र आवश्यकताअनुसार टाटाका नयाँ प्रोडक्ट भित्रिने जानकारी पनि दिए। टाटा मोटर्सले विद्युतीय गाडीमा आफ्नो लगानी बढाएको छ। टाटाले अल्ट्रोज ईभी, पन्च ईभी,  ईभी सियरा उत्पादन गर्दै छ। 

नेपालमा नयाँ गाडी सार्वजनिक गरे पनि आर्थिक अवस्थाका कारण उत्साहित हुने अवस्था नरहेको उनी बताउँछन्। 

‘तत्कालका लागि आर्थिक मन्दीमा जस्तै छौं। ब्याजदर उच्च हुँदा जागिर गर्नेलाई अप्ठेरो भइरहेको छ’, उनले भने, ‘मासिक किस्ता बढ्दा व्यवस्थापनमा समस्या भएको छ। निकट भविष्यमै ब्याजदर घट्ने र अर्थतन्त्र सुधार हुँदा व्यापार बढ्दै जाने आशा छ।’

नेपालमा टाटा मोटर्सको प्यासेन्जर भेहिकल नम्बर १ रोजाइमा पर्नु एक ‘केस स्टडी’का रुपमा हेर्न सकिने दाबी पनि उनले गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .