ad ad

कारोबार


लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा अन्तर्राष्ट्रिय वित्तीय सम्मेलन

लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा अन्तर्राष्ट्रिय वित्तीय सम्मेलन

नेपालखबर
जेठ २, २०८० मंगलबार १८:१, काठमाडौँ

लगानी बोर्ड नेपालको कार्यालय र स्ट्याण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजनामा एक दिवसीय नेपालका लागि वित्तीय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक पत्रकार समाज–नेपाल (सेजन) को सहकार्यमा ‘नेपालका लागि वित्तीय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन’ २०२३ को आयोजना गरेको हो।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै  प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनले आर्थिक र सामाजिक विकासका लागि आवश्यक पर्ने नवीनतम वित्तीय उपकरण र उपाय प्रस्तुत गर्ने र कानुनी, निजी लगानी प्रवर्द्धन, सहजीकरण र प्रोत्साहन गर्न संस्थागत र प्रक्रियागत सुधार गर्ने प्रतिवद्धता जनाए।

सम्मेलनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूले योगदान गरेका सुझावलाई आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा समावेश गर्न सकिने भएकाले सम्मेलन समयसापेक्ष भएको प्रधानमन्त्रीले बताए।

कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राडा अच्युत वाग्ले, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार, स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेका वरिष्ठ दिगोपन सल्लाहकार डा. जोन मर्टन र सेजनका अध्यक्ष जनार्दन बरालले उद्घाटन सत्रलाई सम्बोधन गरे।

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका अतिरिक्त स्रोत परिचालनका लागि आवश्यक पर्ने नयाँ वित्तीय साधनको महत्वमा जोड दिँदै विद्यमान संरचना र व्यवस्थामा उपलब्ध स्रोतसाधनलाई ‘रिप्याकिङ’ गरेर मात्रै हुँदैन भन्ने धारणा राखे।

लगानी बोर्ड नेपाल (आइबीएन) का प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विभिन्न वित्तीय स्रोतबाट प्राप्त स्रोतको मिश्रणले आयोजनाको प्रतिफल बढ्ने र लगानीकर्ताले अवसरको लागतमा उचित क्षतिपूर्ति पाउन सक्ने धारणा राखे।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका सीईओ अनिर्वाण घोष दस्तिदारले भने, ‘दिगो फाइनान्सले नेपाललाई थप दिगो र न्यून कार्बन उत्सर्जन गर्न आवश्यक रकम र सहयोग प्रदान गरी नवीकरणीय ऊर्जाको सम्भावनालाई सदुपयोग गर्न मद्दत गर्न सक्छ। भविष्यमा हामीले दिगो लगानीलाई गति दिनु पर्छ र नेपालमा यसको दायरा बढाउनु पर्छ।’

त्यस्तै, प्राध्यापक डा. अच्युत वाग्लेले सार्वजनिक वित्तका आफ्नै सीमितता भएकाले नेपालको महत्वाकांक्षी विकास लक्ष्य हासिल गर्न नयाँ वित्तीय साधनको खोजी र प्रयोगमा जोड दिए।

सम्मेलनमा लगानीको समष्टिगत अर्थशास्त्र, नेपालमा लगानी सम्बन्धी कानुनी, संस्थागत र कार्यान्वयन व्यवस्था, स्रोत परिचालन र अवरोध रोकथामका औजार र वित्तीय क्षेत्रका बारेमा प्राविधिक सत्रहरु सञ्चालन गरिएको थियो।

सम्मेलनको समापन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नुभएको थियो।

सो अवसरमा बोल्दै गभर्नरले नेपालको आर्थिक बजेट र मौद्रिक नीति तर्जुमा गर्न यो सम्मेलन उपयोगी हुने धारणा राखे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .