भारतका उद्योग तथा वाणिज्य मन्त्री पियुस गोयलले भारतबाट नेपालमा र नेपालबाट भारतमा लगानी बढेको देख्न चाहेको बताएका छन्।
उद्योग परिसंघ भारत र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको भारत–नेपाल बिजनेस समिटमा उनले नेपालको बढ्दो अवसरमा भारतका लगानीकर्तालाई प्रोत्साहन हुने बताए।
‘नेपालको बढ्दो अवसरमा भारतीय लगानीकर्तालाई प्रोत्साहन गर्न चाहन्छु,’ समिटमा सम्बोधन गर्दै गोयलले भने, ‘भारतले विश्वास गर्छ की दक्षिण एसियाका विकासउन्मुख राष्ट्र भारत र नेपाल मिलेर विकासको काम गर्नुपर्छ।’
नेपाल–भारत एउटै परिवारको सदस्यको रुपमा लिनुपर्ने बताएका छन्। गोयलले भारतलाई ठूलदाइ नेपाल सानो भाइको रुपमा लिन नहुने बताए।
समिटमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ९ वर्षमा गरेका कामको उल्लेख गरेका छन्। अर्थतन्त्रको आधारमा भारत विश्वको प्रमुख ५ देशको रुपमा पुगेको बताउँदै अबको ३–४ वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हुने विश्वास गरे। १ अर्ब ४० करोड भारतीयले ३.५ ट्रिलियन डलरको अर्थतन्त्र बनाउन सहकार्य गरिरहेको उनले बताए।
कोभिड महामारी र रुस–युक्रेन युद्धबीच भारतले अघिल्लो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको सुनाए।
समुन्नत र समृद्ध भविष्यको लागि नेपाल र भारतले सँगै मिलेर काम गर्न सक्ने बताए।
‘जलविद्युत, पूर्वधार निर्माण, पर्यटन प्रवर्द्धन गर्न दुवै देश मिलेर काम गर्नुपर्छ,’ उनले भने।
धेरै भारतीय पशुपतिनाथ मन्दिर, बुद्ध जन्मस्थल लुम्बिनी, मुक्तिनाथ मन्दिर जान मन पराउने उनले बताए।
स्टार्टअप इकोसिस्टममा दुई देशबीचको सहकार्यमा अघि बढाउन सकिने मन्त्री गोयलको भनाई छ।
‘भारतमा पछिल्लो ७ वर्षमा ४०० स्ट्र्टअपबाट एक लाख बढी स्टार्टअप स्थापना भएका छन्। व्यवहारिक वा दैनिक समस्या समाधान गर्न भारतीय र नेपाली युवा मिलेर काम गर्न सक्छन्’ उनले भने, ‘माइक्रो, साना र मध्यमखालका व्यवसायमा सहकार्य गर्ने थुप्रै ठाउँ छन्। व्यवसायीहरु आफ्ना अनुभव आदान प्रदानगरी व्यवसायिक अवसर लिन सक्छन्।’
मन्त्री गोयलले थपे, ‘व्यवसायिक समुदायलाई फेलियर हुने छुट छैन। हाम्रो विकल्प भनेको सामुहिक प्रयास हो। जसले सफलता ग्यारेन्टी गर्छ।’
नेपालमा सिर्जना हुने अवसर र नेपालले भोग्ने अप्ठेरामा भारतको सधैँ साथ र सहयोग हुने विश्वास व्यक्त गरे।
नेपाली र भारतीय व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको प्रवर्द्धन बिना अर्थतन्त्रलाई उकास्न नसकिने बताएका छन्। नेपालमा लगानी गर्नेलाई राम्रो अवसर भएकाले लगानी गर्न आग्रह गरेका थिए।
भिडिओ
Shares
प्रतिक्रिया