नेपाल राष्ट्र बैंकले २०८० असारसम्म एकापसमा गाभिने वाणिज्य बैंकलाई आधा दर्जन सुविधा दिने भएको छ।
मंगलबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै २०८० असारभित्र एकीकृत कारोबार सुरु गर्ने वाणिज्य बैंकहरुले सुविधा पाउने जानकारी दिएको हो।
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, ‘वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट सुविधा तथा छुट प्रदान गरिनेछ।’
२०७९ पुस मसान्तसम्म मर्ज भई एकीकृत कारोबार सुरु गर्न नसकेका हिमालयन र सिभिल मर्जरको अन्तिम तयारीमा रहेका लक्ष्मी र सनराइज बैंकले यी सुविधा पाउन सक्नेछन्।
अन्य १० बैंकले गत पुसअघि नै एकीकृत कारोबार सुरु गरेका थिए।
नबिल र नेपाल बंगलादेश, प्रभु र सेन्चुरी, कुमारी र नेपाल क्रेडिट एन्ड कमर्स, नेपाल इन्भेस्टमेन्ट र मेगा, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले गत पुस मसान्तसम्ममा एकीकृत कारोबार सुरु गरिसकेका छन्।
यस्ता छन् छुट तथा सुविधा
(१) तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने।
(२) सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने।
(३) एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने।
(४) गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने।
(५) यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने।
(६) एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरीभित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म यस बैंकको स्वीकृति आवश्यक नपर्ने।
Shares
प्रतिक्रिया