प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन्।
बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने अध्यक्ष ओलीले बताए।
मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले अहंकारलाई झारिदिने चेतावनी दिए।
ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै बाटो नदेखाएकाले सच्याउन उपयुक्त हुने जिकिरसमेत गरे।
‘अब यहाँ सत्ता अहंकार हुन्छ। बजेट सच्याउन मिल्दैन। बजेट सच्याए वापत सरकार असफल भयो भन्दैनौँ हामी। सच्याउनुस्। सरकार असफल भयो, सरकारले बजेट फेर्यो भन्दैनौं हामी’, उनले भने, ‘सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ। तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिँदैन। हामी जो बाहुबली छौँ, टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईंको सत्ता अहंकारको भूत परिणामले झारिदिनेछ।’
अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दाबीसमेत गरेका छन्।
Shares
प्रतिक्रिया