नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ संशोधन गरी स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ।
धितोपत्र कारोबारी दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरुको बदमासी रोक्न धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ संशोधन गरी स्वीकृतिको लागि बोर्डमा पठाएको हो।
धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् उक्त संशोधित विनियमावलीले लगानीकर्ता र ब्रोकरबीच एकाग्रता बढाउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरी पराजुलीले बताए।
‘यस विनियमावलीले ब्रोकर कम्पनीलाई गाइड गर्छ’, उनले भने, ‘साथै नयाँ ब्रोकर थपिँदै जाँदा उनीहरुलाई नेप्सेको सदस्यता लिनसमेत विनियमावलीले गाइड गर्नेछ।’
पछिल्लो समय १८ वटा ब्रोकर कम्पनी थपिएका छन्। योसँगै ब्रोकरको संख्या ६८ पुगेको छ।
साथै, ब्रोकरले तीन किसिमका काम गर्न पाउनेछन्। चुक्ता पुँजीका आधारमा नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई तीन किसिमका काम गर्न पाउने व्यवस्था गरेको हो।
सीमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलरको काम गर्न पाउने व्यवस्था गरिएको हो। यसअघि सबै ब्रोकर कम्पनीले एकै किसिमका काम गर्न पाउने व्यवस्था थियो।
साथै, बोर्डले नयाँ ब्रोकर लाइसेन्सको लागि २५ कम्पनीलाई आसयपत्र (एलओआई) दिएको छ। यी कम्पनीले पूर्वाधार तयार गरेपश्चात बोर्डले यी २५ कम्पनीलाई ब्रोकर लाइसेन्स दिनेछ।
नयाँ ब्रोकर थपिँदै जाँदा नेप्सेले बोक्रर कम्पनी गाइड गर्न विनियमावली संशोधन गरी बोर्डमा पठाएको जनाएको छ।
‘पहिले फिजिकल उपस्थितीमा हुने सेयर कारोबार अहिले कहाँ पुगिसक्यो। त्यो अवस्थामा ब्रोकरको भूमिका कस्तो हुन्थ्यो, अहिले पनि सोही अनुसार भइरहेको छ’, उनले भने, ‘अब त त्यसलाई परिमार्जन गर्नुपर्यो। अब ब्रोकरको भूमिका के हुन्छ? ब्रोकरको रोल उल्लेख गर्नुपर्यो नी?’
संशोधन गरेको विनियमावली नेपाल धितोपत्र बोर्डले स्वीकृति पश्चात नेप्सेले कार्यान्वयन गर्नेछ।
‘२०५३ सालतिर नेप्सेमा फिजिकल कारोबार हुन्थ्यो। अहिले कारोबारसँगै पेमेन्ट पनि इलेक्टोनिक ट्रान्सफर हुन्छ’, उनले भने, ‘अनलाइन कारोबार सुरु भएपछि कारोबारको भोलुम समेत बढेको छ। भर्चुअल कारोबारको कन्टेक्स कस्तो हुन्छ? त्यसलाई परिमार्जन गर्नुपर्यो नी।’
कारोबार डिजिटलाइज हुँदा कारोबार समेत बढेको छ। भोलुम बढ्दै जाँदा संशोधन गर्नुपर्ने अवस्था आएको हो, उनले भने।
धितोपत्र सदस्यता तथा सुपरिवेक्षण नियमावली अन्तिम तयारीमा
पराजुलीले धितोपत्र सदस्यता तथा सुपरिवेक्षण विनियमावली अन्तिम तयारीमा पुगेको बताए। उनका अनुसार विनियमावली सञ्चालक समितिबाट पास गराएर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाउने तयारी छ।
नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स वितरण गर्न थालेपछि नेप्सेले पनि सदस्यता तथा सुपरिवेक्षण विनियमावली बनाउने भएको हो।
ब्रोकर कम्पनी तथा स्टक डिलर कम्पनीलाई कसरी प्रभावकारी रुपमा मार्गदर्शन गर्ने भन्ने विषय समेटेर विनियमावली बनाइने भएको हो।
कसरी सदस्यता दिने, ती संस्थालाई अनुगमन र गाइड कसरी गर्ने भन्ने विषय विनियमावलीले समेट्ने पराजुलीले बताए।
‘पहिले सदस्यता र कारोबारको विनियमावली एउटै थियो। अब दुइटा बन्ने भयो,’ उनले भने।
अहिले मस्यौदा भइरहेको विनियमावली २०५५ सालमा बनेको भन्दा परिष्कृत र समय सुहाउँदो प्रावधानसहितको रहेको उनले बताए।
के भन्छ बोर्ड?
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ बोर्डमा आएको जानकारी दिए।
उक्त विनियमावली अध्ययन गरी स्वीकृतिको प्रक्रिया अगाडि बढ्ने श्रेष्ठले बताए।
Shares
प्रतिक्रिया