चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गा कारोबार सबैभन्दा बढी भएको छ। जेठमा कुल १ लाख ५६ कारोबार मध्ये लिखित पारित मात्रै ५५ हजार पुगेको हो।
जेठ महिनामा कूल कारोबारमध्ये ४ हजार ७१९ वटा नामसारी भएका छन्। अपार्टमेन्ट कारोबार भने अघिल्ला महिनामा भन्दा घटेको छ। लिखित पास बढी हुने जिल्लामा मोरङ र सुनसरी रहेका छन्।
मालपोत कार्यालय बेलबारीबाट २ हजार ८९, इनरुवा सुनसरीमा २ हजार ४६०, झापाको भद्रपुमा १३ सय ३७ र दमकमा १२ सय ९६ वटा लिखित पास भएका छन्। जनकपुरधाम धनुषामा १८ सय ७४ वटा कारोबार भएका छन् भने पर्सामा १५ सय ४० वटा लिखित पास भएका छन्।
पश्चिममा नेपालगञ्ज बाँकेमा १९ सय ७० र धनगढीमा १२ सय ७० वटा लिखित पास भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ।
वैशाखमा १ लाख १८ हजार कूल कारोबार हुँदा लिखित पास ४२ हजार ४६१ मात्रै भएका छन्। नामसारी ३ हजार ३७३ वटा भएका छन्। यस अवधिमा अपार्टमेन्ट लिखित पास ३० वटा मात्रै भएका छन्।
चालु आर्थिक वर्षको सबैभन्दा बढी चैतमा कारोबार अर्थात १ लाख ४२ हजार कूल कारोबार हुँदा लिखित पास ४९ हजार १५० भएको थियो। नामसारी ४ हजार ७७६ र अपार्टमेन्ट लिखित पास ३८ वटा भएका थिए।
जग्गा कित्ताकाटको संख्या पनि ४७ हजार ५५९ कित्तालाई १ लाख ८ हजार वटा बनाइएको छ।
जेठ महिनामा राजश्व ३ अर्ब ७५ करोड
जेठमा घरजग्गा कारोबार सबैभन्दा बढी हुँदा वैशाखको तुलनामा राजश्व बढेपनि चैतको तुलनामा कम उठेको छ।
देशभरका १२८ वटा मालपोत कार्यालयबाट ३ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन भएको छ। जसमा सेवा कर वापत २८ करोड, रजिष्ट्रेशन दस्तुर २ अर्ब ४२ करोड, पुँजीगत लाभकर १ अर्ब २८ करोड, काठमाडौं उपत्यकामा बागमती सभ्यताका लागि ९ करोड ८१ लाख र मधेश प्रदेशमा मुख्यमन्त्री स्वछता अभियान कोष शुल्क वापत ३ करोड ७७ लाख रुपैयाँ उठेको छ।
वैशाखमा घरजग्गा कारोबारबाट सरकारले राजश्वबापत ३ अर्ब ६८ करोड रुपैयाँ मात्रै उठाएको थियो भने चैतमा कारोबार बढ्दा राजश्व ४ अर्ब ५१ करोड रुपैयाँ उठेको थियो।
घरजग्गाको मूल्यांकन काठमाडौं उपत्यकामा बढी भएकाले राजश्व पनि बढी उठ्ने गरेको छ। ललितपुरको लगनखेल कार्यालयबाट ३१ करोड, भक्तपुरबाट २३ करोड, काठमाडौंको डिल्लिबजारबाट १९ करोड, चाबहिलबाट २० करोड र कलंकी कार्यालयबाट २१ करोड रुपैयाँ राजश्व उठेको छ।
काठमाडौं बाहिर बढी कारोबार भएको इनरुवाबाट ११ करोड, चितवनबाट १५ करोड, कास्कीबाट १४ कारोड रुपैयाँ राजश्व उठेको भूमि व्यवस्था तथा अभिलेख विभागले उल्लेख गरेको छ।
रियल स्टेटमा ५ खर्ब ८९ अर्ब ऋण लगानी
बैंकहरुले व्यवसायिक र निजी घरमा ५ खर्ब ८९ अर्ब बढी रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वैशाखसम्मको तथ्यांक अनुसार व्यवसायिक क्षेत्रमा २ खर्ब ४२ अर्ब र व्यक्तिगत घर कर्जामा ३ खर्ब ४७ अर्ब लगानी गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाले १५ लाखसम्मको व्यक्तिगत घर कर्जा पनि बढाएका छन्। वित्तीय संस्थाले वैशाख मसान्तसम्म ३ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा १५ लाखसम्मको व्यक्तिगत घर कर्जाबापत ३ खर्ब ३८ अर्ब रुपैयाँ प्रवाह गरेका थिए।
गत वर्षको तुलनामा व्यक्तिगत घर कर्जामा बैंकहरुले ९ अर्ब कर्जा लगानी बढाएका छन्।
चालु व्यवसायिक रुपमा कारोबार हुने रियल स्टेटमा वित्तीय संस्थाहरुले २ खर्ब ४२ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा घर जग्गामा बैंक तथा वित्तीय संस्थाहरुले २ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। चालु आर्थिक वर्षमा २२ अर्ब रुपैयाँले कर बढेको छ।
त्यसैगरी वित्तीय संस्थाले वैशाख मसान्तसम्म घर जग्गा (१५ लाख सम्मको व्यक्तिगत घर ऋणबाहेक) ६४ अर्ब ८४ करोड कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्ष बैंकहरुले ६७ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्रको लगानी बढाएका छन्। गत वर्ष वैशाख मसान्तमा यस्तो क्षेत्रमा २५ अर्ब ३ करोड गरेको कर्जा प्रवाह गरेकोमा यो वर्षको वैशाखसम्म बढेर ३० अर्ब ३ करोड पुगेको छ।
जग्गा खरिद र प्लटिङसहितको क्षेत्रमा १ खर्ब ३५ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। गत वर्ष त्यही अवधिमा बैंकहरुले यस क्षेत्रमा १ खर्ब २० अर्ब १४ करोड लगानी गरेका थिए। जग्गा खरिद र प्लटिङमा १५ अर्ब रुपैयाँले कर्जा बढेको छ।
Shares
प्रतिक्रिया