ad ad

कारोबार


आर्थिक वर्ष सकियो : जनार्दन शर्माको लक्ष्यभन्दा साढे ३ खर्ब कम खर्च

विष्णु पौडेल संशोधित लक्ष्य नजिक
आर्थिक वर्ष सकियो : जनार्दन शर्माको लक्ष्यभन्दा साढे ३ खर्ब कम खर्च

नेपालखबर
असार ३१, २०८० आइतबार २१:३९, काठमाडौँ

चालू आर्थिक वर्षको बजेटको सुरुमा लिएको लक्ष्यभन्दा निकै कम खर्च भएको छ। आर्थिक वर्ष २०७९/८० आजदेखि सकिएको छ। 

आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्यको करिब ३ खर्ब ५० अर्ब रुपैयाँ खर्च भएको हो।

आर्थिक वर्षको बजेट कार्यान्वयन तीन जना अर्थमन्त्रीले कार्यन्वनय गरे। बजेट सार्वजनिक जनार्दन शर्माले गरे भने बीचमा अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आए। अहिले अर्थमन्त्री प्रकाशशरण महत छन्। 

जनार्दन शर्माले बजेट सार्वजनिक गर्दा १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेका थिए। 

अर्धवार्षिक समीक्षामार्फत् विष्णु पौडेलले भने त्यसको लक्ष्य १५ खर्ब ४९ अर्ब रुपैयाँमा झारिदिएका हुन्। फागुनमा भएको मध्यावधि समीक्षामा बजेट खर्चको लक्ष्य घटाइदिएका हुन्। 

उनले प्रस्तुत गरेको लक्ष्य पनि पुगेको छैन। आज राति १२ बजेटसम्म भएको खर्च चालू आर्थिक वर्षको खर्चमा मान्य हुनेछ। 

यो अवधीसम्म १४ खर्ब ५० अर्ब रुपैयाँ कूल खर्च आउने अनुमान छ। खर्चको लेखाजोखा राख्ने निकाक महालेखा नियन्त्रकको कार्यालयले १४ खर्ब ५० अर्ब रुपैयाँको भुक्तानी हुने सम्भावना रहेको बताएको छ। यद्यपी शनिबारसम्मको खर्च १४ खर्ब २८ अर्ब रुपैयाँ देखिएको छ। 

यो अवधिको खर्चको भुक्तानीमा केही हिसाबकिताबमा फरफार गर्नुपर्ने समेत देखिएकोले आज १ दिनको समेत खर्च जोड्दा १४ खर्ब ५० अर्ब हाराहरी पुग्ने अनुमान गरिएको महालेखाले जनाएको छ। 

यसले कूल बजेट खर्च ८० प्रतिशत नाघ्ने देखिएको हो। 

शनिबारसम्मको खर्च हेर्दा चालू खर्च १० खर्ब भइसकको छ। पूँजीगत खर्च २ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ भने वित्तिय व्यवस्थापन १ खर्ब ८९ अर्ब रुपैयाँ खर्चिएको छ। सबै खर्च सुरुको लक्ष्यभन्दा निकै कम देखिएको हो।

७ महिना अवधिसम्मको स्थिति निकै कमजोर देखिएकोले फागुनमा विष्णु पौडेल अर्थमन्त्री रहँदा अर्थमन्त्रालयले आफ्नो लक्ष्य संशोधन गरेको थियो। जसमा २ खर्ब ४४ अर्ब खर्च गर्न नसकिने बताएको थियो। जुन अंक अझै बढेको हो। 

अर्थमन्त्रालयले फागुनमा गरेको संशोधनमा चालू खर्चमा १ खर्ब ६१ अर्ब ३१ करोड घटाएको थियो।  ११ खर्ब ८३ अर्ब २३ करोडको चालु खर्चलाई १० खर्ब २१ अर्ब ९२ करोडमा घटाएको थियो। 

पूँजीगत खर्चको लक्ष्यपनि सरकारले ६६ अर्ब ५३ करोडले घटाएको थियो। ३ खर्ब ८० अर्ब ३८ करोडको पूँजीगत खर्चलाई ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा घटाइएको थियो।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोडको बजेटलाई २ खर्ब १४ अर्ब २१ करोडमा झारिएको थियो। यसरी झारिनुमा अर्थमन्त्रालयले आम्दानीको स्रोतसमेत खुम्चिएको जनाएको थियो। 

जसअनुसार राजश्वको लक्ष्य पनि निकै कमजोर छ। आर्थिक वर्ष सकिँदासम्म लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएको छ। आन्तरिक ऋण बाहेक अन्य स्रोतको रकम लक्ष्यभन्दा कम संकलन भएको छ।

भरपर्दो स्रोत मानिएको राजश्व निकै कमजोर बनेको छ। चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा १४ खर्ब ३ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने भनिएकोमा शनिबारसम्म ९ खर्ब ३५ अर्ब संकलन भएको र अन्तिमसम्म साढे ९ खर्ब ५० अर्ब हाराहरीमा पुग्ने अनुमान छ। 

त्यसो त अर्धवार्षिक समीक्षामा राजश्वको पनि लक्ष्य संशोधन भएको थियो। १२ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन हुने अनुमान गरिएको थियो। तर संशोधित लक्ष्यभन्दा पनि निकै कमजोर राजश्व संकलन हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .