ad ad

कारोबार


आन्तरिक उडानमा यती एयर आक्रामक, एकसाथ भित्र्यायो २ जहाज, यसै वर्ष आईपीओ

सन् २०२५ सम्म एटीआर-७२ जहाज १० वटा पुर्‍याउने लक्ष्य
आन्तरिक उडानमा यती एयर आक्रामक, एकसाथ भित्र्यायो २ जहाज, यसै वर्ष आईपीओ

नेपालखबर
माघ १८, २०८० बिहिबार १८:२४, काठमाडौँ

निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले २ वटा एटीआर–७२ जहाज भित्र्याएको छ।

ती जहाज बिहीबार साँझ ५ः२० र ५ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेका हुन्।

एयरलाइन्सले आन्तरिक उडानमा प्रतिस्पर्धी क्षमता विस्तार गर्न २ जहाज बंगलादेशबाट ल्याएको जनाएको छ।

यती एयरलाइन्सले अहिले उडान गरिरहेका गन्तव्यमा उडान थप गर्ने योजना बनाएको छ।  नयाँ वायुयानले ‘नाइन–एन एओएफ’ र ‘नाइन–एन एओएच’ कल साइन पाएका छन्। 

यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आन्तरिक हवाई सेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने नीति ल्याएको बताएका छन्। जहाज थप गरेसँगै यात्रुहरूलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ।

खरिद गरिएका विमानहरू यतीका क्याप्टेनहरूले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

‘नयाँ जहाज आए पनि तत्काल नयाँ गन्तव्य थप हुँदैन,’ बर्तौलाले भने, ‘अहिले भइरहेका गन्तव्यमा उडान थप गरी यात्रुलाई अझ सहज बनाउँछौं।’

कम्पनीले आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि थपिएका जहाजमार्फत् उडान सेवा दिनेछ। 

यती एयरलाइन्स २०७४ सालसम्म जेट स्ट्रिम विमानमार्फत् आन्तरिक उडान गरिरहेको थियो।

२०७४ साउनमा पहिलो एटीआर–७२ जहाज भित्र्याएको थियो।

यती एयरलाइन्ससँग यसअघिसम्म ५ वटा एटीआर–७२ जहाज थिए। अब यस्ता विमान ७ वटा भएका छन्।

एटीआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ। ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ। अन्य विमानभन्दा आवाज र कम्पन कम हुने भएकाले आरामदायी हुने बताइन्छ। 

पीडब्लु–१२७ इन्जिन रहेको एटीआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । सन् २०२५ को सुरुवातसम्म १० वटा एटीआर ७२ जहाज पुर्‍याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ। 

‘सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्‍याउने लक्ष्य रहेको छ,’ सीईओ सापकोटाले भने, ‘यसले गुमेको बजार हिस्सा कायम गर्दै यात्रुहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्नेछ।’

यतीले प्रवर्धक सेयरधनी नै नयाँ भित्र्याएर पब्लिक कम्पनी बन्ने तयारी गरेको छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा नियुक्त भइसकेका छन्।  

यती एअरलाइन्स हालसालै एसियन लाइफ इन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्र्याएको लिमिटेड कम्पनी भएको छ। यसै वर्षभित्र सर्वसाधारणका लागि आईपीओ जारी गर्ने लक्ष्य राखेको छ। 

यती एयरलाइन्स स्थापना भएको २५ वर्ष भइसकेको छ। आङ छिरिङ शेर्पाले एयरलाइन्सको स्थापना गरेका थिए। थामशेर्कु ग्रुपअन्तर्गतको यस कम्पनीले काठमाडौं विमानस्थललाई बेस बनाएर भद्रपुर, भैरहवा, विराटनगर, जनकपूर, नेपालगञ्ज, पोखरा, सिमरा उडान गरिरहेको छ। काठमाडौंबाट सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइट पनि सञ्चालन गरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ चार्टर्ड र नन–सेड्युल उडानसमेत गर्दै आएको छ।   

यती एयरकै भगिनी संस्था तारा एयरले नेपालका दुर्गम विमानस्थलमा सना जहाजमार्फत् सेवा प्रदान गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .