ad ad

कारोबार


नेपाल टेलिकमको २०औँ वर्षगाँठ, सञ्चारमन्त्री भन्छिन्– १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त बनाउँछौँ

नेपाल टेलिकमको २०औँ वर्षगाँठ, सञ्चारमन्त्री भन्छिन्– १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त बनाउँछौँ

नेपालखबर
माघ २२, २०८० सोमबार १७:२६, काठमाडौँ

नेपाल टेलिकमले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव कार्यक्रम आज (२०८० माघ २२ गते) सम्पन्न गरेको छ। 

कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो। 

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले अध्यक्षता गरेका थिए। 

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उपभोक्ताको चाहनाअनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानीय तहसम्म सेवा पुर्‍याउन सहयोग गर्ने सबै कर्मचारी र सम्बद्ध पक्षहरुमा धन्यवाद ज्ञापन गर्दै ग्राहकलाई सर्वसुलभ तथा भरपर्दो रुपमा सेवा प्रदान गर्ने खालका नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु जरुरी भएको बताइन्। 

पूर्वाधार विकास, सेवा पहुँच र सेवा विस्तार लगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै मन्त्री शर्माले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि आवश्यक कार्य गर्न निर्देशन दिइन्। 

सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताउँदै मन्त्री शर्माले कम्पनीको प्रगतिलाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना बनाउन पहल गर्नु आवश्यकता औँल्याइन्। कम्पनीको ऐतिहासिक विरासत कायम राख्न र आयमा वृद्धि गर्न सम्पूर्ण संयन्त्र परिचालन गर्न समेत मन्त्री शर्माले निर्देशन दिइन्। 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले कम्पनीले संस्थागत सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए। आन्तरिक कार्य वातावरण चुस्त बनाउँदै निर्णय प्रक्रिया, कार्य पद्धति र संस्थागत संरचनामा सुधार गरी प्रगतिशील संस्थाका रुपमा कम्पनीलाई विकास गर्नुपर्ने बताए। 

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा नेपाल टेलिकमको अहम् भूमिका रहेको उल्लेख गर्दै प्रविधिको परिवर्तनसँगै कम्पनीलाई समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको र सो का लागि नियामक निकायको तर्फबाट सहयोग, समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। सेवाको कभरेज र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उनले यसका लागि टेलिकमकर्मी एकजुट भई लाग्नुपर्ने समेत बताए। 

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) शंकर लामिछानेले प्रतिस्पर्धी वातावरणमा मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरे। उनले सकारात्मक कार्य वातावरणको निर्माण गर्न कर्मचारी, व्यवस्थापक र नीति निर्माता बिच ऐक्यबद्धताको आवश्यकता रहेको समेत बताए। 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित  मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको बताइन्। एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन विभिन्न कार्य भइरहेको, हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको र जिल्लागत नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना दूरसञ्चार जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको बताइन्। 

कम्पनीले भूकम्प प्रभावित क्षेत्रका लागि विभिन्न सहुलियत प्रदान गरेको बताउदै प्रबन्ध निर्देशक पहाडीले आगामी दिनमा विभिन्न सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिने, सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइने र वीर अस्पताल लगायत सामुदायिक अस्पतालहरुमा कुरुवाहरुको लागि द्यभम(ऋगm ऋजबष्च उपलब्ध गराउने कार्यक्रम रहेको बताए। 

उनका अनुसार कम्पनीको २०औं वार्षिकोत्सवको अवसरमा कम्पनीका कर्मचारी ग्राहकवर्गको घरदैलामै पुगी टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसन्चार कार्यालय, सुन्धाराबाट ‘नेपाल टेलिकम अन ह्विल’ कार्यक्रम शुभारम्भ भई देशभर विस्तार हुने क्रममा रहेको छ। हाल सञ्चालनमा रहेको च्याटबटलाई स्तरोन्नति गरी एआई प्रविधिको एलएलएम (लार्ज ल्यांग्वेज मोडल)मा आधारित च्याटबटको सफ्ट लन्च गरिनेछ। 

त्यसैगरी एनटी एनिभर्सरी अफरअन्तर्गत विभिन्न सुविधाहरु उपलब्ध गराइएको छ। गत वर्षको एनिभर्सरी अफरअन्तर्गतको २० एमबीपीएस डाटा, एउटा टेलिफोन र एउटा एनटीटीभीसहितको एफटीटीएच कम्बो प्याकेज खरिद गरेका ग्राहकले साविकको भन्दा करिव १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज नवीकरण गर्न सक्नेछन्। नयाँ ग्राहक एवम् अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पिड अभिवृद्धि गरी २५० प्रतिशतसम्म पु¥याइएको कम्बो प्याकेज खरिद गर्न सक्नुहुनेछ। त्यसैगरी नयाँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क प्रदान गरिनेछ। 
    
कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान गरिएको थियो। साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .