ad ad

कारोबार


प्रविधि क्षेत्रमा उत्साह थप्दै सकियो क्यान इन्फोटेक, चार लाखद्वारा अवलोकन

प्रविधि क्षेत्रमा उत्साह थप्दै सकियो क्यान इन्फोटेक, चार लाखद्वारा अवलोकन

नेपालखबर
फागुन ७, २०७६ बुधबार १५:३९,

सूचना प्रविधिको क्षेत्रमा थप उत्साह थप्पै २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म चलेको प्रदर्शनीमा झण्डै ४ लाख अवलोकनकर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले जनाएको छ।

१ सय ७४ वटा स्टल राखिएको प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका सामग्री किनबेच भन्दा पनि नयाँ आविष्कार र सूचना प्रविधिको क्षेत्रमा लागेकाहरुलाई फाइदा पुग्नेगरी स्थान दिइएको थियो।

प्रविधिमा रुची राख्नेहरु उत्साहित
स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई २६ वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो। त्यस्तै, सूचना तथा सञ्चार प्रविधि (आईसिटी) पढाई हुने कलेजहरुका प्रोजेक्टहरुलाई पनि अलग्गै स्थान दिइएको थियो। प्रदर्शनीमा विद्यालय व्यवस्थापन, ई (टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने एप, स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल रहेका थिए।

त्यस्तै, सूचना प्रविधि विषयको पढाई हुने कलेजहरुका प्रोजेक्टलाई पनि छुट्टै स्थान दिइएको थियो। प्रदर्शनीले आफुहरुलाई धेरैसामु चिनाउन सहयोग पुगेको र प्रविधिको क्षेत्रमा थप अघि बढ्ने हौसला पाएको प्रदर्शनीमा सहभागी स्टार्टअप तथा कलेजहरुले जनाएका छन्।

‘हामीले अत्याधुनिक प्रिन्टर बनाएका थियौं। यो विषयमा बुझ्न चाहनेहरु धेरै रहेछन भन्ने लागेको थाहा पाइयो,’ प्रदर्शनीमा स्टल राखेका दिवस केसीले भने।

यस्तै पूल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने अस्मित सिलवालले क्यान इन्फोटेक प्रदर्शनीप्रति रहेको नकारात्मक धारणा बदल्न यसपटकको प्रदर्शनी सफल रहेको बताए।

क्यान इन्फोटेक ज्ञान बाड्ने साझा थलो बन्यो
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यसपटकको प्रदर्शनीले क्यान इन्फोटेकमा सामान किनबेच मात्रै हुन्छ भन्ने भ्रम चिर्न सफल भएको बताए। विगतका केहि प्रदर्शनीमा विद्युतीय सामग्री किनबेचलाई प्राथमिकता दिएको भन्दै आलोचना भएपछि क्यान महासंघले यसपटकदेखि नयाँ प्रविधिको प्रदर्शनी र ज्ञान आदानप्रदानलाई विशेष जोड दिएको छ।

‘सामान किनबेच अनलाइनबाट पनि हुन थाल्यो, क्यान इन्फोटेकमा नयाँपन दिन हामीलाई चुनौती थियो, यसपटकको प्रदर्शनीमा हामीले कारोबारलाई भन्दा पनि ज्ञान आदानप्रदानलाई जोड दियौं र सफल पनि भयौं,’ अध्यक्ष कुँवरले भने।

सूचना प्रविधिको आविष्कारमा नयाँ पुस्ताको आकर्षणबाट स्वयम क्यानले पनि धेरै कुरा सिक्न पाएको र सरकारसँग सहकार्य गरेर आविष्कारको क्षेत्रमा लाग्नेहरुलाई सधैँ साथ दिने उनको भनाई थियो।
अध्यक्ष कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ जुनसुकै बखत तयार रहेको बताए। सहरी क्षेत्रमा तीब्र विकास र उपयोग भइरहेको सूचना प्रविधिलाई गाउँगाउँसम्म लैजानुपर्नेमा उनले जोड दिए।

यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मूख्य सहरमा विस्तार गर्ने योजना अन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, बागमति प्रदेशको चितवन र प्रदेश ५ को बुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदैछ।

छुट अफरले थप आकर्षक बन्यो प्रदर्शनी
यस पटकको क्यान इन्फोटेकमा विभिन्न कम्पनीले दिएको छूट अफरमा दर्शकको विशेष चाँसो देखिएको थियो। एनसेलले १ रुपैयाँमै सिमकार्ड उपलब्ध गराएको थियो भने भ्वाइस कल र डाटा प्याकमा आकर्षक अफर समेत दिएको थियो। यस्तै इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, सुविसु, भायनेटलगायतका कम्पनीहरुले अवलोकनकर्ताहरुका लागि विभिन्न प्याकेजहरु दिएका थिए। मोबाईल, एसेसरिजलगायतका सामानमा बिभिन्न ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न अनेक छूट तथा अफरहरु राखेका थिए। केही कम्पनीले त ५० प्रतिशतसम्म छूट दिएका थिए।

क्यान इन्फोटेकमा पुरष्कृत
यस बर्षको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरु मध्यबाट आयोजकले उत्कृष्ठ कम्पनीमा एनसेल र भायनेटलाई छनोट गरी पुरष्कृत गरेको छ। त्यसैगरी उत्कृष्ठ स्टार्टअप र इनोभेसन तर्फ स्मार्ट क्लिक अटोमेसन सेवा (स्मार्ट घर, होमअटोमेशन) लाइ पुरष्कृत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .