ad ad

कारोबार


काठमाडौँमा ४ दिन चलेको विश्व बैंक आईडीए-२१ बैठकले के गर्‍यो निर्णय?

काठमाडौँमा ४ दिन चलेको विश्व बैंक आईडीए-२१ बैठकले के गर्‍यो निर्णय?

नेपालखबर
असार ८, २०८१ शनिबार १०:५०, काठमाडौँ

नेपालमा बसेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए-२१) को तेस्रो परिपूरण बैठकले आगामी सन् २०२५ देखि ०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ।

बैठकले ती (आईडीए) मुलुकका लागि तीनवर्षे रणनीतिको खाका तयार पारेको हो।

बैठकमा तीन दिनसम्म चलेको प्राविधिक सत्र (बन्दसत्र) मा आईडीए देशहरूको वित्तीय परिदृश्य (फाइनान्सियल सिनारिओ) सम्बन्धमा गहन छलफल गरिएको थियो।

यस्तै आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिक ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीबीच गहन छलफल भएको थियो।

बैठकले विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए मुलुकहरूका विकासको आकांक्षा सम्बोधन गर्न एतिहासिक रूपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको निष्कर्ष निकालेको छ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समिति संयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धी एतिहासिक हुने बताए।

‘पहिला आईडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो’, उनले भने, ‘अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ।’

बैठकले आईडीए मुलुकका जनताका लागि विद्युत् र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ। यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर वृद्धिमा जोड दिने रणनीति आईडीएले अघि सारेको उनले बताए।

आईडीएले समावेशी विकासको नीतिमा जोड दिँदै लैंगिक विभेद अन्त्य तथा महिलालाई मूलप्रवाहीकरणमा समावेश गर्न थप कार्यक्रम एवं रणनीति बनाउनेछ।

महिलालाई मूलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निचोड छ। विश्व बैंकको आगामी अक्टोबरमा हुने बैठकमा आईडीएका निष्कर्षबारे थप छलफल हुनेछ भने आगामी मंसिर २५ र २६ गते (डिसेम्बर १०-११) मा दक्षिण कोरियामा हुने आईडीए २१ को अन्तिम बैठकले तीनवर्षे रणनीति कार्यान्वयन गर्ने औपचारिक निर्णय गर्नेछ।

राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। शुक्रबार अर्थमन्त्री वर्षमान पुन अनन्तले बैठक समापन गरे।

विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो।

बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित उपाध्यक्ष र निर्देशक सहभागी थिए। यस्तै ६१ देशका  २ सयभन्दा बढी प्रतिनिधि बैठकमा उपस्थित थिए।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो।

विश्व बैंकले सन् १९६० मा स्थापना गरेको आईडीए विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी निकाय हो। यसले विकासमा पछि परेका तथा न्यून आय भएका गरिब मुलुकका लागि सहुलियतपूर्ण ऋण, अनुदान तथा बहुपक्षीय सहायता उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .