ad ad

कारोबार


धितोपत्र बोर्ड अध्यक्षमा २ जना मात्रै सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको राय

धितोपत्र बोर्ड अध्यक्षमा २ जना मात्रै सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको राय

नेपालखबर
असार ११, २०८१ मंगलबार १२:५, काठमाडौँ

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा उपस्थित दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ।

अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिको मागअनुसार धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्बन्धमा उक्त राय दिएको हो। 

समितिले असार २ र ५ गते छनोटमा परेका ५ जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणमा बोलाएको थियो। तर उनीहरुमध्ये २ जना मात्रै उपस्थित भए भने ३ जना अनुपस्थित रहेका थिए। 

धितोपत्रसम्बन्धी ऐनअनुसार ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुँदा अन्तर्वार्तामा उपस्थित २ जनालाई मात्रै सिफारिस गर्ने नगर्ने अन्योल भएपछि महान्यायाधिवक्तासँग राय मागिएको थियो। 

महान्यायाधिवक्ताको कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने व्याख्या गरेको हो। अब अन्तर्वार्ताका लागि उपस्थित दुई जना र प्रस्तुतीकरणका आधारमा एक जना छनौट गरेर ३ जना सिफारिस गर्ने वा छनौटमा परेका ५ जनाकै नाम मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने भन्ने निर्णय समितिले नै लिनुपर्ने भएको छ। 

समितिले लिएको अन्तर्वार्तामा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोष श्रेष्ठ उपस्थित भएका थिए। छनौटमा परेका बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की अन्तर्वार्तामा अनुपस्थित थिए।

सोमबार संसद् बैठकमा अर्थमन्त्री वर्षमान पुनले महान्यायाधिवक्ताको कार्यालयले राय दिएपछि नियुक्ति प्रक्रिया अघि बढ्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .