‘यो हरियो खुर्सानीको मूल्य कति हो?’, तरकारी किन्न आएका एक ग्राहकले सोधे।
‘पाउको ५० रुपैयाँ,’ पसलकी साउनीले भनिन्।
‘५० रुपैयाँ ? कति महंगो,’ अचम्म मान्दै ती ग्राहकले पनि थपिहाले।
‘के गर्नु कालीमाटीमै किलोको २ सय ५० भन्दा माथि छ’, साउनीले भनिन्।
यो आइतबार बिहान पेप्सीकोला टाउनप्लानिङको एक तरकारी पसलमा भएको संवाद हो। लकडाउनले गर्दा बिहान ८ बजेपछि पसल खुला गर्न पाइँदैन। पसल खुलेको बेलामा उपभोक्ता तरकारीको जोहो गर्दै थिए।
यो संवादमा भनिएजस्तै बजारमा अहिले सबै प्रकारका तरकारीको भाउ अचाक्ली महंगो छ। दैनिक उपभोग्य तरकारीहरु सिमी, काउली, गोलभेँडा, घिरौंला, लसुनलगायतका तरकारीको बजार भाउ आकाशिएको छ।
सोही पसलमा गोलभेँडा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको थियो। जब कि यसको कालीमाटीको आइतबारको थोक मूल्य प्रतिकिलो ३८ रुपैयाँ मात्र छ।
खुद्रा व्यापारीहरु लकडाउनले गर्दा तरकारी महंगिएको बताउँछन्। त्यसमाथि बिहान र बेलुका केही समयमात्र पसल खुला गर्न पाइन्छ।
उपभोक्तालाई त्यही पनि नपाइने हो कि भन्ने चिन्ता छ। मूल्यभन्दा पनि जोहो गर्नमै व्यस्त छन् उपभोक्ता।
काठमाडौंको लागि तरकारीको थोक बिक्रेता कालीमाटी फलफूल तथा तरकारी बजारमा भने लकडाउनपछि तरकारीको भाउ सस्तिँदै गएको छ। कालीमाटी बजारको भाउ र उपत्यकाका खुद्रा तरकारी बजारको भाउ तुलना गर्दा निकै फरक भेटिन्छ।
लकडाउनको बाध्यतालाई खुद्रा व्यापारीले मौकाको रुपमा प्रयोग गरिरहेका कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन्।
‘अहिले तरकारीको भाउ धेरै सस्तिएको छ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘बजारमा भने निकै महंगोमा बिक्री भइरहेको छ।’
तरकारी सस्तो हुनुमा दुई कारण छन्।
पहिलो, मुलुकभर लकडाउनका अवस्था भए पनि तरकारीको आपूर्ति नियमित रुपमा भइरहेको छ। सामान्य अवस्थाभन्दा आधा आपूर्ति भइरहेको भए पनि निरन्तर भइरहेको छ।
श्रेष्ठका अनुसार पछिल्लो हप्ता औसतमा ४ सयदेखि साढे ४ सय टन तरकारी आपूर्ति भइरहेको छ। यो सामान्य अवस्थाभन्दा आधा हो। आपूर्ति भइरहेको तरकारीमध्ये ७५ प्रतिशत काठमाडौं वरिपरिका जिल्लाबाट आएको छ भने बाँकी भारतबाट आएको श्रेष्ठले बताए।
‘निरन्तर आपूर्ति भइरहेकाले तरकारीको अभाव छैन’, श्रेष्ठले भने।
तरकारी सस्तो हुनुको अर्को कारण खपत स्वात्तै घट्नु। दिनभर व्यापार हुने कालीमाटीमा बिहानमात्र केही समय खुल्छ। जसले गर्दा तरकारी बिक्री नै कम हुन्छ। आपूर्ति भइरहेको तर बिक्री कम हुँदा तरकारी स्टकमा रहेको श्रेष्ठले बताए।
‘हरेक दिन तरकारी स्टकमा रहन्छ’, श्रेष्ठले भने, ‘यसले गर्दा सस्तो हुँदै गएको छ।’
तरकारी खपत कम हुनुमा अर्को कारण पनि छ– केही उपभोक्ताले कोरोना भाइरसको जोखिमका कारण किन्न छोडेका छन्।
भारत वा कोरोना संक्रमण भएको क्षेत्रबाट तरकारी आउने र यो जोखिम पनि हुनसक्ने शंकाका कारण केही उपभोक्ताले बजारमा आइरहेको तरकारी समेत खान छोडेका हुन्।
यी सबै कारण कालीमाटी थोकमा तरकारी ६६ प्रतिशतसम्म सस्तो भएको छ। त्यही तरकारी बजारमा आइपुग्दा भने आधाभन्दा धेरै महंगो भएको उपभोक्ताको गुनासो छ।
७० प्रतिशतसम्म सस्तो
कालीमाटी बजारको मूल्य विवरणअनुसार मुलुकमा लकडाउन सुरु हुनुभन्दा अघि र आइतबारको मूल्य तुलना गर्दा ७० प्रतिशतसम्म सस्तिएको देखिन्छ।
चैत ११ गतेदेखि मुलुकमा लकडाउन सुरु भएको थियो। त्यसको ठीक अघिल्लो दिन चैत १० गते बोडीको मूल्य थोकमा प्रतिकिलो १ सय ३५ रुपैयाँ थियो। जुन तरकारी आइतबार प्रतिकिलो ४५ रुपैयाँमा झरेको छ। यस हिसाबले हेर्दा यसको मूल्य ६७ प्रतिशतले मूल्य घटेको छ।
भन्टा लाम्चो प्रतिकिलो ५५ रुपैयाँबाट २२ रुपैयाँमा झरेको छ। घिउ सिमी (लोकल) ४२ रुपैयाँबाट २२ रुपैयाँमा झरेको छ। त्यस्तै, घिरौला ९८ बाट ५५, ब्रोकाउली ४८ बाट ३३ रुपैया, हरियो फर्सी २८ बाट १८ रुपैयाँमा झरेको छ।
केही तरकारी मात्र अलि महंगिएको छ। जस्तो कि बन्दा १९ रुपैयाँबाट २२, रायो, पालुंगो, चमसुरलगायतका साग २२ बाट २८ रुपैयाँ भएको छ। अदुवा १२५ बाट १५५, कागती १३५ बाट ३४५, आलु रातो ३४ बाट ३६ पुगेको कालीमाटी बजारको विवरणमा उल्लेख छ।
प्रतिक्रिया