ad ad

कारोबार


कोरोनाका कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

कोरोनाका कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ८:१३,

कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ।

विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोना भाइरसका कारण अमेरिकासहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन)को अवस्थामा छन्।

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ। यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए। यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन्। यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो।

जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ। अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ, र यो अवस्था विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो।

मिजौरीको कन्सास शहरकी ५७ वर्षीय शारोन ब्रिजम्यानले दुई साता अघि रोजगारी गुमाए। उनी घरबारविहीन मानिसका लागि सेवा उपलब्ध गराउने एउटा गैरसरकारी संस्थामा कार्यरत थिए। उनी सरकारले उपलब्ध गराएको बेरोजगारी प्रोत्साहन भत्ताको पर्खाईमा छन्।

‘फेरि काम नपाइने हो कि भन्ने मलाई ठूलै चिन्ता लागेको छ,’ उनले भने, ‘मैले काम गर्ने मानिसहरुको अवस्था अझ कस्तो होला?’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि अर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर अडकलबाजी गर्नेहरुप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गरेका छन्। ‘मेरो विचारमा अर्थतन्त्र राम्रैसँग पुनर्जीवित हुनेछ।’

राष्ट्रपति ट्रम्पले बिमान सेवालाई कसरी मद्दत गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायात मन्त्रीसँग विचारविमर्श गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन सप्ताहान्तमा एउटा प्रस्ताव अघि बढाउन लागेको जानकारी दिए।

अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .