ad ad

कारोबार


सुक्न थाल्यो बैंकको नाफा, केहीले लाभांश वितरण गर्न नसक्ने जोखिम

सुक्न थाल्यो बैंकको नाफा, केहीले लाभांश वितरण गर्न नसक्ने जोखिम

दीपक भट्ट
बैशाख २८, २०७७ आइतबार १५:५४,

वाणिज्य बैंकहरुको नाफामा गिरावट आउन थालेको छ। चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा बैंकहरुको वितरण योग्य मुनाफा ऋणात्मक समेत देखिएको छ। जसका कारण केही बैंकले लाभांश वितरण समेत गर्न नसक्ने जोखिम बढेको छ।

केही बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा ठूलो गिरावट आएको र केही बैंकको हकमा सेयरधनीहरुलाई वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो।

बैंकले प्रत्येक ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने गर्छन्। उनीहरुले तेस्रो त्रैमासिक विवरण वैशाखभित्र सार्वजनिक गरिसक्नुपर्छ।

केही बैंकले ती विवरण सार्वजनिक गरिसकेका छन्।

बैंक अफ काठमान्डुको कुल नाफा गत वर्षको यो अवधिको तुलनामा २७ दशमलव ४९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको नाफा १ अर्ब २० करोड रहेकोमा चालु आर्थिक वर्षमा घटेर ८७ करोड ३४ लाख रहेको छ।

कोरोना भाइरसले पारेको सम्भावित जोखिमका लागि बैंकले इम्पेरिमेन्ट चार्जबापत ८० करोड ६५ लाख छुट्याएको छ। यसै कारण बैंकको नाफामा गिरावट देखिएको हो।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भने बैंकको वितरणयोग्य मुनाफा ७३ करोड ३८ लाख थियो।

बैंकको निक्षेप भने गत वर्षको ९ महिना भन्दा ८ दशमलव ५२ प्रतिशतले बढेर ८९ अर्ब ७७ करोड पुगेको छ। त्यस्तै कर्जा प्रवाह ११ दशमलव ७० प्रतिशतले बढेर ७८ अर्ब ७२ करोड पुगेको छ। बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ५२ प्रतिशतले बढेर २ अर्ब ८७ करोड पुगेको छ।

८ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको बैंक अफ काठमाडौँको रिजर्भमा ५ अर्ब १२ करोड छ भने सञ्चित मुनाफा ८ करोड ५९ लाख ऋणात्मक छ। बैंकको खराब कर्जा भने २ दशमलव २१ प्रतिशतबाट घटेर १ दशमलव ५३ प्रतिशत कायम भएको। यो बढी खराब कर्जा हुने बैंकमा सुचीकृत छ। यद्यपि बैंकले यसवर्ष अवस्थामा सुधार गरेको छ।

सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडको पनि चालू आर्थिक वर्षमा अधिकांश शीर्षकहरु खुम्चिएको बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा वितरणयोग्य नाफा ६ करोड १९ लाख ८२ हजार ऋणात्मक देखिएको छ। गत वर्ष यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६२ करोड १६ लाख ९६ हजार रुपैयाँ थियो। बैंकले १ अर्ब ६५ करोड रुपैयाँ जगेडा कोषमा राखेको कारण वितरण योग्य मुनाफा धेरै ऋणात्मक गएको हो।

खुद नाफा ११ दशमलव ५ प्रतिशतले घटेर १ अर्ब ९९ लाख ६५ हजार रुपैयाँमा खुम्चिएको हो। गत वर्ष यसले २ अर्ब २४ करोड ५५ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो।

अहिलेसम्म प्रकाशित विवरणमा हिमालयन बैंकको सुचकांक सबैभन्दा सन्तुलित देखिएको छ। गत वर्षभन्दा केही कम देखिए पनि यो बैंको नाफामा सुधार देखिएको छ।

यो बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ दशमलव ०५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा यसै अवधिको तुलनामा बैंकले २ अर्ब १ करोड नाफा गरेकोमा चालु वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर २ अर्ब ३१ करोड पुगेको हो।

यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख रहेको छ। गत आवको यसै अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड थियो। बैंकको निक्षेप ६ दशमलव ३४ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब पुगेको देखिएको छ। कर्जा प्रवाह १४ दशमलव १६ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब पगेको छ। बैंकको खुद ब्याज आम्दानी २ दशमलव ३७ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड पुगेको पाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .