ad ad

कारोबार


विदेशबाट लाखौँलाई स्वदेश ल्याउनुपरे नेपाली जहाज क्षमता कति ?

विदेशबाट लाखौँलाई स्वदेश ल्याउनुपरे नेपाली जहाज क्षमता कति ?

वसन्त अर्याल
जेठ ११, २०७७ आइतबार ८:१२,

कोभिड १९ को कारण विदेशमा अलपत्र परेका नेपाली स्वदेश ल्याउन नेपाली एयरलाइन्स कम्पनीहरुले तयार रहेको बताएका छन्।

व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान गरिरहेकाबाहेक आन्तरिक उडान गरिरहेका कम्पनीले पनि विदेशबाट नेपाली ल्याउन सकिने बताएका हुन्।

भारतबाहेकका देशबाट मात्रै करिब ६ लाख बढी नेपाल फर्किन चाहेको नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघले बताउँदै आएका छन्।

नेपाली वायुसेवा कम्पनीहरु हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्ससँग ठूला जहाज छन्। उनीहरुले अन्तर्राष्ट्रिय उडान सोही जहाजमार्फत भर्दै आएका छन्। त्यसमध्ये नेपाल वायुसेवा निगम सरकारी स्वामित्वको हो भने हिमालय एयरलाइन्स चिनियाँ लगानीसहित यति ग्रुपको कम्पनी हो।

nepal airlines

‘विदेशमा रहेका नेपालीलाई उद्धारको लागि पहिलो प्राथमिकता नेपाल एयरलाइन्स पर्ने विश्वास छ’, नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘सरकारको स्वामित्व भएको र ठूला जहाज पनि भएकाले नेपाल एयरलाइन्स पहिलो रोजाइ पर्छ।’

खड्काले नेपाली ल्याउने विषयमा एयरलाइन्ससँग सरकारले छलफल गरिरहेको जानकारी दिइन्।

‘औपचारिक निर्णय त भएको छैन तर विदेशबाट नेपाली ल्याउने भनेर नेपाल एयरलाइन्ससँग छलफल चलिरहेको छ’, खड्काले नेपालखबरसँग भनिन्।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सबाहेक आन्तरिक उडान गरिरहका जहाजहरुबाट पनि नेपाली ल्याउन प्रयोग गर्न सकिने सम्बन्धित कम्पनीहरुले बताएका छन्।

himalaya airlinesss

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले सरकारले चाहे खाडी मुलुकबाट नेपाली ल्याउन दुईवटा जहाज प्रयोग गर्न सकिने बताए।

‘हामीले लकडाउनपछि पनि अन्तर्राष्ट्रिय रुपमा चार्टर्ड उडान गर्दै आएका छौं’, मानन्धरले भने, ‘सरकारले चाहे खाडी मुलुकबाट नेपाली ल्याउन श्री एयरलाइन्सका २ जहाज प्रयोग गर्न सकिन्छ।’

बुद्ध एयरले सार्क मुलुकका नेपाली ल्याउन आफ्ना जहाज प्रयोग गर्न सकिने बताएको छ। खाडी मुलुकमा उडानको लागि साना जहाजमा बढी खर्च लाग्ने बुद्ध एयरको भनाइ छ।

‘लामो दूरीमा चल्नको लागि ठूलो जहाज छैन’, बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘तर भारत, बंगलादेशलगायत सार्क मुलुकबाट नेपाली ल्याउन सक्छौँ।’

Shree

कति जहाज? कस्तो क्षमता?
वाइडबडी जहाज नेपाल एयरलाइन्ससँग मात्रै छ। त्यसबाहेक न्यारोबडी हिमालय र जेट श्री एयरलाइन्ससँग छन्।

‘अन्तर्राष्ट्रिय उडानको लागि नेपाल एयरलाइन्ससँग ४ वटा जहाज रहेका छन्’, प्रवक्ता खड्काले भनिन्, ‘२७४ सिट क्षमताका दुईवटा वाईडबडी र १५८ क्षमताका २ न्यारोबडी जहाज छन्।’

सरकारले नेपाल एयरलाइन्स मात्रै प्रयोग गरे एकपटकमा ४ जहाजले ८ सय ६४ जना बोक्न सक्छन्।

हिमालय एयरलाइन्ससँग ४ वटा न्यारोबडी छन्। जसमा ए३२० का तीन एयरबसको सिट क्षमता १५८ हो भने अर्को ए३१९ को सिट क्षमता १२८ रहेको छ। हिमालय एयरलाइन्सका ४ जहाज प्रयोग गर्दा एकपटकमा ६ सय दुई जना बोक्न सकिन्छ।

त्यस्तै श्री एयरलाइन्ससँग ७० सिटे सीआरजे ७०० दुईवटा जहाज छन्। ५० सिटे सीआरजे २०० पनि २ वटा छन्।

buddha air udan

लामो दूरीमा प्रयोग बढी समय र खर्च लागे पनि भारतलगायत सार्क मुलुकमा बुद्ध एयरका ८ र यती एयरका ५ एटीआर ७२ जहाज प्रयोग गर्न सकिन्छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सरकारले चाहेको अवस्थामा आन्तरिक उडान गरिरहेका जहाज नेपालीको उद्धारको लागि प्रयोग गर्न सकिने बताए।

‘लकडाउनको बीचमा श्री एयरलाइन्सको जहाज ट्युनिसिया, सिंगापुर गएर आयो। बुद्ध एयरले बंगलादेश उडान ग¥यो’, प्रवक्ता क्षेत्रीले भने, ‘सरकारले चाहेको अवस्थामा उडान गर्न सक्छन्।’

‘सरकारसँग क्षमता छैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक वैदेशिक रोजगारमा गएका लाखौंलाई ल्याउन सरकारको क्षमता नभएको बताइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा बोल्दै लाखौं युवा ल्याउन जहाज नभएको र नेपाल ल्याएर क्वारेन्टिनमा राख्ने क्षमता नभएको बताएका थिए।

kp oli 1

‘बाहिरबाट ल्याउने विषय सहज होइन’, प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अमेरिकाले डेढ सय नेपालबाट लग्यो, अष्ट्रेलियाले अढाई सय लग्यो भनेर हामी लाखौंलाई त्यत्तिकै ल्याउन सक्दैनौं।’

प्रधानमन्त्री ओलीले नेपालमा हालसम्म क्वारेन्टिनको साधारण क्षमता ५७ हजार ९ सय ४ रहेको बताएका छन्। त्यसमा पनि जम्मा २३ हजार क्षमता मानिस राख्नको लागि सुविधायुक्त खालको भएको बताए।

‘नेपालीलाई स्वदेश फर्किन नदिने भनेको होइन। कति फर्किन चाहन्छन्। कतिलाई ल्याउनैपर्छ, अध्ययन भइरहेको छ’, संसदमा उनले भने, ‘विदेशबाट ह्वारह्वार मानिस ल्याउँदा क्वारेन्टिनमा राख्न पनि नसक्ने र कोरोनाले देशै सोत्तर बनाउने मनस्थितिमा छैनौं।’

त्यस्तै आइसोलेनमा ३ हजार ३ सय ७ क्षमता रहेको उनले संसदलाई जानकारी गराएका थिए।

यो पनि पढ्नुहोस्
लकडाउनका कारण खोसियो ६० लाख नेपालीको रोजगारी
सात मुलुकबाट मात्र ४ लाख नेपाली फर्किंदै, यस्तो छ तिनलाई ल्याउने योजना
केमा व्यस्त छ नेपालको २ करोड ७ लाख सक्रिय जनशक्ति?
विदेशबाट ल्याइने नेपालीलाई क्वारेन्टिनमा खुवाउन आपूर्ति मन्त्रालयले किन्दैछ २ लाख क्विन्टल चामल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .