ad ad

कारोबार


करको सूचना चुहावटको आरोप खेपेका अर्थमन्त्री भन्छन्ः मेरो इमानदारिताको परीक्षा हुँदै छ

करको सूचना चुहावटको आरोप खेपेका अर्थमन्त्री भन्छन्ः मेरो इमानदारिताको परीक्षा हुँदै छ

नेपालखबर
जेठ २८, २०७७ बुधबार १०:५८,

अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दशक लामो राजनीतिक जीवनमा पहिलो पटक इमानदारिताको परीक्षा हुनलागेको अनुभव भइरहेको बताएका छन्।

बुधबार संघीय संसदमा आर्थिक विधेयक सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै केही सांसदहरुले आफ्नो इमानदारितामाथि प्रश्न उठाएको गुनासो गरे।

सांसदहरु करको विषयलाई लिएर एक व्यावसायिक घरानासँग आफ्नो नाम जोडिएको प्रति जवाफ दिँदै भने, ‘राजनीति अलि क्रूर, निर्दयी हुन्छ भन्थे, अनुभव हुँदै छ। सम्भवतः इमानदारिताको परीक्षा पनि हुँदै छ।’

उनले जीवनमा कहिलेकाहीँ छिटा लगाउन खोजिने तर त्यस विषयमा संसदमा मात्र नभएर बाहिर र आफ्नो लामो सार्वजनिक जीवनका विगत र आउने दिन समेत हेर्न आग्रह गरे।

‘केही माननीय सदस्यले व्यवसायी घरानासँग जोडेर पनि कुरा उठाउनुभयो,’ अर्थमन्त्री खतिवडाले भने, ‘मेरो इतिहास थाहा पाउने मित्रले पनि उठाउनुभयो, सायद राजनीतिक धार फरक भएर मात्र हो भन्ने मैले बुझेको छु। अन्यथा उहाँले राम्रो चिन्नुहुन्छ र यस्तो धारणा राख्नुहुन्न।’

दुई दशक लामो राजनीतिक जीवनमा कुनै व्यवसाय घरानाको लागि काम नगरेको र कहिले पनि नगर्ने उनले बताए। मुलुकको आर्थिक हितको लागि सधैँ लागिरहने र यो कुरा जीवनपर्यन्त रहने उनको भनाइ छ।

उनले विद्युतीय गाडीको कर र त्यसको सूचना चुहिएको विषयको जवाफ दिँदै त्यस विषयमा छलफल गर्न सकिने तर प्रत्येक कर बढाउने र घटाउनेलाई एक/एक घरानासँग जोड्ने प्रवृत्तिले कोही पनि स्वच्छ हुन नसक्ने उनको भनाइ छ।

यो पनि :
भन्सार शुल्क बढ्नुअघि नै २०० विद्युतीय गाडी भित्रिएको खुलासा, कसले चुहायो सूचना?

‘परीक्षा गरियोस्, परीक्षण गरियोस्, समिति बनाइयोस्। एउटा कुरा ठोकेर भन्छु, अर्थ मन्त्रालयले कुनै सूचना बाहिर चुहाएको छैन’, अर्थमन्त्रीले भने, ‘विगतका इतिहास थिए, करका कुरा बाहिर जान्थे, विवरण बाहिर जान्थे।’

उनले जेठ १ देखि १४ गतेसम्ममा जति गाडी आयात भएको र जेठ ७ सम्मभित्र ७५ वटा विद्युतीय गाडी आयात भएको संसदलाई जानकारी गराए।

बजेटमा करको छलफल १३ र १४ गते मात्र हुने र १४ गते राति मात्र करको अंक तय गरिने बताउँदै १४ गते कार्यालय समयमा २ वटा गाडी मात्र सुख्खा बन्दरगाहबाट छुटेको बताए।

भैरहवाबाट १४ गते २ वटा मात्र छुटेको पनि उनले बताए।

उनले उक्त समयमा पेट्रोल र पेट्रोलियम सम्बन्धित १७९ वटा गाडी छुटेको बताए।

‘त्यसमा करको दरमा चुहावट भएर छुटेका हुन् भन्नुहुन्छ भने त्यसमा परिवर्तन त गरिएको छैन’, मन्त्री खतिवडाले भने।

उलने विद्युतीय गाडी गत वर्षभन्दा झण्डै दोब्बरका संख्यामा आएको बताए। पुस र मंसिरमा ११५ का दरले विद्युतीय गाडी आएको र साउनमा ९५ वटा आएको बताउँदै उनले जेठ १ देखि ७ गतेको बीचमा ७५ गाडी आएको बताए।

‘यसलाई कुनै व्यक्तिको निष्ठा, अर्थ मन्त्रालयको व्यावसायिकता, व्यक्तिको चरित्रसँग जोडिएर व्याख्या गर्दा अन्याय पनि हुँदो हो नि माननीय सदस्यहरु’, उनले भने।

उनले सबै विवरण आफूसँग भएको चाहिएको दिनसक्ने भन्दै सांसदहरुलाई भ्रम नफैलाउन समेत उनले आग्रह गरे।

‘यदि करको विषयमा जेठ ७ गतेअगाडि नै सूचना बाहिर चुहाएको रहेछ भने छानबिन गरौं, छलफल गरौं तर भ्रामक कुरा नगरौं’, उनले भने।

विद्युतीय गाडीको महशुलका विषयमा छलफल गर्न तयार रहेको उनले बताए।

काठमाडौंमा विद्युतीय गाडी चलाउने अवस्था कस्तो छ त्यो हेर्नुपर्ने बताए। काठमाडैंका सडकको भार क्षमता, ट्राफिक जाम, जनघनत्व हेर्दा निजी गाडी चलाउन कति सकिन्छ भन्ने प्रश्न रहेको बताए। विद्युतीय गाडी कहाँ चलेको छ यसमा छलफल गर्न तयार रहेको उनले बताए।

‘काठमाडौंमा विद्युतीय गाडी ल्याएर प्रदूषण मात्र कम गरेर हुन्छ कि सार्वजनिक यातायातलाई व्यवस्थापन गरेर हुन्छ, त्यसमा खुला छलफल गरौं’, उनले भने।

यो पनि :
विद्युतीय गाडीको कर घटाउने छलफल गर्न सकिन्छः अर्थमन्त्री खतिवडा

काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण बनिरहेको र त्यसको ऐनको आधारमा सार्वजनिक साधनको व्यवस्था मिलाउन सकिने उनको भनाइ छ।

‘निजी गाडीका कर अपरिवर्तनीय होइनन्। त्यही भएर हरेक वर्ष आर्थिक विधेयक आउँछ’, उनले भने।

गत वर्ष गुन्द्रुकदेखि सोयाबिनसम्म कर लाग्यो भनेर संसदमा कुरा उठेपछि यसपालि त्यसलाई नराखेको उदाहरण दिँदै विद्युतीय गाडीमा पनि छलफल गर्न तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .