ad ad

कारोबार


सातै प्रदेशमा रासायनिक मल कारखाना खोल्न किसानको माग

सातै प्रदेशमा रासायनिक मल कारखाना खोल्न किसानको माग

प्रकाश न्यौपाने
भदौ २६, २०७७ शुक्रबार ७:४१,

रुपन्देहीका किसानले स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्ने माग गरेका छन्।

हरेक वर्ष मल अभाव हुँदा सास्ती खेपिरहेका किसानले दीर्घकालीन समस्या समाधानका लागि सरकारलाई स्वदेशमै मल कारखाना खोल्न सुझाव दिएका हुन्। राष्ट्रिय कृषक महासंघका अध्यक्ष शिवप्रसाद धवल (देव)ले नेपालमै रासायनिक मलको कारखाना नखुलेसम्म मल नपाउने समस्या समाधान नहुने बताए।

‘दशकदेखि समयमै मल नपाउने समस्या छ, प्रत्येक वर्ष एउटा न एउटा बहाना बनाएर राज्यले किसानलाई ठग्दै आएको छ’, उनले भने, ‘यदि समस्या समाधान गर्ने हो भने सातै प्रदेशमा मल कारखाना खोलौँ। कारखाना नखुल्दासम्म प्रदेश र संघ सरकारले सिधै मल खरिद गरौँ।’

यहाँका किसानले संघीय सरकारमार्फत मात्रै मल खरिद गर्दा दुई÷तीन जना ठेकेदारले मात्रै ठेक्का पाउने अनि समयमै मल नल्याउने समस्या बारम्बार दोहोरिएको जनाउँदै प्रदेश सरकारलाई पनि मल खरिदको अधिकार दिनुपर्ने उनको सुझाव छ।

कृषि मन्त्रालयले धान पसाउने बेलासम्म पनि युरिया मल आपूर्ति गर्न नसकेको भन्दै दुई ठेकेदार कम्पनीको धरौटी जफत गरेको छ। मन्त्रालयले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीको धरौटी जफत गरेको छ।

किसानले भने ठेकेदारलाई कारबाहीमात्रै गरेर नहुने जनाउँदै अबका दिनमा समयमै मल आपूर्ति गर्न स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्ने सुझाव दिएका हुन्। मल कारखानाको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले टोली समेत गठन गरिसकेको जनाएको छ।

सियारीकी किसान कमला सापकोटाले ठेकेदारको बदमासी र सरकारको कमजोरीले किसानले सधैं दुःख पाइरहेको आरोप लगाइन्।

‘वर्षौदेखि समयमै मल नपाउने समस्या छ। समस्या समाधानको एउटै उपाय कारखाना खोल्नु नै हो, यसतर्फ सरकारको छिटो ध्यान जानुपर्छ’, उनले भनिन्, ‘मलका लागि भौँतारिनुपर्ने, रुनुपर्ने र भारतबाट चोरी तस्करी गरी कम पोषक तत्व भएको मल प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ।’

अहिले मुलुकभर युरिया मलको चरम अभाव छ। खासगरी धानमा तीन पल्टसम्म यूरिया राख्नुपर्ने भए पनि अधिकांश किसानले एकपल्टमात्रै राखेका छन्। केहीले दुईपल्ट राखे पनि तीनपल्ट राख्न पाएका छैनन्।

सीमा क्षेत्रका किसानले भारतीय बजारबाट चोरी तस्करी गरेर मल ल्याएर धानमा प्रयोग गर्ने गर्छन्।

‘चोरी तस्करीबाट आउने मल आफैँमा कम पोषक तत्व भएको हुन्छ। अर्कोतर्फ स्वदेशमै मल नपाएपछि त्यो किसानको बाध्यता हो’, महासंघ अध्यक्ष धवलले भने, ‘कम पोषक तत्व भएको मल प्रयोग गर्दा होस् वा मल नपाउँदा होस्, यसले उत्पादनमा निकै नकारात्मक प्रभाव पार्छ। यसपालि त मल पाइएन, त्यसैले उत्पादन ह्वात्तै घट्छ।’

यो वर्षको धानको सिजनमा डीएपी र पोटास सहजै पाए पनि युरिया नपाएको किसान बताउँछन्। अहिले धान पसाइसकेको छ। छिटो रोपेको ठाउँमा त धान पाक्नै लागिसकेको छ। रुपन्देहीका अगुवा किसानहरुले तोकिएको समयमा मल नल्याउने ठेकेदारको धरौटी जफत गरी कालोसूचीमा राखेर मात्रै नहुने भन्दै त्यस्ताको सम्पत्ति नै लिलाम गर्नुपर्ने बताउँछन्।

‘नेपाल कृषिप्रधान देश भन्छौँ तर एक÷दुई जना ठेकेदारले राज्य र दुई करोड किसानलाई ठग्दा त्यस्तालाई सामान्य कारबाही मात्रै हुन्छ, किसान ठग्नेलाई मिल्छ भने जेलै हाल्नुपर्छ’, मर्चवारका किसान उमेश यादवले भने।

अर्कातर्फ किसानले युरियाको मूल्य समेत छिमेकी मुलुकमा भन्दा निकै महंगो भएको गुनासो गरेका छन्। भारतमा ४५ किलो यूरियाको बोरालाई २६२ भारतीय रुपैयाँ पर्ने भए पनि नेपालमा सहकारीमार्फत आफूहरुले किन्दा ५० किलोलाई ८३० रुपैयाँ पर्ने गरेको गुनासो गरेका छन्।

‘छिमेकी मुलुकमा भन्दा हाम्रोमा यूरियाको मूल्य निकै महंगो छ। एकातिर मल नपाउने र अर्कोतिर पाए पनि महंगोमा किन्नुपर्दा उत्पादन लागत महंगो हुन गएको छ। यस विषयमा पनि सरकारले सोचोस्’, धवलले भने। भारतसँग सीमा जोडिएका तराई जिल्लाहरुमा तस्करहरुले भारतबाट मल ल्याएर किसानलाई एक हजार छ सय रुपैयाँसम्ममा युरिया बेच्ने गरेको किसानको दुःखेसो छ।

किसानाले रासायनिक मल बढी मात्रामा प्रयोग गर्दा माटोे बिग्रिएको र अम्लीयपन बढेकाले प्राङ्गारिक मल प्रयोगलाई सरकारले प्राथमिकता दिनुपर्ने समेत बताउँछन्। २० वर्ष अघिसम्म रासायनिक मल प्रयोग नहुँदा प्राङ्गारिक मलले उत्पादन राम्रो हुँदै आएको किसानको भनाइ छ।

‘माटो जाँच हुँदैन। जब प्राङ्गारिक मलको सट्टा रासायनिक मल प्रयोग बढ्यो, यसले माटोको उर्वरा शक्ति नष्ट हुँदै गयो। यसले गर्दा उत्पादन लागत बढ्यो भने अर्कोतर्फ उत्पादन र उत्पादकत्व समेत घटेको छ।

किसानले गाईभैँसी पाल्न छाडे, रासायनिक मलमा आकर्षित भए। सकिन्छ भने किसानले पनि प्रांगारिक मल प्रयोगमा ध्यान दिऔं, राज्यले यसतर्फ प्रोत्साहन गर्नुपर्छ’, अध्यक्ष धवलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .