ad ad

कारोबार


दुई सरकारी निकायको ठेक्का हानथापले पुतलीसडकको कालोपत्रे अलपत्र

दुई सरकारी निकायको ठेक्का हानथापले पुतलीसडकको कालोपत्रे अलपत्र

नेपालखबर
असोज २६, २०७७ सोमबार ८:१,

पुतलीसडकमा डबल ठेक्का हुँदा कालोपत्रेको काम हुन ढिलाइ भएको छ।

एउटै सडकका लागि काठमाडौं सडक डिभिजन कार्यालय र काठमाडौं महानगरपालिकाले ठेक्का लगाउँदा विवाद भएर कालोपत्रेको काम हुन नसकेको हो।

एउटै सडक खण्ड कालोपत्रेको लागि दुई सरकारी निकायले ठेक्का लगाई एक अर्कोलाई आरोप लगाएका छन्। हरेक वर्ष डुबानमा पर्ने पुतली सडकमा डिभिजन कार्यालयले ढल निकाससहित कालोपत्रे गर्ने ठेक्का लगाएको थियो।

वर्षातको समयमा पुतली सडकमा कमलपोखरीदेखिको पानी आउँदा यस खण्ड डुबानमा पर्ने गरेको थियो। पुतली सडकमा राम्रो ढल निकासको व्यवस्था नहुँदा पानी पर्नासाथ सडक माथि फोहोर नदी बग्न सुरु हुथ्यो।

कमलपोखरीदेखिको पानी व्यवस्थापन हुन नसक्दा ‘भीआईपी सडक’ हरेक वर्ष बिग्रिने समेत गरेको थियो।

गत आर्थिक वर्ष काठमाडौं डिभिजन कार्यालयले आफ्नो मातहत पर्ने सबै सडक कालोपत्रे तथा ओभर ले गर्ने योजना बनाएको थियो। त्यसैअनुसार अधिकांश सडकको काम सके पनि पुतली सडकमा ढलको समस्या हुँदा ढल बनाएपछि मात्रै कालोपत्रे गर्ने योजना बन्यो।

ढलको व्यवस्थापन शंकरदेव क्याम्पसदेखि स्टारमल हुँदै कुमारी मन्दिर (राइजिङ मल)सम्मको व्यवस्थापन गर्नुपर्ने थियो। त्यसैअनुसार डिभिजन कार्यालयले महानगर प्रमुख विद्या सुन्दर शाक्यसँग छलफल गरी पुतली सडकमा मात्रै ढल बनाएर नहुने राइजिङ मलसम्मकै पानी भूमिगत गर्न ढलको व्यवस्थापन गर्नुपर्ने सहमति गर्यो।

यसअघि नै महानगरअन्तर्गत पर्ने पुतली सडकको स्टारमलदेखि कुमारी हल हुँदै राइजिङ मल निस्कने बाटो महानगरले घरको ढलको व्यवस्थापनसँगै कालोपत्रेको ठेक्का लगाएको थियो।

सहमतिअनुसार सडक डिभिजन कार्यालयले कमलपोखरीदेखि शंकरदेव क्याम्पससम्मको ढलको व्यवस्थापन गरेको छ। यो वर्ष पुतलीसडक कालोपत्रे नहुँदा हिलाम्मे भए पनि ढलको समस्या भने समाधान भएको छ।

कालोपत्रेमा डबल ठेक्का हुँदा कसले गर्ने विवाद
राइजिङ मलदेखि स्टारमलसम्म भित्री सडक र स्टारमलदेखि शंकरदेव क्याम्पसपट्टिको मुख्य सडक हो। भित्री सडक महानगरअन्तर्गत पर्छ भने मुख्य सडक डिभिजन कार्यालयअन्तर्गत पर्छ। मुख्य सडक कालोपत्रे गर्न कुनै समस्या नभए पनि भित्री सडक कालोपत्रेका लागि महानगर र डिभिजन कार्यालय दुवैले ठेक्का लगाएका छन्।

काठमाडौं सडक डिभिजन कार्यालयले आफूहरुले काम गरिरहेको ठाउँमा महानगरले काम थाल्दा कालोपत्रे हुन नसकेको बताएको छ।

‘महानगर प्रमुखसँग सहमति गरेरै मुख्य र भित्री सडक हामीले नै कालोपत्रे गर्ने ठेक्का निकालेका हौँ’, डिभिजन कार्यालय प्रमुख कुवेर नेपालीले भने, ‘महानगरले सहमतिविपरीत बीचमा काम बढाउँदा सबै खण्डको काम रोकिएको छ।’

उनले ढलको काम आफूहरुले गरेकाले कालोपत्रे पनि आफूहरुले नै गर्ने सहमति भएको बताए।

तर कठमाडौं महानगरपालिकाका सहरी पूर्वाधार विकास प्रमुख राम थापाले स्टारमलदेखि राइजिङमलसम्म कालोपत्रे गर्न ठेक्का आफूहरुले पहिल्यै लगाएको दाबी गरे।

‘महानगरअन्तर्गत पर्ने सडकमा डिभिजन कार्यालयले ढल निर्माण गर्न सहमति दिएको हो’, थापाले नेपालखबरसँग भने, ‘घरको ढल व्यवस्थापन र कालोपत्रेका लागि हामीले डिभिजन कार्यालयभन्दा पहिले ठेक्का लगाएका थियौं।’

उनले डिभिजन कार्यालयले त्यहाँ ढलको काम नगरेको भए महानगरले गत वर्ष नै कालोपत्रे गरिसक्ने बताए।

अब कसले गर्ने कालोपत्रे ?
पुतली सडक सिंहदरबारसँगैको मुख्य सडक तथा बालुवाटार, शीतल निवास जानको लागि प्रयोग गरिने सडक हो। काठमाडौंको व्यापारिक केन्द्र तथा धेरै शैक्षिक संस्था यही क्षेत्रमा भएकाले सडकको बढी प्रयोग हुने गर्छ।

तर डिभिजन कार्यालय र महानगरको समन्वय अभावमा उक्त सडक कालोपत्रे हुन रोकिएको छ। सडक विभाग महानिर्देशकले काठमाडौंमा चार दिन घाम लागे पुतली सडक कालोपत्रे हुने बताए पनि सरकारी निकायकैबीच विवाद हुँदा कालोपत्रेको काम अघि बढ्नसकेको छैन।

‘महानगरले त्यहाँ काम गर्न छाडेर पहिलाको सहमतिअनुसार डिभिजन कार्यलयलाई काम गर्न दियो भने छिट्टै कालोपत्रे हुन्छ’, नेपालीले भने। उनले महानगरसँग पुनः सहमति नहुँदासम्म कालोपत्रे नहुने बताए।

यता महानगर सहरी पूर्वाधार विकास प्रमुख थापाले ठेक्का अनुसार काम अघि बढाएको भए पनि डिभिजन कार्यालयले छिट्टै कलोपत्रे गर्ने भए आफूहरु साइट छाड्न तयार रहेको बताए।

‘महानगरले गर्दा कालोपत्रे गर्न पाएनौँ भन्दै हल्ला फिँजाएर भएन’, थापाले भने, ‘डिभिजन कार्यालयले तत्काल कालोपत्रे गर्ने भए हामीले त्यहाँ काम गर्दैनौं।’

उनले मेयर विद्या सुन्दर शाक्यसँग छलफल भइसकेको भन्दै अब उक्त सडकमा डिभिजन कार्यालयले काम गर्न सक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .