कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि दाङका ४ वटा कार्यालयमा अत्यावश्यक बाहेकका काम स्थगित गरिएको छ। जिल्ला प्रशासन, अदालतसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले जानकारी दिए।
‘कन्ट्याक्ट ट्रेसिङका लागि तत्काल कार्यालयहरुको सेवा बन्द गरिएको हो’, उनले भने। उनकाअनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत असोज ३० गतेसम्मका लागि बन्द गरिएको छ। नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन्। यी दुई कार्यालय भने असोज २८ गतेबाट सञ्चालनमा आउने छन्।
चारै कार्यालयका संक्रमित कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। कतिपय कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरुसहित अन्यको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। कर्मचारी संक्रमित भएपछि नापी र मालपोतको काम ठप्प छ।
जिल्ला प्रशासनले शान्तिसुरक्षा, मुद्दालगायत अत्यावश्यकबाहेकका अन्य सेवाहरु बन्द गरेको छ। जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको अदालतले सूचनामार्फत् जानकारी दिएको छ।
३० गते पछि नियमित काम गर्ने तयारी गरिएको श्रेस्तेदार धनसिंह गिरीले बताए। कर्मचारी संक्रमित भएपछि महत्वपूर्ण कार्यालयहरु बन्द हुँदा सेवाग्राही भने मर्कामा परेका छन्।
प्रतिक्रिया