गत पुस दोस्रो साता व्यवसायी चन्द्र ढकालले गृह जिल्ला बागलुङबाट नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे।
बागलुङ महोत्सवको छेकोमा उनले उम्मेदवारी घोषणा गर्दा देशैभरका शुभेच्छुकहरु मात्रै नभएर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि हेलिकोप्टरमा बागलुङ पुगेका थिए।
उनी अघिल्लो दिन आयोजित लगानी सम्मेलनको वक्ता पनि थिए। शेखर त्यो बेलासम्म महासंघको चुनावबारे खासै मुखरित थिएनन्। पछि शेखरले चन्द्रतिर नभएर, अर्का प्रत्याशी किशोर प्रधानको पक्षमा आफू उभिएको घोषणा गरिदिए।
एकाएक समय सही भएको भए चैतको अन्तिममा चुनाव हुँदै थियो। तर, कोरोनाले चुनाव पर धकेलिदियो।
चन्द्रले हुनेवाला अध्यक्षको साथ नपाए पनि आफ्नो अभियान रोकेनन्। उनलाई महासंघका विशिष्ट सदस्य एवं चुनावी अभियान ‘महाखेलाडी’ मानिने चण्डीराज ढकालले साथ दिए। चण्डी उनै व्यक्ति हुन्, जसले शेखरलाई वरिष्ठ बनाउन भूमिका खेलेका थिए।
तर, उनीहरुको सम्बन्ध सधैँ सुमधुर रहेन। शेखर चण्डीसँग टाढिए। चण्डीले त्यही झोकमा महासंघको विधान संशोधन गराएर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान फेर्ने रणनीति पनि बनाए।
तर, विधान मस्यौदा समितिका संयोजकको रुपमा उनको अभियानले सार्थकता पाएन। नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला तथा उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण हुन्छ।
महासंघको स्थापना जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले नै गरेको हुनाले पनि महासंघको चुनावमा जिल्ला नगर उद्योग वाणिज्य संघको मतको भार क्षमता ५० प्रतिशत छ। बाँकी ५० मा ३० प्रतिशत एसोसिएट र २० प्रतिशत वस्तुगत सदस्यहरुको रहन्छ। यसको मतलब चुनाव जित्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको भोट महत्वपूर्ण हुन्छ।
महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा बलियो पकड भएको बुझेकाले नै चन्द्रले गृहजिल्ला बागलुङलाई प्रस्तावक बनाउँदै चण्डीको साथ खोजे।
अहिले करिब सबैजसो पूर्वअध्यक्षहरु एकातिर हुँदा पनि चन्द्र ढकाल चण्डीकै साथले चुनाव जित्ने आत्मविश्वासमा छन्। यद्यपि, आईएमई समूहको देशव्यापी सञ्जालले उनलाई भरथेग नगरेको भने होइन।
बागलुङको भएकाले गण्डकी प्रदेशमा चन्द्रको पकड राम्रै हुने भयो। त्यतिमात्र नभएर महासंघको संस्थापकमध्येको एक बागलुङ उद्योग वाणिज्य संघले उनको काँध थाप्यो। त्यसलगत्तै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले चुनावी अभियानमा ढकाललाई समर्थन गर्ने निर्णय ग¥यो।
यो क्षेत्रमा रहेका १५ वटा उद्योग वाणिज्य संघहरुसँग मताधिकार रहेको छ। गण्डकीमा हाल २० वटा उद्योग वाणिज्य संघ अस्तित्वमा छन्। तीमध्ये ५ वटासँग मताधिकार छैन।
स्पष्ट दुई खेमामा विभाजित व्यवसायीहरुको चुनावमा गण्डकीका विभिन्न उद्योग वाणिज्य संघको तर्फबाट पनि केन्द्रीय सदस्यमा उम्मेदवारी परेको छ।
संस्थापक उद्योग वाणिज्य संघको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धीको रुपमा चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तमलाल चुके चुनावी मैदानमा छन्।
नेपाल उद्योग वाणिज्य महासंघको विधानले संस्थापकमध्येबाट एक जना केन्द्रीय सदस्य छान्ने व्यवस्था गरेको छ। संस्थापक केन्द्रीय सदस्यहरुको संख्या १२ छ।
झापा उद्योग संघका अध्यक्ष टीका ढकालले पनि सोही पदमा उम्मेदवारी हालेका थिए तर, अन्तिममा उनले पोखरालाई सघाउने घोषणा गर्दै उम्मेदवारी झिकेपछि २ वटा उद्योग वाणिज्य संघबीच प्रतिस्पर्धा हुने भएको हो।
टीका नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालका भाइ हुन्। चण्डीराजले अहिले चन्द्र ढकालको चुनावी मोर्चा सम्हालेका छन्।
१८ जना चाहिने खुल्लातर्फको केन्द्रीय सदस्य पदमा ३८ जनाको उम्मेदवारी परेकोमा गण्डकीबाट गैंडाकोट उद्योग वाणिज्य संघका अमृत भट्टचन, म्याग्दीका कुविरकुमार श्रेष्ठ, तनहुँका देवकुमार श्रेष्ठ र वालिङका शोभाकान्त पौडेलले उम्मेदवारी दिएका छन्।
तीमध्ये तनहुँका देवकुमार श्रेष्ठको नाम चन्द्र ढकालको प्यानलमा राखिएको छैन। चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षमा जिताउने निर्णयमा सबैजसो उद्योग वाणिज्य संघ एकमत भए पनि प्रदेशबाट केन्द्रीय सदस्यमा नेतृत्व गर्ने सवालमा गण्डकीमा एकमत हुन सकेन।
सो पदका निम्ति निर्माणकुमार श्रेष्ठ र बाबुराम गिरी चुनावी मैदानमा होमिएका छन्। निर्माणलाई बागलुङ र बाबुरामलाई लेखनाथ उद्योग वाणिज्य संघले उठाएको हो।
उनीहरु दुवैको नाम अहिलेसम्म चन्द्र ढकालको प्यानलमै छ तर अन्तिम अवस्थामा यहाँ पनि ध्रुवीकरण हुने सम्भावना रहेको स्रोतले बतायो।
‘बागलुङ र लेखनाथलाई सकेसम्म चन्द्र दाइले मिलाएर एउटा उम्मेदवार बनाउनुपथ्र्यो’, चुनावी अभियानमा सामेल एक उद्योग वाणिज्य संघका अध्यक्षले भने, ‘यहाँ (गण्डकी)मा उम्मेदवार मिलाउन नसक्नाले उहाँको जिल्ला÷नगर उद्योग वाणिज्य संघमा आफ्नै पकड नभएको सन्देश फैलिएको छ, यो राम्रो हैन।’
आफ्नै जिल्लाबाट वरिष्ठ अध्यक्ष पाएपछि बागलुङलाई उम्मेदवारी दिनबाट रोक्न वा लेखनाथलाई मनाउन नसक्नुले चन्द्र ढकालको निर्णय क्षमता कम भएको भनेर अर्को पक्षले आरोप लगाउने मौका पाएको उनले स्वीकारे।
‘नेतृत्व लिन्छु भन्नेले बोल्ड डिसिजन गर्न सक्नुपर्छ, कसैलाई मनाउने कला पनि चाहिन्छ’, उनले भने, ‘सायद, व्यस्तताले उहाँको ध्यान त्यता पुगेन, यसले गर्दा गण्डकीमै पनि भोट यताउता हुने सम्भावना छ।’
यद्यपि, प्रदेशको मामिलामा जे भए पनि केन्द्रको मामिलामा भने चन्द्र नै सबैको रोजाइ भएको उनले जिकिर गरे। त्यसो त, पोखराकै प्रतिष्ठित लक्ष्मी ग्रुपका निर्देशक अञ्जन श्रेष्ठ वस्तुगततर्फबाट उपाध्यक्षका उम्मेदवार छन्।
उनलाई उमेशलाल श्रेष्ठले टक्कर दिएका छन्। रमाइलो त के छ भने गण्डकीबाट प्रतिस्पर्धा गर्ने चन्द्र र अञ्जन फरक समूहबाट चुनावी मैदानमा छन्।
अञ्जन किशोर प्रधानको समूहमा छन् भने चन्द्र किशोरसँगै प्रतिस्पर्धा गर्दै छन्। वस्तुगततर्फको केन्द्रीय सदस्यमा गण्डकीकै सुकुन्तलाल हिराचनले उम्मेदवारी दिएका छन्।
प्रधान प्यानलमा रहेका उनी निर्माण व्यवसायी महासंघबाट उम्मेदवार बनेका हुन्। दुवैलाई जिल्ला तथा नगर उद्योग वाणिज्य संघले भोट दिन पाउँदैनन्।
Shares
प्रतिक्रिया