ad ad

कारोबार


यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीमाथि लुट, निःशुल्क हुनसक्ने कामका लागि ३५ रुपैयाँ असुली

यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीमाथि लुट, निःशुल्क हुनसक्ने कामका लागि ३५ रुपैयाँ असुली

वसन्त अर्याल
पुस ३, २०७७ शुक्रबार १०:३२,

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालयले सेवाग्राहीमाथि अनावश्यक व्ययभार पार्नेगरी काम गरिरहेको भेटिएको छ।

सवारीसाधनको नयाँ लाइसेन्स तथा नवीकरणको लागि आवश्यक पर्ने मेडिकल रिपोर्ट बनाउने कार्यमा सेवाग्राहीबाट निःशुल्क वा अत्यन्त न्यून शुल्कमा हुनसक्ने कामका लागि ३५ रुपैयाँ असुली गरेको पाइएको हो।

यातायात व्यवस्था कार्यालयले ४ रुपैयाँ २९ पैसामा काम गर्छु भन्दै टेन्डर हालेका डा. पी.सी सेनलाई सोहि काम ३५ रुपैयाँमा गराएको पाइएकाे छ।

यसले गर्दा अहिले सेवाग्राहीले आफ्नाे स्वास्थ्य रिपाेर्ट बनाउन ३५ रुपैयाँ खर्च गर्नु परेकाे छ।

कार्यालयले गत साउन ७ गते यातायात व्यवस्था ऐन २०७५ अनुसार शारीरिक तथा स्वास्थ्यको दृष्टिकोणले कुनै पनि व्यक्ति सवारी चालक बन्न योग्य छ वा छैन भनी आवश्यक जाँच गरी प्रमाणित गर्नको लागि टेन्डर आह्वान गरेको थियो। जसमा चिकित्सक (व्यक्ति) वा संस्था दुवैले टेन्डरमा भाग लिन पाउने शर्त उल्लेख छ।

कार्यालयले आह्वान गरेको टेन्डर सूचनाअनुसार सेवाग्राहीबाट स्वास्थ्य परीक्षण गरेबापत ५० रुपैयाँ नबढ्ने गरी टेन्डर हाल्न पाउने शर्त छ। टेन्डरमा १३ जना व्यक्ति तथा फर्मले भाग लिएका थिए।

सूचना जारी भएको १६ दिनपछि टेन्डर खोल्दा अधिकतम १३ रुपैयाँ ७५ पैसासम्मको टेन्डर परेको कागजात नेपालखबरलाई प्राप्त भएको छ। १३ फर्म तथा चिकित्सकले निःशुल्क रिपोर्ट उपलब्ध गराउन सक्नेदेखि अधिकतम १३ रुपैयाँ ७५ पैसामा स्वास्थ्य रिपोर्ट उपलब्ध गराउन सक्ने उल्लेख गरेका छन्।

license medical 222
चार रूपैयाँ २९ पैसामा टेन्डर हालेका डा. पीसी सेनले प्रमाणित गरेकाे लाइसेन्स बाेक्नेकाे मेडिकल रिपाेर्ट र कार्यालयले लिएकाे ३५ रूपैयाँकाे रसिद। 

तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाले प्रतिव्यक्ति ४ रुपैयाँ २९ पैसामा मेडिकल रिपोर्ट उपलब्ध गराउँछु भन्ने टेन्डर हालेको व्यक्तिलाई नै ३५ रुपैयाँ भुक्तानी दिने गरी काम गर्न दिएको हो।

कार्यालयमा हालेको टेन्डरअनुसार डाक्टर सुजल मेहर श्रेष्ठले निःशुल्क रुपमै स्वास्थ्य परीक्षण गर्ने प्रस्तावको टेन्डर हालेका थिए भने अधिकतम ओखती प्रालिले १३ रुपैयाँ ७५ पैसामा मेडिकल रिपोर्ट उपलब्ध गराउने प्रस्ताव गरेको छ।

टेन्डरमा प्रतिस्पर्धा गर्नेहरुमध्ये डाक्टर पवन ज्ञवालीले ६ रुपैयाँ ४९ पैसा, सुमन प्रसाद शाहले ७ रुपैयाँ ४९ पैसा, पी.सी सेनले ४ रुपैयाँ २९ पैसा, विमलदेव यादव ५ रुपैयाँ ४९ पैसा, सुरक्षा घिमिरे ७ रुपैयाँ ७० पैसा, शिवजंग कुवर ७ रुपैयाँ २५ पैसा, सुजल मेहर श्रेष्ठले निःशुल्क, सुजता बज्राचार्यले १ रुपैयाँ, विजय कुमार यादवले ९ रुपैयाँ ९९ पैसा, रिकेश कुँवरले ७ रुपैयाँ, भारती शाक्यले ७ रुपैयाँ ५० पैसा, निरज कुमार सिन्हाले ४ रुपैयाँ ७५ पैसा रुपैयाँको टेन्डर हालेका छन् ।

‘सेवाग्राही लुटेर कार्यालय प्रमुखलाई घुस’
यातायात व्यवस्था कार्यालयले साढे ४ रुपैयाँमा काम गर्छु भनेकालाई ३५ रुपैयाँमा काम दिएर कार्यालय प्रमुखले घुस लिएको स्रोतको दाबी छ।

‘कार्यालय प्रमुखले साउनसम्म एकान्तकुना कार्यालयभित्र मेडिकल सञ्चालन गरेका डाक्टरसँग करिब ५ लाख घुस मागेका थिए’, स्रोतले भन्यो, ‘पुरानो डाक्टरले पैसा दिन नमानेपछि नयाँ टेन्डर गर्यो। टेन्डरमा पनि निःशुल्क अथवा १ रुपैयाँमा काम गर्छु भन्नेलाई नदिएर साढे चार रुपैयाँमा काम गर्छु भन्नेलाई दिइयाे र पछि उसैसँग ३५ रुपैयाँमा काम गराइएको छ।’

एकान्तकुना कार्यालय प्रमुख समर बहादुर कार्कीले टेन्डरको प्रस्ताव खुले पनि अदालतको अन्तरिम आदेश आएका कारण मूल्यांकन हुन नसक्दा बाहिरकालाई ३५ रुपैयाँमा काम दिनुपरेको बताए।

‘नयाँ टेन्डरको प्रस्ताव खोल्ने दिन पुरानो काम गरिरहेको डाक्टरले स्टे अर्डर ल्याए। तर उनले काम गरेनन्। कार्यालयको काम ठप्प भएपछि नयाँलाई हायर गर्‍याै‌ं’, कार्कीले नेपालखबरसँग भने।

नयाँ डाक्टर हायर गर्दा कार्यालयले टेन्डरमा ४ रुपैयाँ २९ पैसामा काम गर्छु भनेकालाई नै जिम्मेवारी दिएको छ। तर कार्की भने टेन्डर नहालेको व्यक्तिसँग मूल्यांकन अवधिभर काम गर्ने सम्झौता भएको बताउँछन्।

कार्कीले टेन्डर नहालेकै व्यक्तिसँग सम्झौता गरेको बताए पनि एकान्तकुना कार्यालयले सेवाग्राहीलाई दिएको प्रमाणपत्रमा ४ रुपैयाँ २९ पैसामा काम गर्ने प्रस्ताव गरेका डाक्टर पी.सी सेनले प्रमाणपत्र उपलब्ध गराएका छन्।

‘हामीले मूल्यांकन अवधिमा टेन्डर गरेको मान्छेभन्दा बाहिरको मानिसलाई कामको जिम्मेवारी दियौँ’, अस्पष्ट जवाफ दिँदै कार्यालय प्रमुख कार्कीले भने, ‘टेन्डर नहालेको अरविन भन्ने डक्टरलाई जिम्मेवारी दिएका हौँ। उहाँहरुको त डक्टरहरुबीच चिनजान हुन्छ। अरविन डक्टरले टेन्डर हालेकै पी.सी सेनलाई काम गर्न भन्नुभएछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .