ad ad

कारोबार


सुदूरपश्चिममा बन्दै पहिलो पाँचतारे डिलक्स होटल : ७ अर्ब लगानी, ५ वर्षभित्र निर्माण

सुदूरपश्चिममा बन्दै पहिलो पाँचतारे डिलक्स होटल : ७ अर्ब लगानी, ५ वर्षभित्र निर्माण

वसन्त अर्याल
पुस १०, २०७७ शुक्रबार ११:५३,

सुदूरपश्चिममा पहिलो पाँचतारे होटल बन्ने भएको छ। कैलाली जिल्लाको खानीडाँडामा ‘फाइभ स्टार डिलक्स’ होटल निर्माण हुने भएको हो।

सुदूरपश्चिममा पर्यटक बढ्दै गएको र स्तरीय होटल निर्माण नभएको हुँदा पाँचतारे डिलक्स होटल बनाउनलागेको पर्यटन तथा होटल व्यवसायी कृष्ण बहादुर महराले बताए।

सुदूरपश्चिमका पहाडी जिल्लामा जाँदा खानी डाँडा हुँदै जानुपर्छ। यो ठाउँ धनगढीदेखि करिब ३० किमि दूरीमा पर्छ।

हिल स्टेसन भएकोले खानीडाँडामा राम्रो होटल भयो भने भारतीय पर्यटकहरुलाई तान्न सकिने महरा बताउँछन्।

‘सुदूरपश्चिमको भारततर्फ नजिकै पाँचतारेस्तरको होटल समेत नभएकाले बनाऔँ भनेर लागेका छौँ’, पर्यटन बोर्डको सञ्चालक समितिमा समेत रहेका व्यवसायी महराले भने, ‘हामीले योजना बनाउँदै प्रक्रिया अघि बढिसक्यो।’

होटल निर्माण हुने स्थान हुँदै कैलाश सरोवर जानेका लागि यहाँको बाटो सबैभन्दा छोटो पर्छ। यसबाहेक पर्यटकीय बढीमालिका, रामारोसन, ७ हजारभन्दा अग्ला सैपाल र अपि हिमाल यसै क्षेत्रमा छन्। सोही कारण व्यवसायीहरु वर्षमा कम्तीमा पनि २ लाख पर्यटक ल्याउन सकिने बताउँछन्।

‘कैलाश मानसरोवर जानका लाग सबैभन्दा सस्तो रुट यो नै हो। कैलाश मानसरोवर जाने भारतीय पर्यटकलाई युपी सरकारले १ लाख र केन्द्र सरकारले १ लाखसम्म अनुदान दिने गरेका छन्। सुदूरपश्मिको बाटो हुँदै मानसरोवर जान चाहे नेपाली २ लाखमा पुग्न सक्छन्’, महराले नेपालखबरसँग भने।

उनका अनुसार होटल बनिसक्दा मानसरोवर दर्शनको लागि हेलिकप्टर पनि आफैँले राख्ने योजना छ। हेलिकप्टरमार्फत माउन्टेन फ्लाइट समेत गराउने योजना रहेको महराले बताए।

७ अर्ब लगानी
पर्यटन व्यवसायी महराले खानीडाँडामा थोरै लगानीमै पाँचतारे होटल निर्माण गर्ने सोच बनाएका थिए। तर सुदूरपश्चिम नै घर भएका लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टसँग यसबारे कुरा गरेपछि योजना परिवर्तन भयो।

भट्टले विदेशी लगानी ल्याउन सहयोग गर्ने भन्दै नेपालकै आकर्षक पाँचतारे होटल बनाउने योजना बनाउन ढाडस दिए।

महरालाई भट्टको सुझाव मन पर्यो। त्यसैअनुसार महराले होटलसँगै क्यासिनो, जिपलाइनर, हर्स राइडिङ, फुट ट्रेललगायतको सुविधासहितको होटल बनाउने सोच बनाएका छन्।

‘पाँचतारे होटलको लागत ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। होटल निर्माणको अवधि बढ्दै गए लागत बढ्दै जान पनि सक्छ’, उनले भने, ‘होटलमा विदेशी लगानी समेत ल्याई नेपाली र विदेशी दुवैको स्वामित्व हुने गरी अघि बढ्छौँ।’

बाहिरबाट लगानी गर्नेले ५१ प्रतिशत सेयर चाहिन्छ भने दिने त्यसो नभए स्थानीयको ५१ प्रतिशत सेयर हुने गरी होटल निर्माण गर्ने योजना रहेको उनले सुनाए।

खानीडाँडाको आसपास करिब सय घरधूरी छन्। उनीहरुले लगानी गर्नुपर्छ भन्ने नै छैन आफ्नो इच्छाअनुसार गर्न सक्ने महराको भनाइ छ।

‘हाम्रो मुख्य योजना पैसा कमाउनेभन्दा पनि यहाँको ठाउँ बनोस् भन्ने हो’, महराले भने, ‘वातावरणीय हिसाबले पनि राम्रो सुदूरपश्चिममा पाँच वर्षमा होटल सञ्चालनमा ल्याउन सक्यौँ भने थप पाँच वर्षमा लगानी उठ्ने विश्वास छ।’

होटलमा ४ सय बढी नै कोठा बनाउने योजना छ। क्यासिनोका लागि अलग्गै ठाउँ हुनेछ। जहाँ नेपाली जान पाउँदैनन्।

५ वर्षभित्र निर्माण सक्ने योजना
सरकारले प्रक्रिया छिटै गरे पाँच वर्षमा होटल सञ्चालमा ल्याउने योजना बनेको उनले बताए। तर होटल निर्माणका लागि आवश्यक जग्गा सरकारको समेत हुने भएकाले झन्झट हुनसक्ने देखिएको छ।

‘लगानी ऐनमा विदेशी लगानी आउने भए जग्गा सरकारले उपलब्ध गराउन सक्नेछ भन्ने व्यवस्था छ। होटल बनाउनको लागि हामीसँग सय रोपनी जग्गा छ’, उनले भने, ‘होटलको योजनाअनुसार करिब ३ सय रोपनी जग्गा आवश्यक पर्छ। हामीसँग भएको जग्गाले पुग्दैन, सरकारले हामीलाई उपलब्ध गराउनुपर्छ।’

सर्वसाधारणको जग्गा व्यवसायीले खरिद गर्नसक्ने तर सामुदायिक वा सरकारी जग्गा सरकारले उपलब्ध गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। होटलको भौतिक पूर्वाधार व्यवसायीकै जग्गामा हुने तर पेरिफेरीका लागि जग्गा आवश्यक पर्ने उनले बताए।

‘हामीले वातावरणीय नोक्सान नहुने गरी सरकारसँग सम्झौता गर्छौँ। त्यसको लागि सरकार तयार हुनुपर्यो’, उनले भने, ‘होटल क्षेत्रको लागि आवश्यक पर्ने सरकारी जग्गामा रुख बिरुवा छन्।’

सरकारले उपलब्ध गराएको जग्गामा रुख कटानलगायतका कुनै पनि काम नगर्ने उनले बताए। जिपलाइनर, हर्स राइडिङ, फुट ट्रेललगायतको लागि सरकारी जग्गा आवश्यक पर्ने उनले बताए।
नेपाली व्यवसायीले विदेशी लगानीको लागि भारतीय व्यवसायीसँग कुरा गरे पनि टुंगो लगानी बोर्डले गर्ने महराको भनाइ छ।

‘१ अर्बसम्म हाम्रै भारतीय साथी लगानी गर्न तयार हुन्छन्। तर होटलमा धेरै लगानी लाग्ने भएकाले बोर्डमार्फत ल्याउन सजिलो हुने र बोर्डका सीईओ भट्टले विदेशी लगानी ल्याउन सघाउने आश्वासन दिनुभएको छ’, उनले भने।

व्यवसायीले विदेशी लगानीका लागि भारतीयलाई प्राथमिकतामा राखेका छन्। किनकि ९० प्रतिशत पर्यटक भारतकै आउने हुँदा चिनियाँ लगानी ल्याउँदा पछि समस्या हुनसक्ने बुझाइ छ।

होटल निर्माणको नेतृत्व गरिरहेका महरा ०५६ सालदेखि नै होटल व्यवसायमा रहेका छन्। उनले डिभोटी नाम राखी सुदूरपश्चिममा होटल सञ्चालन गर्दै आएका थिए। तर होटल अपग्रेड गर्न असहयोग भएपछि त्यसबाट केही समयअघि बाहिरिएका छन्।

अब डिभोटी प्रपर्टिस प्रा.लि., कन्चन स्काइ प्रा.लि., खानिडाँडा डिलक्स रिसोर्ट प्रा.लि. (पाँच तारे), पटिहानी रिसोर्ट (चितवन), रिभर साइड फनपार्क रिसोर्ट प्रा.लि.(चितवन) लगायतमा ध्यान केन्द्रित हुने महरा बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .