ad ad

कारोबार


सुपारी आयातमा नीतिगत भ्रष्टाचारको आशंका, संसदीय अध्ययन समिति गठन

सुपारी आयातमा नीतिगत भ्रष्टाचारको आशंका, संसदीय अध्ययन समिति गठन

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार १६:६,

संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो।

सरकारको नजिकका व्यापारीलाई मन्त्रीस्तरीय निर्णयबाट २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिइएको बारे समितिमा सांसदहरुले प्रश्न उठाएपछि यसबारे अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय भएको हो।

त्यसअघि समिति सदस्य रायमाझीले सुपारी निर्यातमा नीतिगत भ्रष्टाचार भएको भन्दै त्यसबारे अध्ययन गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका थिए।

उनले भने, ‘सरकारले क्याबिनेट निर्णय गरेर २५ हजार मेट्रिक टन सुपारी आयात गर्न व्यापारीलाई इजाजत दिएको छ, के को लागि भन्दा १ किलो सुपारीमा १ सय ५० रुपैयाँ फाईदा हुन्छ। कति अरबको खेला छ। २५ हजार मेट्रिक टन आयातका लागि ३ सय ८४ वटा फार्मले एप्लाई गरेका मध्ये सरकारसँग नजिक भएका केहीले मात्रै अनुमति पाएका छन्। त्यो सुपारी नेपालमा खपत गर्नका लागि ल्याइएको होइन। यहाँ ल्याएको पेपर देखाउने, भारतमा बेच्नका लागि। यस्तो गतिविधि सरकारले खुलेआम क्याबिनेटले निर्णय गरेर अरबौ रुपैयाँको भ्रष्टाचार गरिरहेको छ।’

जुन सरकार आएपनि सधैँ सरकार र सरकारका मन्त्रीलाई अनुकुल हुनेगरी बजेट ल्याउने गरिएको भन्दै उनले दिगो विकासका लक्ष्य प्राप्तीलाई प्राथमिकतामा राखे नराखिएको बारे समितिले चासोका साथ अध्ययन गर्नुपर्ने धारणा राखे। राजनीतिक दलका नेताहरु मुलुक र जनताका प्रति जिम्मेवार बन्न नसक्दा पछिल्लो पुस्तामा राजनीति प्रति नै घृणा उत्पन्न हुन थालेको भन्दै उनले सबैले जिम्मेबार हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘लोगो लगायो भने, बाटोमा भेट्यो भने मान्छेले पट्काईदेला भन्ने डर। देश बिगार्ने मध्ये यो पनि एक हो भनेर। ..राजनीति मात्रै गर्यौ हामीले। पार्टीको राजनीति गर्यौ। आफ्नो राजनीति गर्यौ। देश र जनताप्रति हामी जिम्मेबार भएको मलाई कहीँ कतै लाग्दैन। यही हो भने राजनीतिमा मेरो छोरी, छिमेकीको छोरी, मेरा नातागोताका छोराछोरी, पढिरहेका टिनेजरहरु राजनीति भनेर घृणा गर्छन्। बाबुआमालाई घृणा गर्न थालिसके उनीहरुले। तिमीले यो मुलुक बिगार्यौ। तिमिले मुलुकलाई हेरेनौ। मुलुकप्रति जिम्मेवार भएनौ। सिस्टममा मुलुकलाई चल्न दिएनौ। अहिलेले बाटोमा हिँड्दा मैले त लोगो लगाउन छोडिसकेको छु।’

त्यसैगरी समिति सदस्य दिनानाथ शर्माले सुपारी आयातका सम्बन्धमा भएको भनिएको नीतिगत भ्रष्टाचारका विषयमा अध्ययन गरी सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए।

सुपारी आयातका लागि दिईएको अनुमति बारे बुझ्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .