ad ad

कारोबार


चिनियाँ राष्ट्रपतिको भ्रमण रूटमा पर्ने तार व्यवस्थापन र सडकबत्ती मर्मतसम्भार तीव्र

चिनियाँ राष्ट्रपतिको भ्रमण रूटमा पर्ने तार व्यवस्थापन र सडकबत्ती मर्मतसम्भार तीव्र

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ८:३१,

नेपाल विद्युत् प्राधिकरणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको पूर्वसन्ध्यामा उपत्यकामा असरल्ल बिजुलीको खम्बाका तारको व्यवस्थापनलाई तीव्र पारेको छ। प्राधिकरणले राष्ट्रपति सीको भ्रमण रुटमा पर्ने सडकबत्तीको  नयाँ जडान र मर्मतसम्भार कार्य गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले नेपालखबरलाई जानकारी दिए।

सुवेदीका अनुसार केबल अपरेटर र इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि उक्त काममा साथ दिएका छन्। खम्बामा प्राधिकरणले अन्य सेवाप्रदायकसँग मिलेर तारहरु बाँध्ने, सडकबत्ती मर्मत गर्ने, फेर्नुपर्ने गाँसिएका तारहरु प्रतिस्थापन गरी नयाँ जडान गर्ने काम गरेको उनले जानकारी दिए। प्राधिकरणले उक्त कामका लागि तीनवटा बकेट क्रेन उपलब्ध गराएको छ भने नेपाल टेलिकमले पनि एउटा क्रेन काममा खटाएको छ।

sadak tar 2

प्राधिकरणको रत्नपार्क केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले उक्त कामका लागि नयाँ बानेश्वर, कुलेश्वर र रत्नपार्कबाट उक्त क्रेनहरु परिचालन गरिएको जानकारी दिए। चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गर्दै प्राधिकरणले विद्युत वितरण लाइन केन्द्रलाई परिचालन गरेको जनाएको छ। प्राधिकरणका अनुसार राष्ट्रपति सीको रुट त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म सडकबत्ती मर्मतसम्भार र तार व्यवस्थापनको काम सकेसम्म आज शुक्रबार अबेरसम्ममा सकिने जनाएको छ।

प्राधिकरणले सी बस्ने होटल सोल्टी–कालीमाटी सडकखण्डमा छवटा नयाँ बिजुली पोलहरु गाडेको छ। त्यस्तै त्रिपुरेश्वरस्थित सिभिलमल आसपासमा दुईवटा नयाँ पोलहरु गाडेको रत्नपार्क केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिए। त्यस्तै सीको भ्रमणकै पूर्वसन्ध्यामा सडकमा ९६ वटा नयाँ सडकबत्ती थप गरिएको छ।

sadak tar 3

उक्त बत्ती जडान भइसकेको श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार कुलेश्वर केन्द्रले २४ वटा, बानेश्वर केन्द्रले ३२ वटा र रत्नपार्क केन्द्रले ४० वटा नयाँ सडकबत्ती राखेको छ। याे सबै प्राधिकरणकाे मर्मत खर्चअन्तर्गत समावेश हुनेछ। 

श्रेष्ठले भने, ‘यो सबै राष्ट्रपति सीको भ्रमणकै तयारीस्वरुप गरिएको हो। सकेसम्म सडकलाई सफा बनाउन हामी अहोरात्र खटिएका छौँ।’

राष्ट्रपति सीको भ्रमणलाई नै मध्यनजर गर्दैै फूलपातीको दिन नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङको नेतृत्वमा भ्रमण रुटमा बिजुलीमा अवरोध नपुग्ने गरी एयरपोर्ट, सोल्टी होटल र महाराजगञ्ज रुटको स्थलगत अवलोकन समेत भएको थियो।

sadak tar 4

सो क्रममा सी बस्ने सोल्टी होटल क्षेत्रमा चौबीसै घण्टा बिजुलीमा अवरोध नहुने गरी सेवाको व्यवस्था मिलाउन प्राधिकरण प्रमुख घिसिङले उपत्यकाका बानेश्वर, रत्नपार्क, कुलेश्वर र महाराजगञ्ज केन्द्रका प्रमुखलाई निर्देशन दिएका थिए। त्यस्तै फूलपातीकै दिन प्रमुख घिसिङसहितको टोली राष्ट्रपति निवास महाराजगञ्ज समेत पुगेर अवलोकन गरेको थियो।

चिनियाँ राष्ट्रपति सी भोलि शनिबार दुई दिने राजकीय भ्रमणको सिलसिलामा नेपाल आउँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .