ad ad

कारोबार


तिहारका लागि विद्यार्थीले गरे विद्यालयमा फूल खेती, डेढ लाख आम्दानी हुने अनुमान

तिहारका लागि विद्यार्थीले गरे विद्यालयमा फूल खेती, डेढ लाख आम्दानी हुने अनुमान

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयमा गरिएको फूल खेती।


रासस
कात्तिक १६, २०८० बिहिबार १९:६, धुलिखेल

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन्। उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन्। 

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो।

विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएका छन्। अहिले फूल फुलेर ढकमक्क भएका छन्। 

‘करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ’, उनले भने, ‘रु एक लाख ५० हजार आम्दानी हुने अनुमान छ।’

विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए। त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ। 

विद्यालयले पहिलोपटक फूल खेती गरेको हो। आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ। दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उनले बताए।

विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ। त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताए। 

‘उत्पादन गरेको फूल बिक्रीको टुङ्गो लागिसकेको छ’, उनले भने। 

विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन भइरहेको छ।

दुई वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत लागू गरिएको छ।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ।

विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ।

विद्यालयले १७ रोपनी जग्गामा खेती गरिरहेको छ।

विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .