ad ad

कला


आशैआशमा बित्यो दुई तिहाइको जवानी, रेशम फिरिरी

आशैआशमा बित्यो दुई तिहाइको जवानी, रेशम फिरिरी

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार १६:१६,

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजना गरिएको प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत मन्त्री र नेताहरू सहभागी भए।

सिस्नोपानी देउसी २०७६ को पूर्ण पाठः

भन भन साथी हो – देउसिरे
राम्ररी भन – देउसिरे
सिस्नुपानी भन्छ – देउसिरे
देउसी खेल्न मन छ – देउसिरे

sisno7

आन्दोलनको आगो – बालेर
निरंगकुशतन्त्र – ढालेर
राजतन्त्रलाई – फालेर
द्वन्द्वलाई शान्तिले – टालेर
जनताको संविधान – लेख्नेले
नाकाबन्दी – छेक्नेले
धुलो बढार्न – सक्दैनौं?
खाडल पुर्न – सक्दैनौं?

जेल र नेल – भोग्नेले
छातीले गोली – रोक्नले
देशको लागि – भनेर
सर्वश्व गुमाउन – सक्नेले
भ्रष्टाचार नगर्न – सक्दैनौं?

नैतिकता जोगाउन – सक्दैनौं?
अपराधी नपाल्न – सक्दैनौं?

देउसी खेल्न आयौं हामी जनताले पठाए
अझै बहादुर सभामुख खोज्न खटाए
तानिँदैछन् लहरा भत्किँदैछन् पहरा
भीआईपीमा को को होलान् गुप्त महरा

(माननीय सदस्यहरु, म हुँ भन्नेले हात उठाउनुस्, म होइन भन्नेले शीर उठाउनुस्)

sisno6

ज्वालामुखी जस्तो गरी विष्फोट हुन्छन् घटना
घटनालाई सामसुन पार्न आयोग गठन
झ्याप्प पारी जसको च्याप्पै समाउनु थ्यो कठालो
आयोग आफैं बस्ने गर्छ उसकै गोठालो ।

कल्ले खायो कल्ले खायो वाइडबडी पिलेन
मिलिजुली खाको कुरा भन्नै मिलेन।
नेपालमा आउँछ भन्छन् विदेशीको लगानी
आशैआशमा वित्यो दुई तिहाइको जवानी
नागार्जुनमा मुसो कुद्दा सिंहदरबार थर्किन्छ
यस्तो कुरा सुन्दा हाम्लाई पानी सर्किन्छ

थुनिँदैछन् अझै पनि कवि लेखक कलाकार
नसम्झाउन न पन्चायतलाई हेल्लो सरकार
हुक्के पनि तिनै छन् बैठके नि तिनै छन्
शितलनिवास जनताबाट टाढा हुँदै झन्
राष्ट्रपति हुन खोज्दा राजा भयौं कि
घरतिर जानु पर्ने दरबार गयौं कि!
माथिकाले खाका छन् तलकाले खाका छन्
प्रदेश सरकार कठैबरा मुख बाका छन्।
एक वर्षमा १० महिना विदेश घुम्छन् मेयरज्यू
उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइदिउँ
पिर्का माथि चढीचढी खान थाले सलामी
कस्तो हतार यिनलाई जान आफ्नै मलामी

sisno8

म हिँड्दा बाटोमा – जाम छैन
धुँवा र धुलोको – नाम छैन
जुत्ताले कार्पेट – टेकिन्छ
खोइ कहाँ हिलो – देखिन्छ!
जाँ गयो त्यहीँ – भिड लाग्छ
क्यामेरा मेरै – मुख ताक्छ
शिलान्यासको – धपेडी छ
मन्चमा जाँदा – थपडी छ
देखेका जति – हँसिलै छन्
राजदूतले कुर्छन् – एक घण्टा
मन्त्री नै ढुक्छन् – दुई घण्टा
सी चिफिङलाई – ल्याकै हो
मोदीलाई पनि – भ्याकै हो
को हो त्यो विकास – नदेख्नी
विकासका सम्चार – नलेख्नी
सरकारलाई चौतर्फी – चेप्नी हो?
दुई तिहाइ सरकारलाई – हेप्नी हो?

भेट्न भनी बोलाउँछन् प्रधानमन्त्री ओलीले
एकोहोरो हानिरन्छन् आफ्नै बोलीले
बालुवाटारको डाँडामाथि चिसो हावा सिरिरी
विकास सिकास त्यस्तै हो रेशम फिरिरी
रेशम फिरिरि रेशम फिरिरी
पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरी

विषादीले भिसा माग्यो रक्सौलमा आएर
सरकारले दिन्न भन्यो हो
लैनचौरले फोन घुमायो के हो पारा भनेर
बालुवाटारले सरी भन्यो हो
इण्डियालाई खुशी पार्न व्यापारीलाई बचाउन
हाम्ले विष खानुपर्ने!
सागपात समेत आयात गरी हाम्ले जीवन चलाको
हाम्रै खेतलमा खोइ फलाको हो

siano5

वीर जाति नेपालीको कति राम्रो बानी हो नि लै लै
नपिउन्जेल ज्ञानी पिएपछि पानी
अन्तै जाने घरै नजानी।
नेकपाको इस्कूलैमा कस्तो उच्च भावना नि लै लै
माधव नेपाल दिने केपी ओली नलिने
स्वास्थ्य लाभको शुभकामना

एउटा घाँटी दुईटा मुख प्रचण्ड र ओलीको
जनताले विश्वास गर्ने कुन चैं बोलीको
नातागोता आफन्त र परिवार सबैलाई
अंशै सरी बाँडेका छन् पद बरी लै
कस्को घरमा डेरा बस्छौ भात खान काँ जान्छौं
चिप्लिरहन्छ जिब्रो तिम्रो केको तेल खान्छौ?
घाग्यमानी घरबेटी महादानी डेरावाल
ब्ल्याक लिस्टेडलाई मेलम्चीको ठेक्का मालामाल।

कोही सांसद डन गुण्डा कोही सांसद ज्यानमारा
यिनै सांसद पार्टीलाई परम पियारा
हिटलरले मान्छे मार्थ्यो ग्यास च्याम्बरमा हालेर
अफ्तावले आगो ताप्यो मान्छे बालेर
इट्टा पोल्ने भट्टीमा जिउँदै मान्छे पोलेर
सांसद भयो, मन्त्री खायो छाती खोलेर
देउवा दाइ भन्नुहुन्छ आलम मलाई चाहिन्छ नि लै लै
दुनियाँले बोल्दैमा भट्टिमा मान्छे पोल्दैमा
समाइहाल्न कहाँ पाइन्छ?

sisno2

हाम्रा विश्वविद्यालय घाँस र झारले ढपक्कै नि लै लै
दलले खेद्दै लान्छन् गाइगोरु जान्छन्
खुरुखुरु हरियो घाँस खान्छन्
केको लर्को केको लर्को युट्युबरको लर्को
चौथो अंग मिडियाको कस्तो खबरदारी
तर्साउँदै समाचारमै कालो बजारी

राष्ट्रसेवक भन्ने हाम्रो स्थायी सरकार कस्तो छ?
बाली चोरी खाने अटेर साँढे जस्तो छ
पछिपछि अख्तियारले पिँडुलामा हान्दैछ
अघिअघि घुसको बुजो मुखले तान्दैछ
भजन सुन्न मन्दिर गाको राष्ट्रगान पो घन्कियो
चिताबाट मान्छे उठी तनक्क तन्कियो।
मधेशवादी दलको आफ्नै मौलिक ढंग छ
छेपारोलाई छक्कै पार्ने बहुरंग छ
सरकार पनि चलाउने संविधान नि जलाउने
झण्डावाला गाडी चढी जुलुस लगाउने।
काँ बिलाए आरके कमरेड काँ हराए अशोक राई
कहाँ पुगे निख्खुर क्रान्तिकारी भट्टराई
चिन्ता लाग्छ ती प्याराले हामीलाई भुले कि!
चोक्टा खान हिँडेका थे झोलमा डुबे कि!

वाइडबडी पचाउने – को होला!
सुन तस्कर बचाउने – को होला!
पप्पुलाई पुल पार्ने – को होला!
गाई लडाई मार्ने – को होला!
होली वाइन बाँड्ने – को होला!
मेलम्ची भाँड्ने – को होला!
गुन्द्रुकमा कर लिने – को होला!
एनसेललाई छुट दिने – को होला!
टुँडिखेल पिच गर्ने – को होला!
सिंगापुरको बिल भर्ने – को होला!

sisno4

हाम्रो देशको न्यायालय कति साह्रै चोखो छ नि लै लै
कार्यकर्ता न्यायाधीश दलले सोध्छ कहाँ थिस्
न्याय चाहिँ टाँय टाँय फिस
अख्तियारको आयुक्त नै भ्रष्टाचारमा चुर्लुम्म नि लै लै
कुन चाहिँ निस्क्यो भिलेन कता सेटिङ मिलने
पदै ढल्यो ढल्यो गल्र्याम गुर्लुम्म।

धर्मका नाममा – नखेल्नु
भिरबाट गाई – नठेल्नु
वैदेशिक सम्बन्ध – राम्रो होस्
चीन भारत दुवै – हाम्रो होस्
सामाजिक सुरक्षा – पक्का होस्
श्रमिकको भविष्य – ढुक्क होस्
अतिथि सेवा – सभ्य होस्
पर्यटन वर्ष – भव्य होस्
लोडसेडिङ फर्केर – नआओस्
पावर हाउस बाढीले – नखाओस्
पारदर्शी स्वच्छ – चुनाव होस्
मनी र मसललाई – तनाव होस्
डाटा प्याक चलाउँ – मर्जीले
टेलिकम राम्रो – फोरजीले
डाक्टरले किड्नी – नचोरुन्
जनताले अस्पताल – नफोरुन्
जहाजमा मतुवा – नचढोस्
एयरपोर्टमा एनआरएन – नलडोस्
हुण्डीको जालो – तोडियोस्
मेलम्ची छिटो – जोडियोस्
अख्तियारका खुट्टा – नकामुन्
ठूला माछा – नभागुन्
सी चिनफिङ मोदी – आइरहुन्
जनताले सास फेर्न – पाइरहुन्
रेलले हिमाल – चढी आउन्
सुरुङले पहाड – छेडी जाउन्
श्रम मात्र होइन – दाम पनि होस्
कुरा मात्र होइन – काम पनि होस्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .