बलिउड फिल्म ‘पठान’को सफलताबीच शाहरुख खान फिल्म रिलिजको ४ दिनमा ४ वर्षलाई भुलेको बताएका छन्। उनले फिल्म विवादमा परेपछि धेरैलाई फोन गरेर शान्तिपूर्ण रुपमा फिल्म रिलिजको वातावरण बनाउन आग्रह गरेको सुनाउँदै यो समय आफूले निकै तनाव बेहोरेको बताएका छन्।
यो फिल्मले प्रदर्शनको ५ दिनमा ५ सय ४० करोड भारु कमाइ गरेको रिपोर्ट सार्वजनिक भएको छ। योसँगै फिल्मले थुप्रै रेकर्ड तोडेको छ। फिल्मको सफलता चुलिँदै जाँदा निर्देशकले चाहेको खण्डमा आफू ‘पठान २’मा काम गर्न तयार रहेको शाहरुखले बताएका छन्।
पठान टिमले गरेको पत्रकार सम्मेलनमा जोन अब्राहमले भने, ‘आज म दाबीका साथ भन्न सक्छु कि शाहरुख यो देशको सबैभन्दा ठूलो एक्सन हिरो हो।’ शाहरुखले निर्देशक सिद्धार्थ आनन्दले चाहेमा पठान २ पनि गर्ने बताए।
पठानले बक्स अफिसमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। यसले रिलिजको पाँचौं दिन मात्रै करिब ६२ करोड कमाएको छ। आधिकारिक तथ्यांक भने सार्वजनिक भएको छैन। भारतीय बक्स अफिसमा फिल्मको कूल कलेक्सन २७१ करोड छ। यस हिसाबले पठानले केजीएफ–२ को कीर्तिमान तोडेको छ। केजीएफ–२ को हिन्दी संस्करणले ४ दिनमा १ सय ४४ करोड कमाएको थियो। घरेलु बक्स अफिसमा छोटो समयमा २ सय ७१ करोड कमाउने पहिलो हिन्दी फिल्मको रेकर्ड ‘पठान’ले बनाएको छ। यसअघि बाहुबली–२ (हिन्दी संस्करण) र केजीएफ–२ (हिन्दी संस्करण) लाई २ सय ५० करोड क्लबमा पुग्न ७ देखि ८ दिन लागेको थियो।
फिल्मका निर्देशक सिद्धार्थ आनन्दले फिल्म बनाउँदा पहिलोपटक नर्भस भएको अनुभव सुनाए। उनले भने, ‘म विगत २० वर्षदेखि फिल्म बनाइरहेको छु तर रातभर निदाउन नसकेको यो पहिलोपटक हो। फिल्म रिलिज हुनुअघि हामी निकै नर्भस थियौं तर अहिले हाम्रो फिल्म निकै हिट भयो, सबै कुरा बिर्सिए।’
Shares
प्रतिक्रिया