वैशाख २९ गतेदेखि प्रदर्शन हुने‘हल्कारा’को अफिसियल ट्रेलर सार्जजनिक भएको छ।
नेपाली समुदायको कथा भन्ने यस चलचित्रक २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ। ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा प्रस्तुत गरेको छ।
गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोसिस गरिएको निर्माण टिमले जनाएको छ। चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको भूमिकामा छन्।
यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ। प्रदर्शनअघि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएको यो चलचित्रले उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी र सर्वश्रेष्ठ चलचित्रको अवार्ड पाएको थियो।
‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ। सोही फेस्टिवलमा अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन्।
‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो।
त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्। यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन्। महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय चलचित्रमा छ।
चलचित्रमा ब्रुनो भ्यालेन्टीको संगीत र प्रोडक्सन साउण्ड ज्योती रानाको छ। ‘हल्कारा’का कलरमा लियोनार्डो क्यान्डियनले काम गरेका छन्।
प्रतिक्रिया