दीनानाथ मंगेशकर अवार्ड समारोह २४ अप्रिलमा मुम्बईको सम्पन्न भएको छ।
यस अवसरमा अभिनेत्री विद्या बालन, गायिका आशा भोस्ले र गायक पंकज उदासलगायत धेरै सेलिब्रेटीलाई विभिन्न विधामा सम्मानित गरियो। अवार्ड समारोहमा पंकज, विद्या बालन र हृदयनाथ मंगेशकर निकै दुःखी देखिए।
अवार्ड समारोहमा विद्या बालन निकै भावुक भइन्। लताकी फ्यान विद्याले अवार्ड समारोहमा आफूले स्वर्गीय गायिका लता मंगेशकरले दिएको साडी लगाएको बताइन्।
‘नयाँ अभिनेत्रीको हैसियतमा म लता मंगेशकरजीको कुरा सधैं सुन्थेँ। लताजीले गाएको गीतमा अभिनय गर्ने मौका पाइनँ। आफूलाई धेरै अभागी ठान्छु।' उनले भनिन्, 'एकपटक मैले उहाँलाई अवार्डको क्रममा देखेकी थिएँ, उहाँलाई हेरिरहेँ। त्यो बेला सायद कसैले उहाँलाई मलाई देखाउँदै त्यो केटीले तिमीलाई हेरिरहेकी छ भन्यो।’
विद्याले अगाडि भनिन्, ‘लताजीले करिब एक सातापछि मेरो घरमा साडी पठाउनुभयो। त्यसपछि मैले धेरै हिम्मत जुटाएर उहाँलाई एकपटक फोन गरेँ। त्यतिबेला फोनमा सुनेको पवित्र आवाज आज पनि कानमा गुन्जिरहेको छ। मैले उहाँलाई धन्यवाद दिएँ। उहाँको यो उपहार मेरो लागि उहाँको आशीर्वाद जस्तै थियो।’
विद्या बालनले अवार्ड समारोहमा रातो र सुनौलो बोर्डर भएको कालो साडी लगाएकी थिइन्।
उनले उक्त साडीसँगको सम्झना सुनाउँदै भनिन्, ‘मलाई साडी लगाएर एक दिन देखाउन मन लाग्थ्यो, त्यो दिन आज हुनपुग्यो। उहाँले दिएको साडीमा आज म यो अवार्ड ग्रहण गर्दैछु। यो मेरो लागि साँच्चै आशीर्वाद हो। यो खुशीको घडीमा म काँपिरहेको छु। मलाई दिनुभएको सम्मानको लागि धेरै धेरै धन्यवाद।’
Shares
प्रतिक्रिया