ad ad

कला


जिया आत्महत्या प्रकरणमा सुरजको बयान- मेरो मायाले मात्र उनलाई बचाउन सक्दैनथ्यो

जिया आत्महत्या प्रकरणमा सुरजको बयान- मेरो मायाले मात्र उनलाई बचाउन सक्दैनथ्यो

नेपालखबर
बैशाख १७, २०८० आइतबार १२:४८, काठमाडौँ

‘जिया खान निकै राम्री केटी थिइन्, उनले व्यक्तिगत रूपमा वा मिडियामा कहिल्यै कसैलाई केही आरोप लगाएकी छैनन्। उनको परिवारमा कोही केही काम गर्दैनथे। जबसम्म पैसा थियो, तबसम्म उनको परिवार उनको साथमा थियो। जब जियालाई माया र सहयोग चाहिएको थियो, म मात्रै उनको साथमा थिएँ। यही कारण उनले आत्महत्या गरेकी हुन्। उनकी आमाले कहिल्यै उनलाई राम्रो डाक्टरकहाँ लगिनन्। उनले जियालाई काममा मात्रै धकेलिरहिन्। जियाको मानसिक रोगबारे उनले कहिल्यै ख्याल गरिनन्।’ 

उल्लिखित भनाइ जिया खान आत्महत्या प्रकरणमा हालै सफाइ पाएका अभिनेता सुरज पञ्चोलीको हो। 

पछिल्लो १० वर्षदेखि अभिनेत्री खानको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका सुरजले यही अप्रिल २८ मा अदालतबाट सफाइ पाएका थिए। त्यसपछि सुरजले जियाको आत्महत्या र आफ्नो जीवनबारे बोलेका हुन्।

फैसलाको अघिल्लो दिन सम्झिँदै सुरजले भनेका छन्, ‘निर्णयको अघिल्लो रात म निदाउन सकिनँ। यी वर्षहरूमा मैले भोगेका सबै पीडाहरू मेरो दिमागमा थिए। तर पनि म न्यायाधीशको जुनसुकै निर्णयका लागि तयार थिएँ। मैले सम्पूर्ण परीक्षणको सामना गरेको छु, जुन कसैले देखेको थिएन। चाहे त्यो मेरो परिवार नै होस्। अदालतबाट सकारात्मक प्रतिक्रिया आएपछि मात्रै बाहिर आउने अपेक्षा गरिएको थियो। तिनीहरूसँग मेराविरुद्ध केही प्रमाण थिएन। मविरुद्ध पूर्णतया गलत मुद्दा लगाइयो, जसका कारण मैले १० वर्ष मानसिक रुपमा विक्षिप्त भएर जीवन बिताउनुपर्‍यो।’

सुरजलाई दुःखको यो समयमा फिल्म उद्योकका कसले सहयोग गरे भनेर प्रश्न गरिएको थियो। जवाफमा उनले भनेका छन्, ‘पक्कै पनि सलमान भाइ नम्बर एकमा थिए। उहाँले मेरा लागि जे गर्नुभयो, त्यो कसैले गरेको छैन। मेरो परिवारले पनि त्यति धेरै गरेको छैन। यसबाहेक मलाई भूषणकुमार सर, रेमो सर र अहमद खान सरको सहयोग मिलेको छ। तर, निर्माता र स्टुडियोले जति सहयोग गर्नुपर्थ्यो, त्यो कसैले गर्न सकेनन्।’

सुरजले अगाडि भने, ‘व्यावसायिक तहमा मात्रै होइन, साथीभाइ, परिवारका सदस्य वा नयाँ व्यक्तिलाई भेट्दा सबैको एउटै दृष्टिकोण थियो। म कामका लागि हरेक निर्माता, निर्देशककहाँ र स्टुडियोमा धाएँ तर उनीहरुको एउटै जवाफ थियो- सुरज! तिम्रो केसमा के भइरहेको छ? त्यतिबेला मसँग कुनै जवाफ थिएन। सबैले मलाई तिम्रो नयाँ फिल्म कहिले आउँछ भनेर सोध्ने गर्थे। मसँग यसको पनि जवाफ थिएन। अदालतबाट क्लिन चिट नपाएसम्म मेरा लागि लगानी गर्न कोही तयार थिएनन्।’

सुरजले यही मुद्दाका कारण आफूसँग कुनै कम्पनीले फिल्मका लागि प्रस्ताव नगरेको बताए। मुद्दाका कारण आफूले धेरै काम गुमाउनुपरेको उनले दुखेसो गरेका छन्। 

‘सुसाइड नोट जियाले होइन, आमाले लेखेकी हुन्’
यो मुद्दा हाइकोर्टमा गयो भने उसको प्रतिक्रिया कस्तो हुन्छ भनेर सुरजलाई सोधिएको थियो। जवाफमा सुरजले भने, ‘हामीले १० वर्षदेखि यसका लागि कडा मेहनत गरेका छौं। प्रत्येक प्रमाणको जवाफ दिइयो। अब यसमा केही हुन सक्दैन। सुसाइड नोट जियाले नभई आमाले लेखेको अदालतमा प्रमाणित भएको छ। मलाई कुन आधारमा गिरफ्तार गरियो त्यो झुटो हो भनेर सबैभन्दा पहिले यो समाचार सम्प्रेषण गर्न अनुरोध गर्छु। त्यो सुसाइड नोटका कारण मलाई पूर्ण रूपमा यातना दिइयो।’

हस्तलेखनको मुद्दा किन ढिला उठाएको भन्ने प्रश्नमा सुरजले भनेका छन्, ‘अभियोग लगाएको ८ वर्षपछि मैले यो मुद्दा उठाउने मौका पाएँ, तर त्यतिन्जेल कोभिड आयो र हामीले केही गर्न सकेनौँ। सुरुमा यो मुद्दा कसरी उठाउने र छानबिन गर्ने भन्ने कुरा हाम्रो हातमा हुँदैन। यो प्रहरी निकायको काम हो। हो, मुद्दाको सुनुवाइ सुरु हुँदा हामी आफ्ना पक्षमा आफ्नो कुरा राख्न सक्छौं। आरोप लागेको ८ वर्षपछि यो मुद्दामा केही गर्ने मौका पाएँ।’

उनले अगाडि भने, ‘१० वर्षपछि हस्तलेखन विज्ञहरुले उक्त हस्तलेखन जियाको नभई उनकी आमा राबिया खानको भएको पुष्टि गरेका छन्। त्यसो भए मलाई किन पक्राउ गरियो? तर, अब कोही पनि उच्च अदालत वा सर्वोच्च अदालत जानूस् वा त्योभन्दा माथि कतै जानूस्, अब केही हुन सक्दैन।’

जियासँग मित्रता थियो वा त्योभन्दा पनि केही बढी थियो भन्ने प्रश्नको जवाफमा सुरजले भनेका छन्, ‘मैले जियासँग ५ महिना मात्रै संगत गरेको थिएँ। त्यतिबेला म २० वर्षको मात्र थिएँ। मनमा अरु केही थिएन। मुख्य ध्यान करियरमा थियो। मैले उनलाई सकेसम्म सहयोग गरेँ, चाहे साथीका रूपमा वा अन्य केही रुपमा, त्यो साइनो, थाहा छैन।’

उनले अगाडि भनेका छन्, ‘त्यतिबेला जियालाई प्रेमी वा साथीभाइको सहयोगभन्दा पनि परिवारको सहयोग आवश्यक थियो। तर, परिवार उनको साथमा कहिल्यै भएन। जबसम्म जियाले पैसा कमाइरहिन्, उनको परिवार उनीसँगै रह्यो। उनीबाहेक ५ जनाको परिवारमा कमाउने कोही थिएन। जब उसलाई माया र सहयोग चाहिएको थियो, त्यहाँ म मात्रै थिएँ। तर मेरो मायाले मात्र उनलाई बचाउन सक्दैनथ्यो र सकेन पनि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .