गायक प्रकाश सपुतको हिट गीत हो ‘बोल माया।’
उक्त गीत हिट भएपछि उनका थुप्रै गीत सांगीतिक बजारमा चर्चित भए। पछिल्लो गीत ‘सकम्बरी’ले पनि निकै चर्चा पायो। निकै आलोचना पनि भएको यो गीतले व्यवसायिक रूपमा सफलता प्राप्त गर्यो। अब प्रकाश ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारी गरेका छन्।
‘बोल माया’ प्रकाशको सांगीतिक करिअरकै सबैभन्दा चर्चित गीत हो। यो गीतको सिरिजका रूपमा भने प्रकाशले 'दमाई महाराज’बोलको गीत ल्याउने भएका छन्। उनले गीतका बारे फेसबुकमार्फत् जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘भनेको थिएँ नि, यो साल २०८० मा मैले जातीय विभेदविरुद्धको वर्षको रूपमा आफ्ना सिर्जनाहरु ल्याउने छु। यसको सुरुवात स्वरूप नयाँ सिर्जनाको टाइटल जुरेको छ ‘दमाई महाराज।’ मेरो करियरका दुई कोशे ढुंगा गलबन्दी र बोल मायाकै अर्को भाग हो, दमाई महाराज।’
उनले अगाडि लेखेका छन्, ‘बाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा थियो, बोल माया। संयोगवश अहिले म अरब (दुबई)मा छु। र, यहीँबाट बोल माया भाग– २ को टाईटल अनाउन्स्मेन्ट गर्दैछु। गलबन्दी, बोलमाया भाग– २ ले हाम्रो अन्धविश्वास र जात प्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्नेछ।’
Shares
प्रतिक्रिया