नीरफूल अर्थात् रुवीभ्यालीका तामाङहरूको देउतालाई नचढ्ने फूल। यही फूलको प्रतीकको सहारामा लेखक तथा निर्देशक फूलमान बलले तामाङहरू कसरी राज्यका निम्ति नीरफूलको नियति भोगिरहेका छन्, कसरी ती राज्यको विभेदकारी नीति र व्यवहारबाट पिसिएका छन् भन्ने कथावाचन राम्ररी गरेका छन्।
रुवीभ्यालीमा बसोबास गर्ने तामाङ समुदायले भूकम्पपछि भोगेको त्रासदीमा आधारित नीरफूल नेपाली सिनेजगतले प्राप्त गरेको पछिल्लो अर्गानिक चलचित्र बन्न पुगेको छ।
भूकम्पपछि श्रीमती र छोरी हराएपछि भेडापालन गरेर जीविकोपार्जन गरिरहेका घरमूली दयाहाङ राईले आफ्नो परिवारका सदस्य खोज्न काठमाडौंमा कसरी हण्डर खानुपरेको छ, कथामा मर्मस्पर्शी ढंगले उधिन्ने प्रयत्न गरिएको छ।
मातृभाषामा अभ्यस्त छोरीले भाषाको कारण देशको राजधानीमा भोग्नु परेको अप्ठेरा सिनेमाभित्र विमर्शयोग्य पटकथाको रुपमा चित्रण हुन गएको छ।
तामाङ समुदायले लामो समयदेखि पीडाको रुपमा भोग्दै आइरहेको अबोध बालिकाहरुलाई सर्कसमा बेच्ने परम्परालाई पनि यसभित्र समेट्ने प्रयत्न गरिएको छ।
हिजोसम्म सिनेजगतको ‘लामलाइट’ मा बहसमै आउन नसकिरहेका बहुसांस्कृतिक समुदायका कथाहरु पछिल्लो समय निकै आकर्षक ढंगले फिल्मांकन गर्न थालिएको छ।
जसलाई दर्शकले पनि निकै उत्साहजनक रुपमा आत्मसात गरिरहेको देखिन्छ। लिम्बू समुदायको कथा जारीले पाएको अपार सफलता नसेलाउँदै तामाङ समुदायको जनजीवनमा आधारित नीरफूलले राम्रो ओपनिङ गरेको छ।
रिलिजको पहिलो दिन लबिम मलस्थित क्यूएफएक्स मल्टिप्लेक्समा यो फिल्म हेर्न दर्शकको उत्साहजनक उपस्थिति थियो।
नीरफूल कस्तो बनेको छ त? नीरफूल हेरिसकेका चलचित्रकर्मी संजोग लाफाको प्रतिक्रिया यो भिडिओमा प्रस्तुत गरेका छौँ।
तस्बिर/भिडिओ : सरोज बैजु
प्रतिक्रिया